भजनसंग्रह 41
41
भजन 41
सङ्गीत निर्देशकको निम्ति, दावीदको भजन।
1धन्य हुन् तिनीहरू, जसले गरिबलाई वास्ता गर्छन्;
याहवेहले तिनीहरूलाई सङ्कष्टको दिनमा बचाउनुहुन्छ।
2याहवेहले तिनीहरूको रक्षा गर्नुहुन्छ र जीवित राख्नुहुन्छ।
तिनीहरू पृथ्वीका आशिषित मानिसहरूसँग गनिन्छन्।
उहाँले तिनीहरूलाई तिनीहरूका वैरीहरूका इच्छामा छोड्नुहुन्न।
3याहवेहले तिनीहरूलाई बिरामी हुँदा सम्हाल्नुहुन्छ,
र तिनीहरूलाई तिनीहरूका बिरामीको ओछ्यानबाट स्वस्थ पार्नुहुन्छ।
4मैले भनेँ, “हे याहवेह, ममाथि कृपा गर्नुहोस्;
मलाई निको पार्नुहोस्; किनकि मैले तपाईंको विरुद्धमा पाप गरेको छु।”
5मेरा शत्रुहरूले खराब कुरा बोलेर मलाई यसो भन्छन्,
“त्यो कहिले मर्ला र त्यसको नामनिशानै मेटिएला?”
6जब तीमध्ये कोही मलाई भेट्न आउँछ,
त्यसले झूटो कुरा बोल्छ, र त्यसको हृदयले अधर्मका कुराहरू थुपार्छ;
तब बाहिर गएर त्यसले मेरो निन्दाका कुरा फैलाउँछ।
7मलाई घृणा गर्नेहरू सबै एकमत भएर मेरो विरुद्धमा कानेखुसी गर्दछन्;
तिनीहरू मेरो विरुद्धमा हानि चिताएर यसो भन्छन्,
8“त्यसलाई घातक रोग लागेको छ;
त्यो बिरामी भएर जहाँ पस्रेको छ; त्यहाँबाट कहिल्यै उठ्नेछैन।”
9मेरो घनिष्ठ मित्रले,
जसलाई मैले भरोसा गरेँ,
जसले मेरै भोजन खान्थ्यो,
त्यसले समेत मेरो विरुद्धमा लात उठाएको छ।
10तर हे याहवेह, ममाथि कृपा गर्नुहोस्;
मलाई खडा गर्नुहोस्, र म तिनीहरूलाई बदला लिन सकूँ!
11म जान्दछु, तपाईं मसँग प्रसन्न हुनुहुन्छ;
किनकि मेरा शत्रुहरू ममाथि विजयी हुन पाउँदैनन्।
12मेरो इमानदारीताको कारण तपाईंले मलाई सम्हाल्नुहुन्छ
र मलाई तपाईंको उपस्थितिमा सदासर्वदा राख्नुहुन्छ।
13याहवेह, इस्राएलका परमेश्वरलाई,
सदासर्वदा प्रशंसा होस्!
आमेन! आमेन!
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 41: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.