YouVersion लोगो
खोज आइकन

मत्ती 8:1-17

मत्ती 8:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँ डाँड़ाबाट ओर्लनुभएपछि ठूलो भीड उहाँको पछि लाग्‍यो। एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्‍यो, “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ।” उहाँले आफ्‍नो हात पसारेर त्‍यसलाई छुनुभयो, र भन्‍नुभयो, “म इच्‍छा गर्छु, तिमी निको भइजाऊ।” तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग निको भइगयो। तब येशूले त्‍यसलाई भन्‍नुभयो, “कसैलाई नभन्‍नू। तर जाऊ, र आफूलाई पूजाहारीकहाँ देखाऊ, र मोशाले आज्ञा गरेको भेटी चढ़ाऊ, र मानिसहरूलाई प्रमाण होस्‌।” येशू कफर्नहुममा पस्‍नुहुँदा एक जना कप्‍तान उहाँकहाँ आएर बिन्‍ती गर्न लागे। तिनले भने, “हे प्रभु, मेरो नोकर पक्षाघातले साह्रै दुःख पाएर घरमा ओछ्यान परेको छ।” उहाँले तिनलाई भन्‍नुभयो, “म आएर त्‍यसलाई निको पार्नेछु।” तर कप्‍तानले भने, “हे प्रभु, तपाईंलाई मेरो घरमा स्‍वागत गर्ने योग्‍यको म छैनँ। तर वचन मात्र बोलिदिनुहोस्, र मेरो नोकर निको हुनेछ। किनकि म पनि अधिकारीहरूका अधीनमा छु, अनि मेरो अधीनमा सिपाहीहरू छन्‌। म एक जनालाई ‘जा’ भन्‍छु, अनि त्‍यो जान्‍छ, र अर्कालाई ‘आइज’ भन्‍छु, अनि त्‍यो आउँछ। मेरो कमारालाई ‘यसो गर्’ भन्‍छु, अनि त्‍यसले त्‍यो गर्छ।” तिनको कुरा सुनेर येशूले आश्‍चर्य मान्‍नुभयो, र उहाँको पछि आउनेहरूलाई भन्‍नुभयो, “साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, इस्राएलमा पनि यति ठूलो विश्‍वास मैले भेट्टाएको छैनँ। म तिमीहरूलाई भन्‍दछु, पूर्व र पश्‍चिमबाट धेरै जना आउनेछन्, र अब्राहाम, इसहाक र याकूबसँग स्‍वर्गका राज्‍यको भोजमा बस्‍नेछन्‌। तर राज्‍यका सन्‍तान बाहिरी अन्‍धकारमा फालिनेछन्‌। त्‍यहाँ मानिसहरू रुनेछन्‌ र दाह्रा किट्‌नेछन्‌।” तब येशूले कप्‍तानलाई भन्‍नुभयो, “जाऊ, जस्‍तो तिमीले विश्‍वास गरेका छौ, त्‍यस्‍तै तिमीलाई होस्‌।” अनि त्‍यो नोकर त्‍यही घड़ी निको भयो। पत्रुसको घरमा आउनुभएपछि येशूले तिनकी सासूलाई जरोले थलिएर पस्रिएकी देख्‍नुभयो। उहाँले तिनको हात छुनुभयो, र जरोले तिनलाई छोड़्यो। अनि तिनी उठिन्, र उहाँको सेवा गरिन्‌। जब साँझ पर्‍यो, तब तिनीहरूले उहाँकहाँ भूत लागेका धेरै जनालाई ल्‍याए। र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्‍नुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो। यशैया अगमवक्ताले बोलेको अगमवाणी पूरा हुनलाई यो भएको थियो, “उहाँ आफैले हाम्रा दुर्बलताहरू लिनुभयो, र हाम्रा रोगहरू उठाइलानुभयो।”

शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्

मत्ती 8:1-17 पवित्र बाइबल (NERV)

येशू डाँडाबाट ओर्लनुभयो। असंख्य मानिसहरूले उहाँलाई पछ्याए। त्यसैबेला एउटा कुष्टरोगी उहाँ छेउ आइपुग्यो। येशूको अघि आफ्नो शिर निहुर्याएर त्यसले भन्यो, “हे प्रभु, तपाईंको इच्छा भए मलाई शुद्ध गर्नसक्नुहुन्छ।” येशूले त्यो मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई शुद्ध गर्न चाहन्छु। तिमी जाती भइजाऊ।” अनि तुरून्तै उसको कुष्ट रोग निको भइहाल्यो। तब येशूले त्यस मानिसलाई भन्नुभयो, “हेर यसबारे तिमीले कसैलाई नभन्नू। तर आफैं जाऊ अनि पूजाहारीलाई देखाऊ र प्रमाणको लागि मोशाको आज्ञानूसार, तिनीहरूका समक्ष भेटी चढाऊ। जसले गर्दा मानिसहरूले तिमीलाई निको भएको देख्न सक्ने छन्।” येशू कफर्नहुममा पुग्नुभयो। जब उहाँले शहरमा प्रवेश गर्नुभयो, एकजना सेनाका अधिकारी उहाँकहाँ आए अनि उहाँको सहयोगको निम्ति विन्ती गरे। अधिकारीले भने, “हे प्रभु! मेरो नोकर पक्षघातले थलिएर मेरो घरको पलङ्गमा लडिरहेको छ। उसले आफ्नो शरीर चलाउनसम्म सकेको छैन अनि उग्र व्यथाले पीडित छ।” येशूले ती अधिकारीलाई भन्नुभयो, “म त्यहाँ जानेछु अनि तिनलाई निको पारिदिनेछु।” अधिकारीले जवाफ दिए, “हे प्रभु! तपाईं मेरो घरमा पस्नु हुने त्यति योग्यको म छैन। तर तपाईंले एक वचन भनिदिनुहोस् र मेरो नोकर निको भइहालोस्। म कसैको अधीनमा छु। अनि मेरो अधिनमा अरू सैनिकरू छन्। यदि मैले कुनै एकजना सिपाहीलाई भनें, ‘जाऊ’ भन्दा उ जान्छ। अनि अर्को एक सिपाहीलाई मैले आउ भन्दा ऊ आँउछ। यदि मैले मेरो नोकरलाई भनें, ‘यो गर’ अनि उसले त्यो गर्छ। मलाई थाहा छ तपाईंसँग पनि यस्तो शक्ति छ।” जब येशूले यी सबै कुराहरू भनेको सुन्नुभयो, उहाँ आश्चर्यचकित हुनुभयो। उहाँले आफ्नो साथमा भएका ती सबै मानिसहरूलाई भन्नुभयो, “म तिमीहरूलाई साँच्चो भन्दछु, इस्राएलमा पनि मैले कुनै मानिस यस्तो दृढ विश्वासी पाइनँ। धेरै मानिसहरू पूर्व र पश्चिमबाट आई पुग्ने छन् अनि तिनीहरू स्वर्गको राज्यमा अब्राहाम, इसाहाक र याकूबसँग भोजन गर्नका निम्ति मेचमा बस्नेछन्। तर राज्यमा मार्ग पाउनु पर्ने मानिसहरू चाहिं तिनीहरू अन्धकार भित्र फालिनेछन्। अनि त्यो ठाउँमा मानिसहरू पीडाले रूवाबासी र दाह्रा किट्ने छन्।” तब येशूले त्यस अधिकारीलाई भन्नुभयो, “तिम्रो घरमा जाऊ। तिमीले विश्वास गरे जस्तै तिम्रो नोकर निको भइसकेको हुनेछ।” अनि ठीक त्यसैबला उसको नोकर निको भयो। येशू पत्रुसको घरमा जानुभयो। त्यहाँ येशूले उसकी सासूलाई कड़ा ज्वरोले थलिएर पलङ्गमा लडिरहेको पाउनु भयो। तब येशूले तिनको हात छुनुभयो तिनी निको भइन्। अनि तिनी उठिन् र उहाँको सुसार गरिन्। त्यसै साँझ मानिसहरूले भूत लागेका धेरै जनालाई लिएर येशूकहाँ आए। येशूले भूतहरूलाई खेदनु भयो। जो-जो बिमारी परेका थिए ती सबै ठीक भए। यशैया अगमवक्ताले भनेका सबै कुरा येशूले पूरा गर्नुभयो

शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्

मत्ती 8:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

जब येशू डाँडाबाट ओर्लेर आउनुभयो, तब एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। कुष्‍ठरोग लागेको एउटा मानिस आएर उहाँको अगि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्दछु, तिमी शुद्ध होइजाऊ!” अनि तुरुन्तै त्यो आफ्नो कुष्‍ठरोगबाट निको भइहाल्यो। तब येशूले त्यसलाई भन्‍नुभयो, “यो कुरा कसैलाई नभन्‍नू, तर जाऊ, आफैँलाई पुजारीकहाँ देखाऊ। अनि तिनीहरूलाई साक्षीका लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।” जब येशू कफर्नहुममा आउनुभयो, तब एक जना सेनापतिले उहाँकहाँ आएर सहायता मागे। तिनले भने, “हे प्रभु, मेरो सेवक घरमा पक्षघातको रोगले धेरै कष्‍ट पाइरहेको छ।” येशूले तिनलाई भन्‍नुभयो, “म आउनेछु र त्यसलाई निको पार्नेछु।” तब सेनापतिले जवाफ दिए, “हे प्रभु, तपाईं मेरो छानामुनि आउनुहुने योग्यको म छैनँ; तर वचन मात्र बोलिदिनुहोस्, र मेरो सेवक निको हुनेछ। किनकि म आफैँ पनि अधिकारमुनि रहने मानिस हुँ। अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु, र त्यो जान्छ; अनि अर्कोलाई ‘आइज’ भन्छु, र त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्’ भन्छु, र त्यसले त्यो गर्छ।” यो सुनेर येशू आश्‍चर्यचकित हुनुभयो, र आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँचो भन्दछु, मैले इस्राएलीहरू कसैमा पनि यति ठूलो विश्‍वास पाएको छैनँ। म तिमीहरूलाई भन्दछु, धेरै जना पूर्व र पश्‍चिमबाट आउनेछन्। अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकोबसित भोजमा बस्‍नेछन्। तर परमेश्‍वरको राज्यमा हुनुपर्ने सन्तानचाहिँ बाहिरको अन्धकारमा फालिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।” तब येशूले त्यस सेनापतिलाई भन्‍नुभयो, “जाऊ! तिमीले जस्तो हुनेछ भनी विश्‍वास गरेका थियौ, त्यस्तै हुनेछ।” अनि तिनको सेवक त्यसै बेला निको भइहाल्यो। जब येशू पत्रुसको घरमा आउनुभयो, तब उहाँले पत्रुसकी सासू ज्वरोले थलिएर ओछ्यानमा पस्रिएकी देख्नुभयो। उहाँले तिनको हात छुनुभयो, र ज्वरोले तिनलाई छोडिहाल्यो; अनि उठेर तिनले उहाँको सेवा गरिन्। जब साँझ पर्‍यो, दुष्‍ट आत्मा लागेका धेरैजनालाई उहाँकहाँ ल्याइयो; अनि उहाँले वचनद्वारा ती आत्माहरूलाई धपाइदिनुभयो, र सबै रोगीहरूलाई निको पार्नुभयो। यसरी यशैया अगमवक्ताद्वारा भनिएको कुरा पूरा भयो: “उहाँले हाम्रा कमजोरीहरू लिनुभयो, अनि हाम्रा रोगहरू उठाइलानुभयो।”

शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्

मत्ती 8:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशू डाँडाबाट तल झर्नुहुँदा मानिसको ठूलो धुइरोले उहाँलाई पछ्यायो। त्‍यसै बेला एक जना कुष्ठरोग लागेको मानिस आएर उहाँको पाउमा पर्दै भन्‍यो, “गुरुज्‍यू, तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्‍नुहुन्‍छ।” येशूले उसमाथि हात राखेर भन्‍नुभयो, “तिमी शुद्ध होऊ भन्‍ने म चाहन्‍छु।” तुरुन्‍तै त्‍यो कुष्ठरोग लागेको मानिस शुद्ध भइहाल्‍यो। येशूले उसलाई भन्‍नुभयो, “हेर, यो कुरा कसैलाई नभन्‍नू। तर पूजाहारीकहाँ गएर आफ्‍नो जाँच गराऊ अनि मोशाले अह्राएजस्‍तो भेटी चढाएर सबैलाई तिमी शुद्ध भएको प्रमाण देऊ।” येशू कफर्नहुम सहरमा आउनुहुँदा एक जना रोमी कप्‍तान आएर उहाँसँग बिन्‍ती गरे, “हजुर, मेरो नोकर पक्षघात रोगले घरमा थलिएको छ।” येशूले उनलाई भन्‍नुभयो, “म आएर उसलाई निको पार्नेछु।” कप्‍तानले भने, “हजुरलाई आफ्‍नो घरभित्र लैजाने लायकको म छैनँ। हजुरले आज्ञा मात्र दिनुहोस् र मेरो नोकर निको भइहाल्‍नेछ। म आफैं पनि ठूला हाकिमहरूको अधीनमा रहेको छु। मेरो अधीनमा पनि सिपाहीहरू छन्। एउटालाई ‘जा’ भन्‍छु, त्‍यो जान्‍छ, अर्कोलाई ‘आइज’ भन्‍छु, त्‍यो आउँछ अनि आफ्‍नो नोकरलाई पनि ‘यसो गर्‌’ भन्‍छु, त्‍यसले गरिहाल्‍छ।” यो कुरा सुनेर येशू छक्‍क पर्नुभयो अनि आफ्‍ना पछि लागेका मानिसहरूलाई भन्‍नुभयो, “हेर, यति ठूलो विश्‍वास गर्ने मानिस त मैले इस्राएलीहरूको बीचमा पनि भेटेको छैनँ। साँच्‍चै म तिमीहरूलाई भन्‍छु, पूर्व र पश्‍चिमबाट अरू जातिका धेरै मानिसहरू परमेश्‍वरको राज्‍यमा आउनेछन् र अब्राहाम, इसहाक र याकूबसँगै खान बस्‍नेछन्। तर परमेश्‍वरको राज्‍यमा हुनुपर्ने इस्राएलीहरूचाहिँ बाहिर अन्‍धकारमा फ्‍याँकिनेछन् र त्‍यहाँ तिनीहरू दाह्रा किट्दै रुवाबासी गरिरहनेछन्।” त्‍यसपछि येशूले कप्‍तानलाई भन्‍नुभयो, “हुन्‍छ, अब तिमी जाऊ, तिमीले विश्‍वास गरेजस्‍तै हुनेछ।” त्‍यति नै खेर कप्‍तानको नोकर निको भयो। येशू पत्रुसको घरमा जानुभयो। त्‍यहाँ उहाँले पत्रुसकी सासूलाई ज्‍वरोले थलिएर सुतिरहेकी भेट्टाउनुभयो। येशूले तिनको हात छोइदिनुभयो र तिनलाई ज्‍वरोले छोडिहाल्‍यो अनि तिनी उठेर उहाँको सेवा सत्‍कार गर्न लागिन्। साँझ परेपछि मानिसहरूले भूत लागेका धेरै बिरामीहरूलाई येशूकहाँ ल्‍याए। येशूले आफ्‍नो बोलीले नै भूतहरूलाई निकाल्‍नुभयो र सबै बिरामीहरूलाई निको पार्नुभयो। यसरी यशैया अगमवक्ताले भनेको यो कुरा पूरा हुन आएको हो– “उहाँले हाम्रा रोग र कमजोरीहरू लिएर आफैंले बोक्‍नुभयो।”

शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्