YouVersion लोगो
खोज आइकन

प्रेरित 8:26-40

प्रेरित 8:26-40 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

त्‍यसपछि प्रभुका एउटा दूतले फिलिपलाई भने, “उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ। त्‍यहाँ मरुभूमिको बाटो छ।” अनि फिलिप उठेर गए, र एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो इथियोपिया देशकी महारानी कन्‍दाकीका ठूला पदाधिकारी र समस्‍त सम्‍पत्तिका कोषाध्‍यक्ष थिए। उनी यरूशलेममा आराधना गर्न गएका थिए। उनी फर्किरहेका थिए, र आफ्‍नो रथमा बसी यशैया अगमवक्ताको पुस्‍तक पढ़िरहेका थिए। तब पवित्र आत्‍माले फिलिपलाई भन्‍नुभयो, “जाऊ र त्‍यस रथको साथ लाग।” फिलिप तिनीकहाँ दौड़ेर गए, र तिनलाई यशैया अगमवक्ताको पुस्‍तक पढ़िरहेको सुनेर उनले सोधे, “तपाईंले पढ़िरहनुभएको कुरा बुझ्‍नुहुन्‍छ?” तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्‍न सक्‍छु र?” अनि तिनले फिलिपलाई रथमा चढ़ी तिनको साथमा बस्‍ने अनुरोध गरे। अब तिनले पढ़िरहेका धर्मशास्‍त्रको खण्‍ड यो थियो, “जसरी भेड़ा काटिनलाई लगिन्‍छ, वा थुमा ऊन कत्रनेको सामु चूप रहन्‍छ, त्‍यसरी नै उसले आफ्‍नो मुख खोलेन। उसको अपमानित अवस्‍थामा उसलाई न्‍याय मिलेन। उसको पुस्‍ताको बयान कसले गर्ने? किनभने उसको जीवन पृथ्‍वीबाट हरण भयो।” तब ती नपुंसकले फिलिपलाई भने, “कृपा गरी मलाई भन्‍नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन्, उनको आफ्‍नै विषयमा कि अरू कसैको विषयमा?” तब फिलिपले आफ्‍नो मुख खोलेर धर्मशास्‍त्रको यसै खण्‍डबाट तिनलाई येशूको सुसमाचार सुनाए। अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे। ती नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्‍तिस्‍मा हुनदेखि केले रोक्‍न सक्‍छ?” [ फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्‍छ भने तपाईंले बप्‍तिस्‍मा लिन सक्‍नुहुन्‍छ।” तिनले जवाफ दिए “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी म विश्‍वास गर्दछु।”] तिनले रथ रोक्‍ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्‍तिस्‍मा दिए। तर जब उनीहरू पानीबाट बाहिर उक्‍लिआए, तब प्रभुका आत्‍माले फिलिपलाई पक्रेर लैजानुभयो, र ती नपुंसकले उनलाई फेरि देखेनन्, र ती रमाउँदै आफ्‍नो बाटो लागे। तर फिलिप अश्‍दोदमा देखा परे, र कैसरिया नपुगुञ्‍जेल सबै सहरहरूमा सुसमाचार सुनाउँदै गए।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:26-40 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

त्यसपछि प्रभुको एउटा दूतले फिलिपसँग यसो भने, “यरूशलेमबाट गाजातर्फ जाने दक्षिणतिर मरुभूमिको सडकमा तिमी जाऊ।” अनि तिनी त्यतैतिर लागे। बाटोमा तिनले एक जना इथियोपियाली नपुंसकलाई भेटे। ती नपुंसक इथियोपियाली महारानी कन्दाकीको सम्पूर्ण सम्पत्तिको रेखदेख गर्ने महत्त्वपूर्ण उच्‍च अधिकारी थिए। ती मानिस आराधनाका निम्ति यरूशलेम गएका थिए, र घर फर्कँदा बाटोमा आफ्नो रथमा बसेर अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए। फिलिपलाई पवित्र आत्माले भन्‍नुभयो, “नजिकै जाऊ, र त्यो रथ सँगसँगै लाग।” अनि फिलिप रथतिर दौडिँदै गए, र नजिकै पुगेपछि ती मानिसले यशैया अगमवक्ताको पुस्तक पढेको तिनले सुने। अनि फिलिपले सोधे, “तपाईंले जे पढिरहनुभएको छ, के त्यो बुझ्नुहुन्छ?” “जबसम्म यसको व्याख्या कसैले गरिदिँदैन, म कसरी बुझ्नसक्छु?” उनले जवाफ दिए। त्यसैले तिनले फिलिपलाई रथमाथि उक्लेर आफूसँगै बस्‍न आग्रह गरे। ती नपुंसक पवित्रशास्त्रको यो अंश पढिरहेका थिए: “उहाँलाई मारिन लगिएको थुमाझैँ लगियो, जसरी थुमा ऊन कत्रनेको सामु चुप लागेर बस्छ, त्यसरी नै उहाँले पनि आफ्नो मुख खोल्नुभएन। उहाँको अपमानित अवस्थामा उहाँ न्यायबाट वञ्चित हुनुभयो। उहाँका पुस्ताको कसले वर्णन गर्न सक्छ? किनकि उहाँको जीवन पृथ्वीबाट हटाइयो।” नपुंसकले फिलिपलाई सोधे, “कृपया मलाई भन्‍नुहोस्, अगमवक्ता कसका बारेमा कुरा गर्दैछन्, आफ्नै बारेमा वा अरू कसैको बारेमा?” त्यसपछि फिलिपले पवित्रशास्त्रको त्यही पदबाट सुरु गर्दै तिनलाई येशूको बारेमा सुसमाचार सुनाए। तिनीहरू बाटोमा जाँदै गर्दा केही पानी भएको ठाउँमा आइपुगे; अनि नपुंसकले भने, “हेर्नुहोस्, यहाँ पानी रहेछ, मेरो बप्‍तिस्मा किन यहीँ गरिदिनुहुन्‍न?” फिलिपले भने, “यदि सारा हृदयले नै विश्‍वास गर्नुहुन्छ भने तपाईंले बप्‍तिस्मा लिन सक्नुहुन्छ।” तिनले जवाफ दिए, “येशू ख्रीष्‍ट नै परमेश्‍वरका पुत्र हुनुहुन्छ भनी म विश्‍वास गर्दछु।” अनि तिनले रथ रोक्न हुकुम दिए; अनि फिलिप र ती नपुंसक दुवै पानीभित्र पसे, र फिलिपले तिनलाई बप्‍तिस्मा दिए। जब तिनीहरू पानीबाट बाहिर आए, तब प्रभुको आत्माले फिलिपलाई अकस्मात् लिएर जानुभयो, र त्यसपछि ती नपुंसकले फिलिपलाई फेरि देखेनन्। अनि तिनी आनन्दित हुँदै आफ्नो बाटो लागे। तर फिलिपले आफूलाई अश्दोदमा पाए। अनि त्यहाँबाट कैसरिया नपुगुन्जेलसम्म बाटोमा पर्ने सबै सहरहरूमा सुसमाचार प्रचार गरे।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:26-40 पवित्र बाइबल (NERV)

परमेश्वरको एकजना दूतले फिलिपलाई भने, “झट्ट तयार होऊ र दक्षिणतर्फ जाऊ। यरूशलेमदेखि गाजातर्फ जाने बाटो जाऊ- त्यो बाटो मरूभूमि भएर जान्छ।” यसकारण फिलिप तयार भए अनि गए। बाटोमा उनले एकजना एथियोपियावासी मानिसलाई देखे जो नपुंसक थिए। उनी एथियोपिया देशकी रानी कन्दकीको ठूला अधिकारी थिए। उनी रानीका जम्मै पैसा-रूपियाँका जिम्मेवार थिए। त्यो मानिस आराधना गर्न यरूशलेम गएका थिए। अहिले ऊ आफ्नो रथमा बसेर घर तर्फ गइरहेका थिए। तिनी अगमवक्ता यशैयाको पुस्तक पढिरहेका थिए। आत्माले फिलिपलाई भने, “त्यस रथमा जाऊ र त्यसको छेउमा बस्।” तब फिलिप रथको छेउमा दगुरे अनि त्यो मानिसले पढी रहेको सुने। उसले यशैया अगमवक्ताको पुस्तक पढिरहेको थियो। फिलिपले उसलाई भने, “के तिमीले पढेको कुरा बुझ्दैछौ?” त्यस मानिसले भन्यो, “म कसरी बुझ्न सक्छु? मलाई त्यस्तो मानिसको खाँचो छ जसले मलाई यो व्याख्या गरिदिन सक्छ।” त्यसपछि उसले फिलिपलाई उसको छेउमा आएर बस्न निमन्त्रणा गर्यो। उसले पढ्दै गरेको धर्म शास्त्रको अंश यस्तो थियोः “जसरी भेंडा़ काटिन लगिन्छ, भेंडा़को पाठा कत्रनेको सामु चुपचाप उभिन्छ, त्यसरी नै उनी रहे। त्यसरी नै उहाँ उभिई रहनु भयो। उहाँको उपहाँस गरियो अनि उहाँका अधिकारहरू खोसियो। पृथ्वीमा उहाँको जीवन समाप्त भयो। अनि उहाँको पुस्ताको बिषयमा भन्न को सामर्थ हुनेछ।” त्यस अधिकारीले फिलिपलाई भने, “दया गरेर मलाई भन्नुहोस् अगमवक्ताले कसको विषयमा भनेका हुन्? उनले आफ्नै विषयमा कि अन्य कसैको विषयमा भनेका हुन?” फिलिपले बताउन थाले। उनले त्यही धर्मशास्त्रको अंशबाट शुरू गरे अनि उसलाई येशूको विषयमा सुसमाचार भने। उनीहरू बाटोमा गइरहेको बेला पानी भएको ठाउँमा पुगे। अधिकारीले भन्यो, “हेर! यहाँ पानी छ! कसले मलाई बप्तिस्मा लिन देखि रोक्न सक्छ?” त्यसपछि अधिकारीले रथ थाम भनेर आदेश गर्यो। दुवै फिलिप र अधिकारी पानी भए तिर ओर्लिए अनि फिलिपले तिनलाई बप्तिस्मा दिए। जब तिनीहरू पानी बाहिर आए प्रभुको आत्मा फिलपबाट खोसियो अधिकारीले उनलाई फेरि कहिल्यै पनि देखेन्। अधिकारी आफ्नो घरको बाटो लागे। उनी खुशी थिए। तर फिलिप अश्दोदको शहरमा देखा परे। उनी सिजरियाको शहर तिर गइरहैका थिए। अश्दोददेखि सिजरिया जाँदा बाटामा पर्ने प्रत्येक शहरमा उनले सुसमाचार प्रचार गरे।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्

प्रेरित 8:26-40 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

प्रभुका एउटा स्‍वर्गदूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर गएर यरूशलेमबाट गाजातर्फ जाने उजाड-स्थानमा पर्ने बाटोमा जाऊ।” फिलिप उठेर हिँडे। त्‍यति नै बेला इथियोपिया देशका एउटा नपुंसक त्‍यही बाटो भएर जाँदै थिए। उनी इथियोपिया देशकी महारानी कन्‍दाकीका ठूलो अख्‍तियार पाएको खजान्‍ची थिए। उनी यरूशलेममा गएर परमेश्‍वरलाई पुजेर घरतिर फर्किंदै थिए र आफ्‍नो रथमा बसेर यशैया अगमवक्ताले लेखेको पुस्‍तक पढिरहेका थिए। पवित्र आत्‍माले फिलिपलाई भन्‍नुभयो, “जाऊ र त्यस रथको साथ लाग।” फिलिप दौडेर रथको नजिक पुगे र ती मानिसले यशैया अगमवक्ताले लेखेको पुस्‍तक पढिरहेको सुने। फिलिपले उनलाई सोधे, “हजुरले पढिरहनुभएका ती कुराहरू बुझ्‍नुहुन्‍छ?” “कसैले नबुझाइदिई मैले कसरी बुझ्‍ने?” ती मानिसले जवाफ दिए। उनले फिलिपलाई रथमा चढेर आफूसँगै बस्‍न बिन्‍ती गरे। ती नपुंसकले पढिरहेको धर्मशास्‍त्रको भाग यो थियो– उहाँ काट्‍न लगिने भेडाजस्‍तो हुनुहुन्‍थ्‍यो, ऊन काटिंदा चुप रहने भेडाजस्‍तै उहाँले आफ्‍नो मुखबाट कुनै शब्‍द निकाल्‍नुभएन। उहाँ यति होच्‍याइनुभयो कि उहाँले ठीक न्‍यायसम्‍म पनि पाउनुभएन अनि उहाँ पृथ्‍वीबाट लगिनुभयो र उहाँको सन्‍तानको बयान अब कसले गर्ला? यी नपुंसकले फिलिपलाई सोधे, “दया गरी मलाई बताउनुहोस्, यो कुरा अगमवक्ताले कसको बारेमा भन्‍नुभएको हो? आफ्‍नै या अरू कसैको बारेमा?” अनि फिलिपले उनलाई धर्मशास्‍त्रको त्‍यही भागदेखि लिएर येशूबाट मुक्ति पाइन्‍छ भन्‍ने सुसमाचार सुनाए। बाटोमा जाँदाजाँदै तिनीहरू केही पानी भएको ठाउँमा आइपुगे। यी नपुंसकले फिलिपलाई भने, “यहाँ पानी रहेछ! के मलाई बप्‍तिस्‍मा लिन अब कुनै कुराले रोक्‍ला?” [फिलिपले तिनलाई भने, “हृदयदेखि नै विश्‍वास गर्नुहुन्‍छ भने तपाईंले बप्‍तिस्‍मा लिन सक्‍नुहुन्‍छ।” “हो, येशू ख्रीष्‍ट परमेश्‍वरको पुत्र हुनुहुन्‍छ भनेर म विश्‍वास गर्छु,” ती मानिसले जवाफ दिए।] उनले रथ रोक्‍न लगाए र उनीहरू दुवै झरेर पानी भएको ठाउँमा गए र फिलिपले उनलाई बप्‍तिस्‍मा दिए। उनीहरू पानीबाट बाहिर निस्‍केपछि प्रभुको आत्‍माले फिलिपलाई समातेर लानुभयो र ती नपुंसकले फिलिपलाई फेरि देखेनन् अनि तिनी हर्षले गद्‌गद् भएर आफ्‍नो बाटो लागे। उता फिलिपले आफैंलाई अश्‍दोद सहरमा पाए। तिनी कैसरिया सहर नपुगुञ्‍जेलसम्‍म सहर-सहर हुँदै सुसमाचार प्रचार गर्दै गए।

शेयर गर्नुहोस्
प्रेरित 8 पढ्नुहोस्