मत्ती 8:23-27
मत्ती 8:23-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ डुङ्गामा चढ्नुभएपछि उहाँका चेलाहरू उहाँको पछि लागे। अकस्मात् तालमा ठूलो आँधी आयो, र छालले डुङ्गालाई ढाक्न लाग्यो। येशू निदाइरहनुभएको थियो। चेलाहरू आएर यसो भन्दै उहाँलाई बिउँझाए, “बचाउनुहोस् प्रभु! हामीहरू नष्ट हुन लाग्यौं।” येशूले तिनीहरूलाई भन्नुभयो, “अल्पविश्वासी मानिस हो, तिमीहरू किन डराउँछौ?” तब उठेर उहाँले बतास र समुद्रलाई हकार्नुभयो, र आँधी बिलकुल शान्त भयो। “यिनी त कस्ता मानिस हुन्, किनभने बतास र समुद्रले पनि यिनका आज्ञा मान्दारहेछन्” भनी ती मानिसहरू छक्क परे।
मत्ती 8:23-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब उहाँ डुङ्गामा चढ्नुभयो र उहाँका चेलाहरूले उहाँलाई पछ्याए। अचानक तालमा डरलाग्दो आँधीबेहरी चल्यो। अनि त्यसका छालहरूले डुङ्गालाई ढाक्यो; तर येशू निदाइरहनुभएको थियो। चेलाहरूले गएर यसो भन्दै उहाँलाई उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्! हामी डुब्न लागेका छौँ!” अनि उहाँले जवाफ दिनुभयो, “हे अल्पविश्वासी हो, तिमीहरू किन डराउँछौ?” तब उहाँ उठ्नुभयो, र बतास र छालहरूलाई हकार्नुभयो, र बतास पूर्ण रूपले थामियो। ती मानिसहरू छक्क परेर भने, “यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरू समेतले यिनको आज्ञा मान्दा रहेछन्।”
मत्ती 8:23-27 पवित्र बाइबल (NERV)
येशू एउटा डुङ्गामा चढनुभयो र उहाँको चेलाहरू पनि उहाँको पछि लागे। जब डुङ्गाले किनार छाड्यो, त्यसैबेला झीलमा अचानक एक भयङ्कर आँघी चल्न थाल्यो। छालहरूले डुङ्गालाई ढाक्न लाग्यो। तर येशू सुतिरहनु भएको थियो। चेलाहरू गए र उहाँलाई ब्यूँझाए र भने, “हे प्रभु, हामीलाई बँचाउनुहोस् हामी डुब्न लागिरहेछौं।” येशूले भन्नुभयो, “तिमीहरू किन डराउँछौ? तिमीहरू सित त्यत्ति विश्वास छैन?” तब येशू उठ्नुभयो अनि आँधी र छालहरूलाई आज्ञा गर्नु भयो। आँधी थामियो, अनि झीलमा पूरा शान्ति छायो। सबै मानिसहरू छक्क परे। तिनीहरू भन्नलागे, “उहाँ कस्तो मानिस हुनुहुन्छ? किनभने हावा र बतासले पनि उहाँको आज्ञा मान्दो रहेछन्।”
मत्ती 8:23-27 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
येशू नाउमा चढ्नुभयो र चेलाहरू पनि उहाँसँगै गए। अचानक तालमा डरलाग्दो आँधीबेहरी चल्यो। पानीको छाल उठेर नाउलाई नै डुबाउन लाग्यो। तर येशू भने मस्तसँग निदाउनुभएको थियो। अनि चेलाहरूले येशूको छेउमा गएर उहाँलाई उठाउँदै भने, “गुरुज्यू, हामीलाई बचाउनुहोस्, हामी त मर्न लाग्यौं।” येशूले भन्नुभयो, “तिमीहरू किन यसरी आत्तिएका? खै तिमीहरूको विश्वास?” यति भनेर उहाँ उठ्नुभयो अनि आँधीबेहरी र छालहरूलाई हप्काउनुभयो। उहाँले हप्काउनेबित्तिकै आँधीबेहरी थामियो र सबै एकदमै शान्त भइहाल्यो। यस्तो भएको देखेर सबैले छक्क परेर भन्न लागे, “यी त कस्ता मानिस रहेछन्, यिनले भनेको त आँधीबेहरी र छालले समेत मान्दा रहेछन्।”