भजनसंग्रह 45
45
भजन 45
सङ्गीत निर्देशकको लागि “लिली फूल” को रागमा आधारित, कोरहका छोराहरूबाट मास्किल। विवाहको गीत।
1जब म राजाको निम्ति गीत गाउँदछु;
सुन्दर विचारहरूले मेरो हृदय भरिन्छ;
मेरो जिब्रो सिपालु लेखकको कलम हुन्छ।
2तपाईं पुरुषहरूमध्ये सर्वश्रेष्ठ हुनुहुन्छ;
र तपाईंका ओठहरू अनुग्रहले अभिषिक्त छन्;
किनकि परमेश्वरले तपाईंलाई सदाकालको निम्ति आशिष् दिनुभएको छ।
3हे परमवीर योद्धा, तपाईंको कम्मरमा आफ्नो तरवार भिर्नुहोस्;
प्रताप र वैभव धारण गर्नुहोस्।
4तपाईंको वैभवमा विजयका साथ सवार हुनुहोस्;
सत्यता, नम्रता र धार्मिकताको पक्षमा तपाईंको सवारी होस्;
तपाईंको दाहिने बाहुलीले अचम्मका कामहरू गरोस्।
5तपाईंका तीखा काँडहरूले राजाका शत्रुहरूका हृदय छेडिओस्;
राष्ट्रहरू तपाईंको चरणमा झुकून्।
6हे परमेश्वर, तपाईंको सिंहासन सदाको निम्ति रहनेछ;
न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हुनेछ।
7तपाईंले धार्मिकतालाई प्रेम गर्नुहुन्छ र दुष्टतालाई घृणा गर्नुहुन्छ;
यसकारण परमेश्वर, तपाईंका परमेश्वरले तपाईंलाई तपाईंका सङ्गीहरूभन्दा
उच्च पार्नुभएको छ र हर्षको तेलले अभिषेक गर्नुभएको छ।
8तपाईंका सबै कपडाहरू मूर्र, चन्दन, तेजपातको सुवास्नाले सुगन्धित छन्;
हस्तीदन्तले सिँगारिएका राजमहलबाट
तारको सुरिलो सङ्गीतले तपाईंलाई हर्षित तुल्याउँछ।
9तपाईंका सम्मानित स्त्रीहरूमा राजकुमारीहरू छन्;
तपाईंको दाहिने हातपट्टि ओपीरका निखुर सुनले सुसज्जित भएकी राजकीय दुलही छिन्।
10हे कुमारी, सुन, ध्यान देऊ र विचार गर:
तिम्रा मानिसहरू र आफ्नो पिताको घरलाई पनि बिर्स!
11तिम्रो सुन्दरताले राजा मोहित होऊन्;
उहाँको आदर गर; किनकि उहाँ तिम्रा मालिक हुन्।
12टायरकी छोरीहरू उपहार लिएर आउनेछन्;
धनी मानिसहरूले तिम्रो कृपादृष्टि खोज्नेछन्।
13राजकुमारी राजमहलमा ऐश्वर्यमयी छिन्;
तिनको वस्त्र सुनले जडिएको छ।
14तिनी बुट्टेदार पोशाकमा राजाकहाँ पुर्याइन्छिन्;
तिनका कुमारी साथीहरूले तिनलाई पछ्याउँछन्,
जो तिनीसँगै रहनलाई ल्याइन्छन्।
15हर्ष र आनन्दका साथ डोर्याइँदै,
तिनीहरू राजाको महलभित्र प्रवेश गर्दछन्।
16तपाईंका पुर्खाहरूको स्थानमा तपाईंका छोराहरू हुनेछन्;
तपाईंले तिनीहरूलाई सारा पृथ्वीमा राजकुमार बनाउनुहुनेछ।
17म तपाईंको नामलाई पुस्तौँ-पुस्तासम्म कायम राख्नेछु;
यसकारण राष्ट्रहरूले तपाईंको प्रशंसा सदासर्वदा गर्नेछन्।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 45: NCV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
पवित्र बाइबल, नेपाली समकालीन संस्करण
प्रतिलिपि अधिकार © 1998, 2006, 2021, 2024 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ।
सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Holy Bible, Nepali Contemporary Version
Copyright © 1998, 2006, 2021, 2024 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.