मत्ती 2:1-12

मत्ती 2:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

हेरोद राजाको समयमा यहूदियाको बेथलेहेममा जब येशूको जन्‍म भयो, पूर्वका ज्‍योतिषीहरू यरूशलेममा आइपुगे र तिनीहरूले भने, “यहूदीहरूका राजा भई जन्‍मने कहाँ हुनुहुन्‍छ? किनभने हामीले उहाँको तारा पूर्वमा देख्‍यौं र उहाँलाई दण्‍डवत्‌ गर्न आएका छौं।” जब हेरोद राजाले यो सुने, तिनी बेचैन भए, र तिनीसँग सारा यरूशलेम पनि बेचैन भयो। अनि तिनले सबै मुख्‍य पूजाहारीहरू र जनताका शास्‍त्रीहरूलाई भेला गरे, र “ख्रीष्‍टको जन्‍म कहाँ हुने हो?” भनी सोधपूछ गरे। तिनीहरूले तिनलाई भने, “यहूदियाको बेथलेहेममा। किनभने अगमवक्ताले लेखेका छन्‌: ‘ए बेथलेहेम, यहूदा मुलुकको गाउँ, तँ कुनै किसिमले यहूदाका शासकहरूका बीचमा कुनैभन्‍दा पनि तुच्‍छ छैनस्, किनकि तँबाट एक जना शासक निस्‍किआउनेछन्, जसले मेरा मानिस, इस्राएलको हेरचाह गर्नेछन्‌’।” तब हेरोदले ती ज्‍योतिषीहरूलाई गुप्‍तमा बोलाएर तारा कुन समय देखा परेको हो, सो तिनीहरूबाट पत्ता लगाए। तिनले तिनीहरूलाई यसो भनेर बेथलेहेममा पठाए, “जाओ, र ठीकसँग त्‍यस बालकको खोजी गर। तिनलाई भेट्टाएपछि मलाई खबर गर, र म पनि तिनलाई दण्‍डवत्‌ गर्नेछु।” तब राजाको कुरा सुनेर तिनीहरू आफ्‍ना बाटो लागे। जुन तारा तिनीहरूले पूर्वमा देखेथे, त्‍यो तारा तिनीहरूका अगि-अगि गयो, र बालक भएको ठाउँमा पुगेपछि त्‍यो तारा त्‍यहीँ अड़ियो। जब तिनीहरूले त्‍यो तारा देखे, तब तिनीहरू अति आनन्‍दित भएर रमाए। अनि घरभित्र पसेर तिनीहरूले बालकलाई उहाँकी आमा मरियमको साथमा देखे, र घोप्‍टो परेर उहाँलाई दण्‍डवत्‌ गरे। तब आफ्‍ना कन्‍तुर खोलेर उहाँलाई सुन, सुगन्‍धित धूप र मूर्रका भेटी चढ़ाए। अनि हेरोदकहाँ फर्की नजानू भन्‍ने सपनामा चेताउनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देशमा फर्के।

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्

मत्ती 2:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए। अनि सोधे, “यहूदीहरूका राजा भएर जो जन्मनुभएको छ, उहाँ कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौँ, र हामी उहाँलाई दण्डवत् गर्न आएका छौँ।” त्यस बेला जब राजा हेरोदले यो सुने, तिनी र यरूशलेममा भएका सबै आत्तिए। अनि तिनले सबै मुख्य पुजारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए। अनि ख्रीष्‍टको जन्म कहाँ हुनुपर्ने हो भनी सोधे। तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्: “ ‘तर यहूदा प्रदेशमा भएको, ए बेथलेहेम, तँ कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनस्; किनकि तँबाट एक जना शासक आउनुहुनेछ, जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’” तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्‍क बोलाएर तारा देखा परेको ठिक समय पत्ता लगाए। अनि तिनले तिनीहरूलाई बेथलेहेममा पठाएर यसो भने, “जाओ, र होसियारीसाथ बालकलाई खोज। तिमीहरूले उहाँलाई भेट्टाउनसाथ मलाई भन, र म पनि गएर उहाँलाई दण्डवत् गर्नेछु।” राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे। अनि तिनीहरूले पूर्वमा देखेका त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अगि-अगि लाग्यो। जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए। घरभित्र आइपुगेपछि तिनीहरूले बालकलाई आफ्नी आमा मरियमको साथमा देखे। अनि तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब तिनीहरूले आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए। त्यस रात हेरोदकहाँ नजानू भन्‍ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के।

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्

मत्ती 2:1-12 पवित्र बाइबल (NERV)

यहूदिया भन्ने ठाउँको बेतलेहेम शहरमा येशूको जन्म भएको थियो। हेरोद राजा भएकोबेलामा उहाँको जन्म भएको थियो। जब येशूको जन्म भयो केही ज्योतिषीहरू पूर्वबाट यरूशलेममा आए। ती ज्योतिषीहरूले मानिसहरूलाई यसोभनी सोधे, “यहूदीहरूका राजा भएर जन्मेका उहाँ कहाँ हुनुहुन्छ? हामीले उहाँको तारा पूर्वमा देख्यौ जसले उहाँ जन्मेको सकेत दिएको छ। हामीले पुर्वी आकाशमा तारा उदय हुँदै गरेको देख्यौ। हामी उहाँको आराधना गर्न आएका छौ।” जब राजा हेरोदले यहूदीहरूका यी नयाँ राजाको बारेमा सुने। हेरोद यस घट्नाबाट चिन्तित भए। यसकारण यरूशलेमका सबै बासिन्दाहरूलाई पनि यो समाचारले चिन्तित तुल्यायो। हेरोदले सबै मुख्य यहूदी पूजाहारीहरू र जनताका शास्त्रीहरूको एउटा सभा बोलाए। उनले तिनीहरूलाई सोधे, “ख्रीष्टको जन्म कहाँ हुनेहो?” तिनीहरूले जवाफ दिए, “यहूदियाको बेतलेहेम शहरमा, अगमवक्तद्वारा यस विषयमा लेखिएको छ: ‘ए बेतलेहेम, यहूदाको मुलुक, तँ यहूदाका शासकहरूका माझ महान छस्। हो, तँबाट एकजना शासक आउनेछन्, जो मेरो मानिस, इस्राएलको रखवाल गर्नेछन्।’” त्यसपछि हेरेदले पूर्वका ती ज्योतिषीहरूलाई गुप्तमा बोलाए। हेरोदले तिनीहरूबाट पहिलो पल्ट तारा देखा परेको समय ठिकसँग पत्ता लगाए। त्यसपछि हेरोदले ती ज्योतिषीहरूलाई बेतलेहेममा पठाए। हेरोदले तिनीहरूलाई भने “जाऊ र बालकको बारेमा ठीकसँग पत्ता लगाओ। जब त्यो बालकलाई भेट्टाउनेछौ, तब मलाई खबर गर, र म पनि गएर तिनको आराधना गर्नेछु।” राजाका सबै कुरा सुने र ज्योतिषीहरू गए। जुन-तारा तिनीहरूले पुर्वमा देखेका थिए, फेरि त्यही तारा तिनीहरूले देखे। ज्योतिषीहरूले तारालाई पछ्याउन थाले। त्यो तारा सानो बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूको अघि-अघि गयो र त्यही अडियो। तारा देखेर ज्योतिषीहरू अत्यन्तै खुशी भए। तिनीहरू बालक भएको घरभित्र गए। त्यहाँ सानो बालकलाई आफ्नो आमा मरियमसँग देखे। तिनीहरूले शिर झुकाएर बालकलाई दण्डवत र आराधना गरे। बालकलाई ल्याइदिएका उपहारहरू तिनीहरूले खोले र उनलाई सुन, धूप र मूर्रका भेटी चढ़ाए। तर परमेश्वरले तिनीहरूलाई सपनामा चेताउनी दिनुभयो। परमेश्वरले तिनीहरूलाई “हेरोदकहाँ फर्केर नजाऊ” भनी चेताउनी दिनुभयो। त्यसपछि तिनीहरू अर्कै बाटो भएर आफ्ना निजदेशमा फर्किए।

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्

मत्ती 2:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशू यहूदियाको बेथलेहेम भन्‍ने गाँउमा जन्‍मिनुभएको थियो। त्‍यस समयमा हेरोद त्‍यहाँका राजा भएका थिए। येशू जन्‍मिनुभएपछि पूर्वबाट ज्‍योतिषीहरू उहाँलाई खोज्‍दै यरूशलेममा आए। तिनीहरूले मानिसहरूलाई सोधे, “भर्खरै जन्‍मिनुभएका इस्राएलीहरूका राजा कहाँ हुनुहुन्‍छ? हामीले उहाँको जन्‍म भएको कुरा थाहा दिने तारालाई पूर्वमा देख्‍यौं र उहाँको दर्शन गर्न आएका हौं।” यो कुरा सुनेर हेरोद राजा आत्तिए र यरूशलेमका मानिसहरूमा ठूलो हलचल मच्‍चियो। अनि हेरोद राजाले मुख्‍य पूजाहारी र धर्म-गुरुहरूलाई बोलाएर सोधे, “मुक्ति दिने राजा ख्रीष्‍टको जन्‍म कहाँ हुनेछ?” तिनीहरूले भने, “यहूदियाको बेथलेहेम गाँउमा किनभने धर्मशास्‍त्रमा अगमवक्ताले यस बारेमा यसरी लेखेका छन्– ‘ए यहूदियाको बेथलेहेम, तँ यहूदियाका सहरहरूका बीचमा कुनै किसिमले पनि सानो छैनस् किनभने तँबाट ठूला राजा निस्‍केर आउनेछन् र उनले नै गोठालाले जस्‍तै मेरो प्रजा इस्राएलको हेरचाह गर्नेछन्।” यो सुनेर हेरोदले ती पूर्वबाट आएका ज्‍योतिषीहरूलाई छुट्टै लगेर सोधपुछ गरे र तारा देखा परेको ठीक समय पत्ता लगाए। त्‍यसपछि उनले तिनीहरूलाई बेथलेहेमतिर पठाउँदै भने, “तपाईंहरूले गएर बालकको बारेमा सबै कुरा ठीकसँग पत्ता लगाएर मलाई खबर गर्नुहोस् र म पनि गएर उहाँको दर्शन गर्नेछु।” हेरोद राजाले भनेको मानेर ती ज्‍योतिषीहरू बेथलेहेमतिर लागे। बाटोमा जाँदा तिनीहरूले पूर्वमा देखेको त्‍यही तारालाई फेरि देखे। त्‍यो तारा तिनीहरूको अघि-अघि लाग्‍यो र बालक भएको ठाउँको सोझै माथि पुगेर टक्‍क अडियो। यो देखेर तिनीहरू खुसीले गदगद भए। त्‍यस घरमा पुगेपछि तिनीहरू भित्र पसे र बालकलाई आमा मरियमको साथमा देखे। अनि तिनीहरूले उहाँको पाउमा परी दर्शन गरे र आ-आफ्‍ना पोकाबाट सुन, धूप र धेरै दामी अत्तर निकालेर चढाए। पछिबाट तिनीहरूले सपनामा ‘हेरोदकहाँ फर्केर नजानू’ भन्‍ने परमेश्‍वरको आज्ञा पाए र तिनीहरू अर्कै बाटो भएर आफ्‍नो देश फर्के।

शेयर गर्नुहोस्
मत्ती 2 पढ्नुहोस्