मत्ती 16:5-12 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 16:5-12 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
चेलाहरू पारिपट्टि आइपुग्दा तिनीहरूले रोटी ल्याउन बिर्सेछन्। येशूले तिनीहरूलाई भन्नुभयो, “ध्यान देओ, फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।” तिनीहरूले आपसमा बहस गर्न लागे, “हामीहरूले रोटी ल्याएनौं, र उहाँले यसो भन्नुभएको होला।” येशूले यो थाहा पाएर भन्नुभयो, “ए अल्पविश्वासी हो! तिमीहरूसित रोटी छैन भनेर किन आपसमा बहस गर्छौ? के तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटीको कुरा तिमीहरूलाई अझ याद छैन? तिमीहरूले कति डाला बटुलेका थियौ? अनि चार हजारका निम्ति सात रोटी, र कति डाला तिमीहरूले बटुलेका थियौ? मैले तिमीहरूलाई रोटीको विषयमा भनेको होइनँ भनी तिमीहरू किन बुझ्दैनौ? तर फरिसी र सदुकीहरूको खमिरबाट होशियार रहो।” तब तिनीहरूले बुझे, कि उहाँले रोटीको खमिरबाट होइन तर फरिसी र सदुकीहरूको शिक्षाबाट होशियार रहनू भन्नुभएको रहेछ।
मत्ती 16:5-12 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
उहाँका चेलाहरूले समुद्रपारि आइपुग्दा रोटी ल्याउन बिर्सेछन् अनि येशूले तिनीहरूलाई भन्नुभयो, “होशियार रहो, तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि जोगिएर बस!” अनि चेलाहरूले “हामीहरूले रोटी नल्याएको हुनाले उहाँले यसो भन्नुभएको हो,” भनेर एक-अर्कासँग कुरा गर्न थाले। आफ्ना चेलाहरूले यसरी कुरा गरिरहेका सुनेर येशूले तिनीहरूलाई भन्नुभयो, “खै तिमीहरूको विश्वास? किन तिमीहरूले रोटी ल्याएनौं भनेर आपसमा कुरा गरिरहेका छौ? अझै पनि तिमीहरूले बुझेका छैनौ? पाँच हजार मानिसलाई पाँच वटा रोटीले खुवाउँदा तिमीहरूले कति डाला भरेर उठायौ? के त्यो बिर्स्यौ? अनि सात वटा रोटीले चार हजारलाई खुवाउँदा कति डाला उठायौ? त्यो पनि बिर्स्यौ? कस्तो अझै नबुझेको! मैले तिमीहरूको रोटीको बारेमा कुरा गरेको होइनँ। मैले त तिमीहरूलाई फरिसी र सदुकीहरूको खमिरदेखि पो होशियार रहनू भनेको हुँ!” अनि बल्ल पो चेलाहरूले बुझे, उहाँले रोटी फुलाउने खमिरदेखि जोगिएर बस्न भन्नुभएको होइन रहेछ, तर उहाँले त फरिसी र सदुकीहरूले दिने शिक्षादेखि पो जोगिएर बस्न भन्नुभएको रहेछ।
मत्ती 16:5-12 NERV (पवित्र बाइबल)
येशू र उहाँका चेलाहरू गालील झीलको अर्कोतिर जानुभयो। तर चेलाहरूले आफूसँग रोटी लैजान भुले। येशूले तिनीहरूलाई भन्नुभयो, “आफैंलाई बचाऊ। फरिसीहरू र सदुकीहरूको खमीर चालबाट आफैंलाई जोगाऊ।” चेलाहरूले यो भनाइको विषयमा बहस गर्न थाले तिनीहरूले भने, “मीले आफूसँग रोटी नल्याएको हुनाले उहाँले यसो भन्नुभएको हो भनी बहस गर्न थले?” येशूले चेलाहरूका धारणा बुझ्नुभयो। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “न रोटीको विषयमा तिमीहरू कुरा गर्न लागिरहेछौ? तिमीहरूसित कमजोर विश्वास छ। तिमीहरूले किन अझै नबुझेको? पाँचवटा रोटी जो पाँच हजार मानिसहरूलाई खुवाइए पछि तिमीहरूले कतिवटा टोकरी बटुल्यौ तिमीहरूलाई याद भएन? अनि त्यसरीनै चार हजार मानिसहरूले सातवटा रोटी खाएको कुरा र कति टोकरी तिमीहरूले बटुल्यौ, तिमीहरूलाई थाहा छैन? यसर्थ म रोटीको विषयमा कुरा गरीहरेको होइन भनेर तिमीहरू किन बुझिरहेका छैनौ? म तिमीहरूलाई फरिसीहरू र सदुकीहरूको खमीरको विरूद्ध सावधान हुन भन्दैछु।” तब उहाँले रोटीको खमीर देखि होइन, तर फरिसीहरू र सदुकीहरूको शिक्षा देखि तिनीहरू होशियार बस्नु भन्नु भएको रहेछ भनी तिनीहरूले बुझे।
मत्ती 16:5-12 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब उहाँहरू तालपारि जानुभयो, चेलाहरूले रोटी लैजान बिर्से। “होसियार!” येशूले तिनीहरूलाई चेतावनी दिनुभयो “फरिसीहरू र सदुकीहरूको खमिरदेखि होसियार रहो।” तिनीहरूले आपसमा छलफल गरेर भने, “यो त हामीले रोटी ल्याएनौँ भनेर होला।” तिनीहरूका छलफल थाहा पाएर येशूले सोध्नुभयो, “हे अल्पविश्वासीहरू हो, तिमीहरू रोटी छैन भनेर किन आपसमा कुरा गर्दछौ? तिमीहरू अझै बुझ्दैनौ? पाँच हजारका निम्ति पाँच रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ, त्यो सम्झना गर्दैनौ? अथवा चार हजारका निम्ति सात रोटी थिए, र कति डाला तिमीहरूले बटुल्यौ? मैले रोटीको विषयमा तिमीहरूसित भनिरहेको थिइनँ भनी तिमीहरूले कसरी बुझेनौ? तर तिमीहरू फरिसी र सदुकीहरूको खमिरदेखि होसियार होओ।” तब उहाँले रोटीमा हाल्ने खमिरदेखि होइन, तर फरिसी र सदुकीहरूको शिक्षादेखि होसियार रहनू भन्नुभएको रहेछ भनी तिनीहरूले बुझे।