YouVersion लोगो
खोज आइकन

प्रकाश 3

3
सार्डिसमा भएको मण्डलीलाई सन्देश
1“सार्डिसमा भएको मण्डलीका दूतलाई लेख:
यी उहाँका वचनहरू हुन्, जसले परमेश्‍वरका सात आत्माहरू र सात ताराहरू पक्रनुभएको छ।
मलाई तिम्रो काम थाहा छ; तिमी जीवित भनेर कहलिएका छौ, तर तिमी मरेका छौ। 2जागा होऊ, र मर्नै लागेका बाँकी कुराहरूलाई बलियो बनाओ; किनकि मैले मेरा परमेश्‍वरको सामु तिम्रा कामहरू अधुरो पाएको छु। 3यसकारण तिमीले जे पाएका र सुनेका छौ, त्यो स्मरण गर; त्यसलाई पालन गर र पश्‍चात्ताप गर। तर तिमी जागेनौ भने म चोरझैँ आउनेछु, र म तिमीकहाँ कुन बेला आउनेछु, सो तिमीले थाहा पाउनेछैनौ।
4तैपनि सार्डिसमा केही यस्ता मानिसहरू छन्, जसले आफ्ना वस्त्रहरू बिटुलो पारेका छैनन्। तिनीहरू मसित सेता वस्त्रहरू पहिरेर हिँड्नेछन्; किनकि तिनीहरू योग्यका छन्। 5जसले विजय हासिल गर्दछ, उसलाई तिनीहरूलाई झैँ, सेतो वस्त्र पहिराइनेछ। म तिनीहरूका नाम जीवनको पुस्तकबाट कहिल्यै मेट्नेछैनँ, तर मेरा पिता र उहाँका दूतहरूको अगि स्वीकार गर्नेछु। 6जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।
फिलाडेल्फियामा भएको मण्डलीलाई सन्देश
7“फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेख:
यी उहाँका वचनहरू हुन्, जो पवित्र र सत्य हुनुहुन्छ, जससित दावीदको साँचो छ। उहाँले जे खोल्नुहुन्छ, त्यो कसैले बन्द गर्न सक्दैन र उहाँले जे बन्द गर्नुहुन्छ, त्यो कसैले खोल्न सक्दैन।
8मलाई तिम्रा कामहरू थाहा छ। हेर, मैले तिम्रो अगाडि एउटा खुला ढोका राखेको छु, जसलाई कसैले बन्द गर्न सक्दैन। तिमीसित थोरै शक्ति छ भन्‍ने मलाई थाहा छ, तापनि तिमीले मेरा वचन पालन गरेका छौ र मेरो नामलाई इन्कार गरेका छैनौ। 9म ती शैतानका सभाघरकाहरूलाई, जो यहूदीहरू होइनन्, तर आफूलाई यहूदीहरू हौँ भनेर झूट बोल्नेहरूलाई म तिमीहरूको पाउमा दण्डवत् गर्न, र मैले तिमीलाई प्रेम गरेको छु भनेर स्वीकार गर्न लगाउनेछु। 10तिमीले धैर्यसाथ सहेर मेरा आज्ञापालन गरेको हुनाले, म पनि तिमीलाई त्यस परीक्षाको समयबाट बचाउनेछु, जुन संसारका सबै बासिन्दाहरूको परीक्षा लिन सारा पृथ्वीमाथि आउँदैछ।
11हेर, म चाँडै आउनेछु। तिमीहरूसित जे छ, त्यसलाई पक्रिराख, ताकि तिम्रो मुकुट कसैले लैजान नपाओस्। 12जसले विजय हासिल गर्दछ, म मेरा पिताको मन्दिरमा एउटा खाँबो बनाउनेछु। उसले यसलाई कहिल्यै छोड्नेछैन। म उसमाथि मेरा परमेश्‍वरको नाम, मेरा परमेश्‍वरको स्वर्गबाट आइरहेको नयाँ सहर यरूशलेमको नाम लेखिदिनेछु; अनि म उसमाथि मेरो नयाँ नाम पनि लेखिदिनेछु। 13जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।
लाउडिकियामा भएको मण्डलीलाई सन्देश
14“लाउडिकियामा भएको मण्डलीका दूतलाई लेख:
यी वचनहरू आमेनका हुन्, जो विश्‍वासयोग्य अनि सत्य साक्षी, र परमेश्‍वरको सृष्‍टिका शासक हुनुहुन्छ।
15मलाई तिम्रा कामहरू थाहा छ, तिमी न चिसा न त ताता छौ। तिमी चिसो अथवा ताता भएका भए त हुनेथियो। 16यसकारण तिमी न तातो, न त चिसो, मनतातो भएकोले म तिमीलाई मेरो मुखबाट उकेल्न आँटेको छु। 17तिमी भन्छौ, ‘म धनी छु; मैले धेरै धनसम्पत्ति कमाएको छु, र मलाई कुनै थोकको खाँचो छैन।’ तर तिमीले यो थाहा गरेका छैनौ, कि तिमी गएगुज्रेको, दयनीय, गरिब, दृष्‍टिविहीन र नाङ्गा छौ। 18म तिमीलाई सल्‍लाह दिन्छु, मबाट आगोमा खारेको सुन किन; अनि धनी बन, र आफ्नो लाजमर्दो नग्नता ढाक्नलाई सेतो वस्त्र किन, र लगाऊ; अनि आँखामा लगाउने गाजल किन, ताकि तिमीले देख्न सक।
19जसलाई म प्रेम गर्छु, तिनीहरूलाई म हप्काउँछु, र अनुशासनमा राख्छु। यसकारण उत्साहित होओ र पश्‍चात्ताप गर। 20म यहाँ छु! म ढोकामा उभिएर घचघच्याउँछु। यदि कसैले मेरो आवाज सुन्छ र ढोका खोल्छ भने म त्यसकहाँ भित्र आउनेछु; अनि त्यससित भोजन खानेछु, र त्यसले मसित खानेछ।
21जसले विजय हासिल गर्दछ, म उसलाई मसित मेरो सिंहासनमा बस्‍ने अधिकार दिनेछु, जसरी मैले पनि जितेँ, र मेरो पिताको सिंहासनमा बसेको छु। 22जसको कान छ, त्यसले सुनोस्, पवित्र आत्माले मण्डलीहरूलाई के भन्‍नुहुन्छ।”

अहिले सेलेक्ट गरिएको:

प्रकाश 3: NCV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्