प्रेरित 7:51-60
प्रेरित 7:51-60 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे हठी मानिसहरू हो, कठोर हृदय र बहिरा कान भएका हो, तपाईंहरू सधैँ पवित्र आत्माको विरोध गर्नुहुन्छ। तपाईंहरूका पुर्खाले जस्तो गरे तपाईंहरू पनि त्यस्तै गर्नुहुन्छ। अगमवक्ताहरूमध्ये कुनचाहिँलाई तपाईंहरूका पुर्खाहरूले सताएनन्? उनीहरूले धार्मिक जनको आगमन अघिबाटै घोषणा गर्नेहरू सबैको हत्या गरे। उहाँलाई तपाईंहरूले विश्वासघात गर्नुभयो, र उहाँको हत्या गर्नुभयो। ती सबैलाई मारे, जसले ती धार्मिक जनको आउने समाचार अगाडिदेखि नै सुनाएका थिए। अब तपाईंहरूचाहिँ उहाँकै विश्वासघातक र ज्यानमारा हुनुभएको छ। स्वर्गदूतहरूले सुम्पेको व्यवस्था तपाईंहरूले पाउनुभयो, तर त्यसको पालन गर्नुभएन।” जब तिनीहरूले यी कुरा सुने तब तिनीहरू क्रुद्ध भए र रीसले दाह्रा किट्न लागे। तर तिनले चाहिँ पवित्र आत्माले भरिपूर्ण भईकन स्वर्गतिर एकटक लाएर हेरे, र परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको देखे। तिनले भने, “हेर, स्वर्ग उघ्रेको म देख्छु, र मानिसको पुत्रलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको म देख्तछु।” तर तिनीहरू उच्च सोरले कराई उठे, र आ-आफ्ना कान थुने, र तिनीहरू एकसाथ तिनीमाथि झम्टे। तिनीहरूले तिनलाई सहर बाहिर निकाली लगे, र तिनीमाथि ढुङ्गा बर्साए। र साक्षीहरूले आफ्ना वस्त्रहरू शाऊल नाउँ भएको एक जना युवकका खुट्टानेर राखे। जसै तिनीहरूले स्तिफनसमाथि ढुङ्गा हानिरहेका थिए, तिनले प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्।” तिनले घुँडा टेकेर ठूलो सोरले कराएर भने, “हे प्रभु, यो पापको दोष यिनीहरूलाई नलागोस्।” यति भनेर तिनले प्राण त्याग गरे।
प्रेरित 7:51-60 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हे हठी, बेखतनाका हृदय र कानहरू भएका मानिसहरू हो! तपाईंहरू ठिक आफ्ना पुर्खाहरूजस्तै हुनुहुन्छ: तपाईंहरू सदा पवित्र आत्माको विरोध गर्नुहुन्छ। के कुनै यस्तो अगमवक्ता छ, जसलाई तपाईंका पुर्खाहरूले सताएनन्? जसले धर्मी जनको आगमनको अगमवाणी बोले, त्यसलाई त तिनीहरूले हत्या पनि गरे। अब तपाईंहरूले उहाँलाई विश्वासघात गर्नुभयो र मार्नुभयो। स्वर्गदूतहरूद्वारा दिइएको व्यवस्था तपाईंहरूले प्राप्त गर्नुभयो। तर त्यसअनुसार तपाईंहरूले आज्ञापालन गर्नुभएन।” जब यहूदी अगुवाहरूले यो कुरा सुने, तब तिनीहरू अत्यन्त क्रोधित भए, र रिसले दाह्रा किट्न थाले। तर स्तिफनस पवित्र आत्माले भरिपूर्ण भएर स्वर्गतिर हेरे। त्यहाँ उनले परमेश्वरको महिमा र येशूलाई परमेश्वरको दाहिने हातपट्टि उभिरहनुभएको देखे। अनि तिनले भने, “हेर्नुहोस्, स्वर्ग उघ्रेको म देख्छु! त्यहाँ परमेश्वरको दाहिने हातपट्टि मानिसको पुत्र उभिरहेको म देख्दछु।” यो सुनेर तिनीहरूले आफ्नो कान थुने, र उच्च सोरले कराएर तिनीहरू सबै एकैसाथ तिनीमाथि झम्टे। अनि स्तिफनसलाई सहरबाहिर घिस्याउँदै लगे, र ढुङ्गा प्रहार गर्न थाले। त्यसै बेला त्यस घटनाका साक्षीहरूले आफ्ना लुगाफाटाहरू हेरविचार गर्न शाऊल नामको एउटा युवकको पाउमा राखे। जब तिनीहरूले स्तिफनसमाथि ढुङ्गा बर्साइरहेका थिए, तब स्तिफनसले यसरी प्रार्थना गरे, “हे प्रभु येशू, मेरो आत्मालाई ग्रहण गर्नुहोस्!” त्यसपछि तिनले घुँडा टेक्दै उच्च सोरमा भने, “हे प्रभु, यस पापको दोषी यिनीहरूलाई नबनाउनुहोस्!” यति भनेपछि तिनको मृत्यु भयो।
प्रेरित 7:51-60 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
“तपाईंहरूको हृदय अन्यजातिको जस्तै कठोर भएको छ र तपाईंहरू परमेश्वरको सन्देश सुन्न चाहनुहुन्न। आफ्ना पिता-पुर्खाले जस्तै तपाईंहरूले पनि पवित्र आत्माले देखाउनुभएको कुरालाई कहिल्यै पनि मान्नुहुन्न। के तपाईंहरूका पिता-पुर्खाले नसताएको कुनै अगमवक्ता होलान् र? परमेश्वरका पवित्र सेवक आउँदै हुनुहुन्छ भनेर खबर सुनाउने अगमवक्ताहरूलाई समेत तिनीहरूले मारे। तपाईंहरूले चाहिँ आउनुभएका पवित्र सेवकलाई नै धोखा दिएर मार्नुभयो। तपाईंहरूले स्वर्गदूतहरूको हातद्वारा परमेश्वरको व्यवस्था त पाउनुभएको थियो, तर त्यसलाई पालन गर्नुभएन।” स्तिफनसको कुरा सुनेर महासभामा बसेका मानिसहरू रिसले आगो भए र तिनीहरूले स्तिफनसलाई दाह्रा किट्न लागे। तर स्तिफनसले पवित्र आत्माबाट भरपूर भएर स्वर्गतिर हेरे। उनले परमेश्वरको शक्तिशाली महिमा देखे, येशू पनि उहाँको दाहिनेपट्टि हुनुहुन्थ्यो। त्यहाँ उनले परमेश्वर र उहाँको दाहिनेपट्टि येशूलाई ठूलो महिमामा बास गर्नुभएको देखे। उनले भने, “हेर, म स्वर्ग उघ्रिएको र मानव पुत्र येशूलाई परमेश्वरको दाहिनेपट्टि उभिरहनुभएको देख्तै छु।” त्यत्तिकैमा तिनीहरूले जोडले कराउँदै आ-आफ्ना कान थुने र सबै उनीमाथि जाइलागे। तिनीहरूले स्तिफनसलाई ढुङ्गाले हानेर मार्न सहरदेखि घिस्याउँदै बाहिर निकाले। साक्षीहरूले आ-आफ्नो कोट फुकालेर शाऊल भन्ने ठिटाको जिम्मा लगाई स्तिफनसलाई ढुङ्गाले हिर्काउन लागे। तिनीहरूले ढुङ्गाले हिर्काइरहँदा स्तिफनसले प्रभुलाई पुकार्दै भने, “हे प्रभु येशू, मेरो आत्मालाई लिनुहोस्।” त्यसपछि उनले घुँडा टेकेर ठूलो सोर निकालेर भने, “हे प्रभु, यो पाप यिनीहरूलाई नलागोस्!” यति भनेर उनले आफ्नो प्राण त्यागे।
प्रेरित 7:51-60 पवित्र बाइबल (NERV)
तब स्तिफनसले भने, “तिमी अट्टेरी यहूदी अगुवाहरू! तिमीहरूले आफ्ना हृदय परमेश्वरलाई दिएका छैनौ! तिमीहरूले उहाँलाई कहिल्यै सुनेनौ! पवित्र-आत्माले तिमीहरूलाई जे भन्नुहुन्छ त्यो तिमीहरूले सधैँ विरोध गर्छौ। तिम्रा पुर्खाहरूले त्यसै गरे अनि तिमीहरू उनीहरू जस्तै छौ। तिमीहरूका पुर्खाहरूले नसताएका कुनै अगमवक्ता होलान? ती अगमवक्ताहरूले एक धार्मिक आउनु हुन्छ भनेर पहिल्यै भनिसकेका थिए। तर तिमीहरूका पुर्खाहरूले तिनीहरूलाई मारे। अनि अहिले तिमीहरूले एक धार्मिक मानिस प्रति विश्वासघात गर्यौ अनि उहाँलाई मार्यौ। तिमीहरू त्यही मानिसहरू हौ जसले स्वर्गका दूतहरूले दिएको मोशाको व्यवस्थालाई ग्रहण गर्यौ तर पालन गरेनौं।” जब यहूदी नेताहरूले यी कूरा सुने तिनीहरू रिसले चूर भए अनि उनको विरूद्ध दाह्रा किट्न थाले। तर स्तिफनस पवित्र-आत्माले परिपूर्ण थिए। स्तिफनसले उँभो आकाश तिर हेरे। उनले परमेश्वरको महिमा देखे। अनले येशूलाई परमेश्वरको दाहिने तर्फ उभिरहेको देखे। स्तिफनसले भने, “हेर! मैले स्वर्ग खुल्ला अनि मानिसको पुत्र परमेश्वरको दाहिने तर्फ उभिरहेको देख्छु!” तुरून्तै समस्त यहूदी अगुवाहरू एकसाथ ठूलो स्वरमा चिच्याए। तिनीहरूले आफ्ना हातले कान बन्द गरे। तिनीहरू सबै एकसाथ स्तिफनस तिर दौडे। तिनीहरूले उनलाई शहर बाहिर फ्याँके अनि ढुङ्गा हान्न थाले। ती मानिसहरू ज-जसले स्तिफनसको विरूद्ध झूटो कुरा गरेका थिए, तिनीहरूले आफ्ना पोशाक खोलेर शावल नाउँको एक युवकलाई दिए। अनि त्यसपछि तिनीहरूले स्तिफनस माथि ढुङ्गा हान्न शुरू गरे। तर स्तिफनस प्रार्थना गरिरहेका थिए। उनले भने, “प्रभु येशू, मेरो आत्मा ग्रहण गर्नुहोस्!” तब उनले घूँडा टेके अनि जोडले चिच्याए, “प्रभु, यिनीहरूलाई यो पापका निम्ति दोष नदिनुहोस्!” यति भनिसके पछि स्तिफनसले देह त्याग गरे।