YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 36

36
भजन 36
सङ्गीत निर्देशकको निम्ति, याहवेहको सेवक दावीदको भजन।
1दुष्‍टका पाप सम्बन्धी,
मेरो हृदयमा परमेश्‍वरको एक सन्देश छ:
तिनीहरूका आँखामा
परमेश्‍वरको डर छैन।
2तिनीहरूले आफूलाई आफ्नो नजरमा उच्‍च ठान्छन्,
तिनीहरूले आफ्ना अधर्म फेला पार्दैनन् वा आफ्ना पाप घृणा गर्दैनन्।
3तिनीहरूका मुखका शब्दहरू दुष्‍ट र छली छन्;
तिनीहरू बुद्धिमानी हुन र भलाइको काम गर्न चुकेका छन्।
4तिनीहरूले आफ्ना ओछ्यानमा पनि कुकर्मको योजना बनाउँछन्;
तिनीहरूले आफूलाई कुमार्गतिर लगाउँछन्;
र तिनीहरूले खराबीलाई इन्कार गर्दैनन्।
5हे याहवेह, तपाईंको अचुक प्रेम स्वर्गैसम्म फैलिएको छ,
तपाईंको विश्‍वासयोग्यता आकाशसम्मै छ।
6तपाईंको धार्मिकता परमेश्‍वरका अति उच्‍च पहाडहरू जस्तै छन्;
तपाईंको न्याय गहिरो समुद्रजस्तै छ।
हे याहवेह, तपाईंले मानिस र पशुपक्षीलाई जोगाइराख्नुहुन्छ।
7हे परमेश्‍वर, तपाईंको अचुक प्रेम कति अनमोलको छ!
मानव जातिहरूले तपाईंका पखेटाको छायामा शरण लिन्छन्।
8तिनीहरू तपाईंका भवनको प्रशस्तताबाट भोज गर्छन्;
तपाईंको आनन्दको नदीबाट तिनीहरूलाई पिउन दिनुहुन्छ।
9किनकि जीवनको स्रोत तपाईंसँग छ;
तपाईंको ज्योतिमा हामी उज्यालो देख्छौँ।
10तपाईंलाई चिन्‍नेहरूमा तपाईंको प्रेम
र सोझो हृदय भएकाहरूमा तपाईंको धार्मिकता निरन्तर रहिरहोस्।
11अहङ्कारीको खुट्टा मेरो विरुद्धमा मलाई कुल्चन नआओस्,
न त दुष्‍टका हातले मलाई भगाउन पाओस्।
12दुष्कर्मीहरू कसरी लम्पसार परेर लडेका छन्;
तिनीहरू उठ्नै नसक्ने गरी फ्याँकिएका छन्।

अहिले सेलेक्ट गरिएको:

भजनसंग्रह 36: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्