YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 3:1-21

यूहन्‍ना 3:1-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

फरिसीहरूमध्‍ये निकोदेमस नाउँ भएका एक जना मानिस थिए। तिनी यहूदीहरूका महासभाका एक सदस्‍य थिए। यिनी राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौं तपाईं परमेश्‍वरबाट आउनुभएको शिक्षक हुनुहुन्‍छ, किनकि परमेश्‍वर साथमा हुनुभएन भने तपाईंले गर्नुभएका यी चिन्‍हहरू कसैले गर्न सक्‍दैन।” येशूले तिनलाई जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही नयाँ गरी जन्‍मेन भने उसले परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।” निकोदेमसले उहाँलाई भने, “मानिस बूढ़ो भएपछि कसरी जन्‍मन सक्‍छ र? के त्‍यो आफ्‍नी आमाको कोखमा दोस्रो चोटि पसेर जन्‍मन सक्‍छ?” येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, कोही पानी र आत्‍माद्वारा जन्‍मेन भने परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन। शरीरबाट जन्‍मेको शरीर हो, र पवित्र आत्‍माबाट जन्‍मेको आत्‍मा हो। मैले तिमीलाई नयाँ गरी जन्‍मनुपर्छ भन्‍दा अचम्‍म नमान। बतास जता चाहन्‍छ उतै बहन्‍छ। तिमी बतासको आवाज सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ र कता जान्‍छ, त्‍यो जान्‍दैनौ। आत्‍माबाट जन्‍मेको हरेक व्‍यक्ति त्‍यस्‍तै हुन्‍छ।” निकोदेमसले उहाँलाई सोधे, “यो कसरी हुन सक्‍दछ?” येशूले तिनलाई जवाफ दिनुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुरा बुझ्‍दैनौ? साँच्‍चै, म तिमीलाई भन्‍दछु, हामी जे जान्‍दछौं त्‍यो भन्‍दछौं, र हामीले जे देखेका छौं त्‍यसको गवाही दिन्‍छौं, तर तिमीहरू हाम्रो गवाही स्‍वीकार गर्दैनौ। मैले तिमीहरूलाई पृथ्‍वीका कुरा भनें, र पनि तिमीहरू विश्‍वास गर्दैनौ, त तिमीहरूलाई स्‍वर्गका कुरा बताएँ भने कसरी विश्‍वास गर्न सक्‍छौ? स्‍वर्गबाट ओर्लिआउने मानिसको पुत्रबाहेक कोही पनि स्‍वर्गमा उक्‍लेको छैन। जसरी मोशाले उजाड-स्‍थानमा सर्पलाई उचाले, त्‍यसरी नै मानिसको पुत्र उचालिनुपर्छ, र जस-जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यसले अनन्‍त जीवन पाउँछ। “किनभने परमेश्‍वरले संसारलाई यस्‍तो प्रेम गर्नुभयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्‍यसले अनन्‍त जीवन पाओस्‌। किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउन भनी पुत्रलाई संसारमा पठाउनुभएन, तर संसार उहाँद्वारा बाँचोस्‌ भनेर पठाउनुभयो। जसले उहाँमाथि विश्‍वास गर्छ, त्‍यो दोषी ठहरिँदैन, तर विश्‍वास नगर्नेचाहिँ अघि नै दोषी ठहरिएको छ, किनभने उसले परमेश्‍वरका एकमात्र पुत्रको नाउँमा विश्‍वास गरेको छैन। फैसलाचाहिँ यही हो: ज्‍योति संसारमा आएको छ, र मानिसहरूले ज्‍योतिभन्‍दा बरु अन्‍धकारलाई रुचाए, किनकि तिनीहरूका काम दुष्‍ट थिए। किनभने दुष्‍ट काम गर्ने हरेकले ज्‍योतिलाई घृणा गर्छ, र ज्‍योतिमा आउँदैन, नत्रता त्‍यसका काम प्रकट हुनेछन्‌। सत्‍यद्वारा जिउने मानिस ज्‍योतिमा आउँछ, र यसरी उसले गरेका कामहरू परमेश्‍वरमा गरिएका हुन्‌ भन्‍ने प्रस्‍टै देखिन्‍छ।”

शेयर गर्नुहोस्
यूहन्‍ना 3 पढ्नुहोस्

यूहन्‍ना 3:1-21 नेपाली समकालीन संस्करण (NCV)

फरिसी दलका निकोदेमस नाउँ भएका एकजना मानिस थिए, जो यहूदीहरूका सभाका एक सदस्य पनि थिए। तिनी एक राती येशूकहाँ आए, र उहाँलाई भने, “गुरुज्यू, तपाईं परमेश्‍वरबाट आउनुभएको एक शिक्षक हुनुहुन्छ भनी हामी जान्दछौं; किनकि परमेश्‍वर साथमा नभईकन तपाईंले गरिरहनुभएका यी अलौकिक चिन्हहरू कसैले पनि गर्न सक्दैन।” येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, कोही नयाँ गरी जन्मेन भने त्यसले परमेश्‍वरको राज्य देख्न सक्दैन।” निकोदेमसले सोधे, “मानिस बूढो भएपछि फेरि कसरी जन्मन सक्छ? निश्‍चय नै फेरि जन्मनलाई ऊ आफ्नी आमाको गर्भमा दोस्रोचोटि पस्‍न त सक्दैन!” येशूले जवाफ दिनुभयो, “म तिमीलाई साँच्‍चै भन्दछु, पानी र आत्माद्वारा नजन्मेसम्म कोही पनि परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्नेछैन। शरीरले शरीर जन्माउँछ, तर आत्माले आत्मा जन्माउँछ। ‘तिमीहरू नयाँ गरी जन्मनुपर्छ’ भन्‍ने मेरो भनाइमा अचम्म नमान। बतास जता मन लाग्यो त्यतै बहन्छ, तिमीले त्यसको आवाज त सुन्छौ, तर त्यो कहाँबाट आउँछ वा कहाँ जाँदैछ, त्यो भन्‍न सक्दैनौ। आत्माद्वारा जन्मेको हरेक व्यक्‍ति पनि त्यस्तै हुन्छ।” निकोदेमसले सोधे, “यो कसरी हुन सक्छ?” येशूले भन्‍नुभयो, “तिमी इस्राएलका गुरु हौ, र पनि यी कुराहरू तिमी बुझ्दैनौ? म तिमीलाई साँच्‍चै भन्दछु, हामी जे जान्दछौं, त्यो भन्दछौं, र हामीले जे देखेका छौं, त्यसको गवाही दिन्छौं, तर पनि तिमीहरूले हाम्रा गवाही ग्रहण गर्दैनौ। मैले तिमीहरूलाई पृथ्वीका कुराहरू भनेको छु र पनि तिमीहरू विश्‍वास गर्दैनौ, तिमीहरूलाई मैले स्वर्गका कुरा बताएँ भने झन् कसरी विश्‍वास गरौला? स्वर्गबाट ओर्लिआएका मानिसका पुत्र कोही पनि स्वर्गमा गएका छैनन्। जसरी मोशाले उजाडस्थानमा सर्पलाई उचाले, त्यसरी नै मानिसका पुत्र पनि उचालिनैपर्छ, तब उहाँमाथि विश्‍वास गर्ने हरेकले अनन्त जीवन पाउन सक्छ।” किनकि परमेश्‍वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, उहाँले आफ्ना अद्वितीय पुत्रलाई बलिदानको लागि दिनुभयो; उहाँमाथि विश्‍वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस्। किनकि परमेश्‍वरले संसारलाई दोषी ठहराउनका निम्ति आफ्ना पुत्रलाई संसारमा पठाउनुभएको होइन, तर उहाँद्वारा संसारलाई बचाउन पठाउनुभयो। जसले उहाँमाथि विश्‍वास गर्दछ, त्यो दोषी ठहरिँदैन; तर जसले विश्‍वास गर्दैन, त्यो अघिबाटै दोषी ठहरिएको हुन्छ; किनकि उसले परमेश्‍वरका अद्वितीय पुत्रको नाउँमा विश्‍वास गरेको छैन। फैसला यही हो: ज्योति संसारमा आएको छ, तर मानिसहरूले ज्योतिको साटो अन्धकारलाई रुचाए; किनकि तिनीहरूका कामहरू खराब थिए। हरेक जसले दुष्‍ट काम गर्दछ, त्यसले ज्योतिलाई घृणा गर्दछ, र त्यसका कामहरू प्रकट होलान् भन्‍ने डरले त्यो ज्योतिमा आउँदैन। तर जो सत्यतामा जिउँछ, उसले जे गरेको छ, त्यो परमेश्‍वरद्वारा गरिएका हुन् भन्‍ने कुरा स्पष्‍ट देखिन सकियोस् भनी ज्योतिकहाँ आउँछ।

शेयर गर्नुहोस्
यूहन्‍ना 3 पढ्नुहोस्

यूहन्‍ना 3:1-21 पवित्र बाइबल (NERV)

त्यहाँ निकोदेमस नाउँ भएको एकजना मानिस थिए। तिनी फरिसीहरू मध्ये एक अनि यहूदीहरूका अगुवाहरू मध्ये एकजना थिए। एक-रात निकोदेमस येशूकहाँ आए। उनले भने, “रब्बी, हामी जान्दछौ तपाईं परमेश्वरद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ। किनभने परमेश्वरको सहयोग बिना तपाईंले जुन चमत्कारहरू गर्नु हुँदैछ कुनै मानिसले गर्नु सक्तैन।” येशूले उत्तर दिनु भयो, “म तिमीलाई सत्य कुरा भन्छु। मानिस फेरि एकपल्ट जन्मनु पर्छ। यदि मानिस फेरि जन्मेन भने, त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन।” निकोदेमसले भने, “एक मानिस जो बूढो छ, ऊ फेरि कसरी जन्मन सक्छ? के ऊ पुनः आमाको गर्भभित्र दोस्रो पल्ट पस्न सक्छ अनि फेरि जन्मछ?” तर येशूले भन्नुभयो, “म तिमीलाई सत्य कुरा भन्छु। मान्छे पानि र आत्माबाट जन्मनु नै पर्छ। यदि ऊ त्यसरी जन्मेन भने, परमेश्वरको राज्यमा प्रवेश गर्न सक्तैन। मान्छेको शरीर आमा-बाबुबाट जन्मिन्छ। तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ। अचम्म नमान, मैले तिमीलाई भनें, ‘तिमी पुन जन्मिनै पर्छ।’ हावा जता चहान्छ त्यतै बहन्छ। तिमीले हावा बहेको सुन्छौ। तर हावा कहाँबाट आउँदछ र कतातिर गइरेहछ तिमी जान्दैनौ। यसर्थ मान्छे त्यसतै हूँदछ जो आत्माबाट जन्मन्छ।” निकोदेमसले सोधे, “यी सबै कसरी सम्भव हुनसक्छ?” येशूले भन्नुभयो, “तिमी इस्राएलको एक शिकक्ष हौ। तर अझसम्म यी कुराहरू बुझदैनौ? म तिमालाई सत्य कुरा भन्छु। हामी जे जान्दछौ त्यसको विषयमा कुरा गर्नेछौ। हामीले जे देखेका छौ त्यसको साक्षी दिन्छौ। तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ। पृथ्वीमा भएका कुराहरूको विषयमा मैले भनिससुकेकोछु। तर तिमी विश्वास गर्दैनौ। तब तिमीले कसरी विश्वास गर्छौ यदि मैले स्वर्गीय वस्तुहरूको विषयमा कुरा गरे भने? मानिसको पुत्र बाहेका कोही कहिल्यै स्वर्ग गएको छैन। उहाँ नै एक हुनुहुन्छ जो स्वर्गबाट तल आउनु भयो। “मोशाले मरूभुमिमा सर्पलाई उठाउनु भयो। मानिसको पुत्रसँग पनि त्यस्तै छ। मानिसको पुत्र पनि उचालिनु पर्छ। त्यसर्थ उहाँमाथि विश्वास गर्ने प्रत्येकले अनन्त जीवन पाउनेछ।” हो, परमेश्वरले संसारलाई यति साह्रो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्रलाई दिनु भयो। परमेश्वरले आफ्ना पुत्रलाई दिनु भयो त्यस द्वारा उहाँमाथि विश्वास गर्ने कोहीपनि नाश हुने छैन, तर अनन्त जीवन प्राप्त गर्नेछ। परमेश्वरले आफ्ना पुत्रलाई संसारको न्याय गर्नलाई पठाउनु भएको होइन। तर परमेश्वरले आफ्ना पुत्रलाई उहाँबाट संसार बाँचोस् भनेर पठाउनु भएको हो। जसले परमेश्वरको पुत्रमाथि विश्वास गर्दछ त्यो दोषी ठहरिंदैन। तर जसले विश्वास गर्दैन र उसको पहिल्यै न्याय भइसको छ ऊ वहिष्कृत हुन्छ। किनभने त्यस मानिसले परमेश्वरको एकमात्र पुत्रमाथि विश्वास गरेकोछैन। मानिसहरूको न्याय यही आधारमा गरिन्छः संसारमा ज्योति आएकोछ, तर मानिसहरूले ज्योतिको बद्लीमा अन्धकार मन पराए। किनभने तिनीहरूले दुष्ट कामहरू गरिरहेका थिए। प्रत्येक जसले दुष्ट-कामहरू गर्दछ त्यसले ज्योतिलाई घृणा गर्छ। तिनी ज्योति तर्फ आउने छैन। किनभने उसको दुष्ट कामहरू ज्योतिमा देखिनेछ। तर त्यो जसले सत्यको बाटो पहिल्याएर अनि ज्योति तर्फ आउँदछ यसर्थ यो देखाइने छ कि उसको काम परमेश्वर मार्फत गरिएको हो।

शेयर गर्नुहोस्
यूहन्‍ना 3 पढ्नुहोस्

यूहन्‍ना 3:1-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

निकोदेमस नाउँ भएका एक जना मानिस यहूदी महासभाका सदस्‍य थिए। उनीचाहिँ फरिसी थिए। एक रात उनले येशूकहाँ आएर भने, “गुरुज्‍यू, तपाईं परमेश्‍वरबाटै हामीलाई सिकाउन आउनुभएको हो। यो कुरा हामीलाई थाहा भयो। यदि परमेश्‍वरले साथ दिनुभएन भने कसैले पनि तपाईंले गर्नुभएको जस्‍तो शक्तिशाली कामहरू गर्न सक्‍दैन।” येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, नयाँ गरी नजन्‍मिएसम्‍म कसैले पनि परमेश्‍वरको राज्‍य देख्‍न सक्‍दैन।” निकोदेमसले भने, “बुढो भइसकेको मानिस फेरि कसरी जन्‍मिन सक्‍छ? ऊ फेरि आमाबाट जन्‍मिन सक्‍छ र?” येशूले जवाफ दिनुभयो, “साँच्‍चै म तिमीलाई भन्‍छु, पानी र आत्‍माबाट नजन्‍मिएसम्‍म कोही पनि परमेश्‍वरको राज्‍यमा पस्‍न सक्‍दैन। शरीरबाट जन्‍मिएको शरीर हो र आत्‍माबाट जन्‍मिएको आत्‍मा हो। तिमीहरू नयाँ गरी जन्‍मिनुपर्छ भन्‍ने कुरा सुनेर छक्‍क नपर। हावा जता मन लाग्‍यो, त्‍यतै बहन्‍छ। हावाको आवाज त तिमीहरू सुन्‍छौ, तर त्‍यो कहाँबाट आउँछ अनि कहाँ जान्‍छ, तिमीहरूलाई पत्तो हुँदैन। आत्‍माबाट जन्‍मिएको मानिस पनि त्‍यस्‍तै हुन्‍छ।” निकोदेमसले भने, “यस्‍तो कसरी हुन सक्‍छ र?” येशूले भन्‍नुभयो, “तिमी त इस्राएलीहरूका ठूला गुरु हौ र पनि यी कुरा बुझ्‍दैनौ? साँच्‍चै म तिमीलाई भन्‍छु, हामीले जानेका कुराको बारेमा बोल्‍छौं र आफूले देखेका कुरा नै सुनाउँछौं। तर तिमीहरूले चाहिँ हामीले भनेका कुराहरू पत्‍याउँदैनौ। मैले यही संसारमा भएको कुराको बारेमा बोल्‍दा त तिमीहरूले पत्‍याउँदैनौ भने झन् स्‍वर्गको बारेमा बोलें भने त कसरी पत्‍याउन सक्‍छौ र? स्‍वर्गबाट आउने मानव पुत्रबाहेक अरू कोही पनि स्‍वर्गमा गएको छैन। इस्राएलीहरू उजाड-स्थानमा हुँदा मोशाले पितलको सर्प बनाएर काठमा उचालेर राखेजस्‍तै मानव पुत्र पनि उचालिनुपर्छ। यसरी उहाँमाथि विश्‍वास गर्ने सबैले अनन्तजीवन पाउनेछन्।” किनभने परमेश्‍वरले संसारलाई यति धैरै प्रेम गर्नुभयो, उहाँले आफ्‍नो एक मात्र पुत्र पनि दिनुभयो। परमेश्‍वरको पुत्रमाथि विश्‍वास गर्ने कोही पनि नाश हुनेछैनन्, तर तिनीहरूले अनन्त जीवन पाउनेछन्। परमेश्‍वरले त आफ्‍नो एक मात्र पुत्रलाई संसारका मानिसहरूलाई दोषी ठहराउन होइन, तर तिनीहरूलाई बचाउन पठाउनुभएको हो। अब परमेश्‍वरको एक मात्र पुत्रमाथि विश्‍वास गर्ने कोही पनि दोषी ठहरिनेछैन, तर उहाँमाथि विश्‍वास नगर्ने जतिचाहिँ दोषी ठहरिसकेका छन् किनभने तिनीहरूले परमेश्‍वरको एक मात्र पुत्रलाई विश्‍वास गरेका छैनन्। दोष यसरी लाग्‍छ, उज्‍यालोचाहिँ संसारमा आएको छ अनि मानिसहरूका काम दुष्‍ट भएको हुनाले तिनीहरूले उज्‍यालोलाई भन्दा अँध्‍यारोलाई मन पराउँछन् किनभने दुष्‍ट काम गर्ने सबैले उज्‍यालोलाई घृणा गर्छन्। उज्‍यालोमा तिनीहरूले गरेका कामहरू देखिन्‍छन् भन्‍ने डरले तिनीहरू उज्‍यालोमा आउँदैनन्। तर सत्‍य कुरा मान्‍ने मानिसचाहिँ उज्‍यालोमा आउँछ र यसरी उसको काम परमेश्‍वरमा गरिएको हो भन्‍ने कुरा छर्लङ्ग देखिन्‍छ।

शेयर गर्नुहोस्
यूहन्‍ना 3 पढ्नुहोस्