मत्ती 22:34-40 - सबै संस्करणहरू तुलना गर्नुहोस्
मत्ती 22:34-40 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले सदुकीहरूलाई चूप पार्नुभयो भन्ने सुनेर फरिसीहरू उहाँकहाँ भेला भए। तिनीहरूमध्ये एक जना व्यवस्थाका अध्यापकले उहाँको परीक्षा गर्ने विचारले उहाँलाई सोधे, “गुरुज्यू, व्यवस्थामा महान् आज्ञा कुन हो?” उहाँले तिनलाई भन्नुभयो, “तैंले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, र आफ्नो सारा प्राणले, र आफ्नो सारा समझले प्रेम गर्नू। महान् र प्रथम आज्ञा यही हो। दोस्रो पनि त्यस्तै छ, तैंले आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नू। सारा व्यवस्था र अगमवक्ताहरूका शिक्षाको आधार नै यी दुई आज्ञाहरू हुन्।”
मत्ती 22:34-40 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने कुरा सुनेर फरिसीहरू एक गुट बाँधेर येशूकहाँ आए। तिनीहरूमध्ये एक जना धर्म-गुरुले येशूलाई फसाउने विचारले सोधे, “हे गुरु, व्यवस्थाको सबैभन्दा ठूलो आज्ञाचाहिँ कुन हो?” येशूले जवाफ दिनुभयो, “तैँले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो पूरा हृदय, पूरा प्राण र पूरा मनले प्रेम गर। सबैभन्दा मुख्य र ठूलो आज्ञा यही हो। अनि यस्तै अर्को मुख्य र ठूलो आज्ञाचाहिँ, ‘आफ्नो छिमेकीलाई आफैंलाई जस्तै प्रेम गर।’ मोशाका सबै व्यवस्था र अगमवक्ताका शिक्षाहरूको आधार यी दुई आज्ञा हुन्।”
मत्ती 22:34-40 NERV (पवित्र बाइबल)
येशूले सदुकीहरूदलाई यसरी जवाफ दिएर तिनीहरूलाई चुप बनाई दिनू भएको सुनेर फरिसीहरू जम्मा भए। एकजना फरिसी मोशाको व्यवस्था प्रति निकै ज्ञान भएको थियो। त्यो फरिसीले येशूलाई परीक्षा गर्ने इच्छा गर्यो। त्यस फरिसीले येशूलाई सोध्यो, “गुरूज्यू, व्यवस्थामा सबैभन्दा ठूलो आज्ञा कुन हो?” येशूले जवाफ दिनुभयो, “‘तिमीले आफ्ना परमप्रभु परमेश्वरलाई प्रेम गर्नुपर्छ। आफ्नो सम्पूर्ण हृदयदेखि, सम्पूर्ण आत्मादेखि र सम्पूर्ण मनदेखि प्रेम गर्नुपर्छ।’ यहीनै पहिलो र सबै भन्दा महान आज्ञा हो। दोस्रो आज्ञा पहिलो जस्तै छ ‘आफूलाई जस्तै अरू मानिसलाई पनि प्रेम गर्नु।’ अगमवक्ताहरूका सबै व्यवस्था र रचनाहरू यिनै दुइ आज्ञाहरूमा आधारित छन्।”
मत्ती 22:34-40 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
येशूले सदुकीहरूलाई चुप पार्नुभयो भन्ने सुनेर फरिसीहरू एकसाथ भेला भए। तीमध्ये एक जना व्यवस्थाका विशेषज्ञले यो प्रश्न गरेर उहाँलाई जाँच गरे: “हे गुरु, व्यवस्थामा सबैभन्दा महान् आज्ञा कुनचाहिँ हो?” येशूले जवाफ दिनुभयो: “ ‘परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, र सम्पूर्ण मनले प्रेम गर।’ यही नै पहिलो र सबैभन्दा महान् आज्ञा हो। अनि दोस्रो पनि उत्तिकै महत्त्वपूर्ण छ: ‘तिमीहरूले आफ्ना छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’ सबै व्यवस्था र अगमवक्ताहरू यी दुई आज्ञाहरूमा नै आधारित छन्।”