YouVersion लोगो
खोज आइकन

मत्ती 17:1-9

मत्ती 17:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

यसको छ दिनपछि येशूले पत्रुस, याकूब र तिनका भाइ यूहन्‍नालाई आफूसँग एउटा उच्‍च पहाड़माथि अलग्‍गै लैजानुभयो। तिनीहरूका सामुन्‍ने उहाँको रूप परिवर्तन भयो। उहाँको चेहरा सूर्यझैँ चम्‍क्‍यो, र उहाँका वस्‍त्र प्रकाशझैँ सेता भए। अनि मोशा र एलिया उहाँसँग बातचीत गरिरहेका देखा परे। पत्रुसले येशूलाई भने, “हे प्रभु, हामी यहाँ भएको असल छ। तपाईंको इच्‍छा भए म यहाँ तीन वटा वासस्‍थान बनाउनेछु, एउटा तपाईंको निम्‍ति, एउटा मोशाको निम्‍ति र एउटा एलियाको निम्‍ति।” तिनी बोल्‍दाबोल्‍दै, चम्‍किलो बादलले तिनीहरूलाई ढाकिहाल्‍यो, र त्‍यस बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु, यिनको कुरा सुन।” जब चेलाहरूले यो सुने, तब तिनीहरू अति भयभीत भएर घोप्‍टो परे। तर येशूले आएर तिनीहरूलाई छोएर भन्‍नुभयो, “उठ, नडराओ।” जब तिनीहरूले आफ्‍ना आँखा उचाले, येशूबाहेक तिनीहरूले अरू कसैलाई देखेनन्‌। जब उहाँहरू पहाड़बाट ओर्लंदैहुनुहुन्‍थ्‍यो, येशूले तिनीहरूलाई आज्ञा गर्नुभयो, “जबसम्‍म मानिसको पुत्र मृतकबाट जीवित भई उठ्‌दैन, तबसम्‍म तिमीहरूले यो दर्शनको कुरा कसैलाई नभन्‍नू।”

शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्

मत्ती 17:1-9 नेपाली समकालीन संस्करण (NCV)

छ दिनपछि येशूले आफूसित पत्रुस, याकोब र तिनका भाइ यूहन्‍नालाई अलग्गै एउटा अग्लो पर्वतमा लानुभयो। त्यहाँ तिनीहरूका सामुन्‍ने उहाँको रूप परिवर्तन भयो। उहाँको अनुहार सूर्यझैं चम्क्यो, अनि उहाँको वस्त्र ज्योतिझैं सेता भए। त्यसै बेला तिनीहरूका सामुन्‍ने मोशा र एलिया येशूसित कुरा गरिरहेका देखा परे। पत्रुसले येशूलाई भने, “प्रभु, हामीलाई यहीं रहनु असल छ। यदि तपाईं चाहनुहुन्छ भने म तीनओटा वासस्थान बनाउनेछु; एउटा तपाईंको लागि, एउटा मोशाको लागि अनि एउटा एलियाको लागि।” तिनी बोल्दैगर्दा, एउटा चहकिलो बादलले तिनीहरूलाई ढाक्यो, अनि बादलबाट यसो भन्‍ने आवाज आयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म प्रेम गर्छु: यिनीसित म अति प्रसन्‍न छु। यिनको कुरा सुन!” जब चेलाहरूले यो सुने, तिनीहरू डरले घोप्टो परेर भुइँमा लडे। तर येशूले आएर तिनीहरूलाई छुनुभयो अनि भन्‍नुभयो, “उठ, नडराओ।” जब तिनीहरूले माथि हेरे, तिनीहरूले येशूबाहेक अरू कसैलाई देखेनन्। उहाँहरू जब पर्वतबाट ओर्लँदैहुनुहुन्थ्यो, येशूले यस्तो आदेश दिनुभयो, “मानिसका पुत्र मृत्युबाट जीवित भई नउठेसम्म तिमीहरूले जे देख्यौ, त्यो कसैलाई नभन्‍नू।”

शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्

मत्ती 17:1-9 पवित्र बाइबल (NERV)

त्यसको छ दिनपछि, येशू आफूसँग पत्रुस, याकूब अनि यूहन्ना (याकूबको दाज्यू) लाई लिएर एउटा अग्लो पर्वततिर लाग्नु भयो। तिनीहरू सुनसान ठाउँमा थिए। तिनिहरूको आँखा अघि, येशू परिर्वतन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो। अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो। तब तिनीहरूले दुइजना मानिसहरूलाई येशूसँग बातचीत गरीरहेका देखे। तिनीहरू मोशा र एलिया थिए। पत्रुसले येशूलाई भने, “प्रभु, यो उत्तम हो कि हामी यहाँ छौं। यो उत्तम हो यदि तपाईं इच्छा गर्नुहुन्छ भने म यहाँ तीनवटा आश्रयहरू निर्माण गर्नेछु, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति अनि एउटा चाहिँ एलियाको निम्ति।” जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।” चेलाहरूले त्यो आवाज सुने। तिनीहरू खुबै डराए, अनि तिनीहरू घोप्टो परे। तर येशू आफ्ना चेलाहरूकहाँ आउनुभयो। अनि तिनीहरूलाई छुनु भयो। उहाँले भन्नुभयो, “उठ। तिमीहरू डराउनु पर्दैन।” चेलाहरूले पुलुक्क हेरे, तर कसैलाई देखेनन्। त्यहाँ येशू मात्र हुनुहुन्थ्यो। येशू र उहाँका चेलाहरू पहाडबाट ओर्लंदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घट्नाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नू।”

शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्

मत्ती 17:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

छ दिनपछि येशूले पत्रुस, याकूब र उनका भाइ यूहन्‍नालाई मात्रै साथमा लिएर अग्‍लो पहाडतिर जानुभयो। माथि पुगेपछि चेलाहरूले हेर्दाहेर्दै येशूको रूप फेरियो। उहाँको अनुहार घामजस्‍तै चम्‍किन लाग्‍यो र उहाँका लुगाचाहिँ चहकिलो सेतो भयो अनि एक्‍कासि मोशा र एलिया देखा परे र येशूसँग कुरा गर्न लागे। यो देखेर पत्रुसले येशूलाई भने, “प्रभु, हामी पनि यहाँ भएको कति राम्रो भएछ। तपाईंको इच्‍छा भए म यहाँ तीन वटा छाप्रो बनाउँछु, एउटा तपाईंलाई, एउटा मोशालाई र एउटा एलियालाई!” पत्रुसले यसरी कुरा गर्दागर्दै चहकिलो बादल आयो र त्‍यसको छायाँले उहाँहरूलाई ढाक्‍यो अनि बादलभित्रबाट यस्‍तो आवाज आयो, “यिनी मेरा प्‍यारा पुत्र हुन्, यिनीसँग म धेरै खुसी छु। यिनले भनेको तिमीहरूले मान।” यो आवाज सुनेर चेलाहरू डराएर घोप्‍टो परे। तर येशू आएर तिनीहरूलाई छुँदै भन्‍नुभयो, “उठ, नडराऊ!” अनि तिनीहरूले उठेर हेर्दा त त्‍यहाँ येशू मात्रै हुनुहुन्‍थ्‍यो। पहाडबाट ओरालो झर्दै गर्दा येशूले तिनीहरूलाई भन्‍नुभयो, “हेर, म मानव पुत्र मरेकोबाट नबिउँतिएसम्‍म तिमीहरूले देखेका यो दर्शनको कुरा कसैलाई पनि नभन्‍नू।”

शेयर गर्नुहोस्
मत्ती 17 पढ्नुहोस्