प्रेरित 6:8-15
प्रेरित 6:8-15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्तिफनसले अनुग्रह र शक्तिले पूर्ण भएर मानिसहरूका बीचमा ठूला-ठूला अचम्मका काम र चिन्हहरू गरे। तर कोही-कोहीचाहिँ जो स्वतन्त्र-दलका सभाघरकाहरू (यसको नाम यही थियो), र कुरेनी, अलेक्जेन्ड्रिया, किलिकिया र एशियाका मानिसहरू थिए, तिनीहरूले खड़ा भई स्तिफनससँग वाद-विवाद गर्न लागे। तिनी जुन बुद्धिले र आत्माद्वारा बोल्थे, तिनीहरूले त्यसको सामना गर्न सकेनन्। तब तिनीहरूले गुप्तमा मानिसहरूलाई उक्साएर यसो भन्न लाए, “मोशा र परमेश्वरको विरुद्धमा यसले निन्दात्मक कुरा बोलेको हामीले सुन्यौं।” तब तिनीहरूले जनता, धर्म-गुरु र शास्त्रीहरूलाई भड्काए, र तिनीहरूलाई हमला गरे र पक्रेर महासभामा ल्याए। तिनीहरूले यसो भन्ने झूटा साक्षीहरूलाई अगि सारे, “यस मानिसले पवित्रस्थान र व्यवस्थाको विरुद्धमा कुराहरू बोल्न छोड्दैन। किनभने यसले यसो भनेको हामीले सुन्यौं, ‘नासरतका येशूले यस ठाउँलाई नाश गर्नेछ, र मोशाले हामीलाई दिएका रीतिथिति पनि बदली गरिदिनेछ’।” महासभामा बसेका ती सबैले तिनलाई नियालेर हेरे, र तिनको मोहड़ा स्वर्गदूतको मोहड़ाजस्तै देखे।
प्रेरित 6:8-15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
परमेश्वरको शक्ति र अनुग्रहले भरिपूर्ण भएका स्तिफनसले मानिसहरूसामु अद्भुत कार्यहरू र अलौकिक चिन्हहरू गरे। तर त्यस समयमा स्वतन्त्र दलका सभाघर (यसको नाम यही थियो) भनिने सभाका सदस्यहरू, र साइरिनी र अलेक्जेन्ड्रियाका साथै किलिकिया र एशिया प्रान्तहरूका मानिसहरूले स्तिफनसको विरुद्ध वाद-विवाद गर्न थाले। तर जुन बुद्धि र आत्माद्वारा उनी बोल्दथे, त्यसको विरुद्धमा तिनीहरूले प्रतिवाद गर्न सकेनन्। त्यसैले तिनीहरूले केही मानिसहरूलाई गोप्य रूपमा उक्साएर यसो भन्न लगाए, “परमेश्वरको विरुद्धमा र मोशाको विरुद्धमा स्तिफनसले निन्दात्मक वचनहरू बोलेको हामीले सुनेका छौँ।” त्यसरी तिनीहरूले जनता, प्रधानहरू र व्यवस्थाका शिक्षकहरूलाई उनको विरुद्ध भड्काएर तिनीहरूले स्तिफनसलाई समातेर महासभासामु ल्याए। तिनीहरूले झूटा साक्षीहरूद्वारा यस्तो आरोप लगाए “पवित्रस्थानका र व्यवस्थाका विरुद्ध यो व्यक्ति सधैँ बोलिरहन्छ। ‘नासरतका येशूले यो स्थान नष्ट पार्नेछन् र मोशाले हामीलाई तोक्नुभएको रीतिथिति पनि उनले परिवर्तन गर्नेछन्’ भनेर यो मानिसले भनेको हामीले सुनेका छौँ।” महासभामा बसेका सबैले स्तिफनसलाई एक टकले हेरे, तिनको मुहार स्वर्गदूतको झैँ चहकिलो भएको देखे।
प्रेरित 6:8-15 पवित्र बाइबल (NERV)
स्तिफनस एक अनुग्रही अनि शक्तिशाली मानिसले मानिसहरू माझ आर्श्चयमय कुराहरू अनि चमत्कार गरे। तर कतिपय यूहीहरू आए अनि स्तिफनसँग तर्क गरे। यी यहूदीहरू स्वाधीन सभाघरबाट आएका थिए। यी यहूदीहरू साइरिनीबाट आएका थिए। अलेक्जेन्ड्रिया अनि सिलिसिया अनि एशियाका थिए। तिनीहरूले स्तिफनसँग बहस गरे। तर आत्माले स्तिफनलाई बुद्धिमानीसँग बोल्न सघाइरहेको थियो। यसर्थ यहूदीहरूले तिनीसित बहस गर्न सकेनन्। तब उनीहरूले केही मानिसहरूलाई घुस दिएर बोल्न लगाए, “हामीले मोशा र परमेश्वरका विषयमा स्तिफनसले धर्म निन्दा गरेको सुनेका छौ।” यसो गरेर तिनीहरूले मानिसहरू, अग्रज यहूदी अगुवाहरू र शास्त्रीहरूलाई उक्साए (चम्काए) तिनीहरू क्रूद्ध भए अनि तिनीहरू आएर स्तिफनसलाई समाते अनि तिनीहरूले उनलाई यहूदी सभाघरमा यहूदीहरूका सभामा उपस्थित गराएर। तिनीहरूले केही झूटा गवाहीरू पनि ल्याए। ती झूटा गवाहीहरूले भने, “यस मानिसले सदैव यो पवित्र स्थान अनि मोशाको नियम विरूद्ध बोल्छ। नासरतका येशूले यो ठाउँ ध्वंश पार्नु हुनेछ अनि मोशाले हामीलाई दिनुभएको दस्तुरहरू बद्लिदिनु हुनेछ भनी यो मानिसले भनेको सुनेकाछौं।” सभामा बसिरहेका सबै मानिसहरूले स्तिफनसलाई आँखा गाडेर हेरे। उनको अनुहार स्वर्गदूत जस्तो देखिन्थ्यो, हरेकले त्यो देख्यो।
प्रेरित 6:8-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
स्तिफनसले चाहिँ प्रभुबाट धेरै आशिष् र शक्ति पाएका थिए। उनले मानिसहरूका बीचमा अचम्म-अचम्मका कामहरू गर्दै चिन्हहरू देखाउँथे। तर कति मानिसहरूले चाहिँ उनको विरोध गर्न थाले। तिनीहरू यहूदी सभाघरका “स्वतन्त्र भन्ने दलका मानिसहरू अनि अलेक्जेन्ड्रिया सहर र कुरेनी, किलिकिया र एशिया इलाकाबाट आएका यहूदीहरू थिए। तिनीहरू सबै मिलेर स्तिफनससँग तर्कवितर्क गर्न लागे। तर पवित्र आत्माले स्तिफनसलाई यस्तो बुद्धि दिनुभयो, तिनी बोल्दा अरूले तिनको सामना गर्नै सकेनन्। यसकारण तिनीहरूले केही मानिसहरूलाई उस्काएर ‘हामीले यस मानिसलाई मोशा र परमेश्वरको विरुद्ध बोलेका सुनेका छौं’ भन्न लगाए। यसरी तिनीहरूले जनता र महासभामा बस्ने अगुवा र धर्म-गुरुहरूलाई पनि उस्काए। तिनीहरूले स्तिफनसलाई पक्रेर महासभाको अगाडि ल्याए। त्यसपछि तिनीहरूले स्तिफनसको बारेमा झूट बोल्ने मानिसहरूलाई ल्याए। झूट बोल्ने मानिसहरूले भने, “यो मानिसले त जहिले पनि हाम्रो पवित्र मन्दिर र मोशाले दिनुभएको व्यवस्थाको विरोधमा बोल्ने गर्छ। नासरतका येशूले यस मन्दिरलाई भत्काउनेछ र हामीले मोशादेखि नै मान्दै आएका नियमहरूलाई पनि फेर्नेछ रे। यस्ता-यस्ता कुराहरू यस मानिसले भनेको हामी आफैंले सुनेका छौं।” त्यतिखेर महासभामा बस्नेहरू सबैले स्तिफनसलाई एकोहोरो हेरि नै रहे। तिनको अनुहारचाहिँ स्वर्गदूतको जस्तो उज्यालो भएर चम्किरहेको थियो।