YouVersion लोगो
खोज आइकन

मर्कूस 2:1-12

मर्कूस 2:1-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

केही दिनपछि उहाँ कफर्नहुम फर्कनुभयो, अनि मानिसहरूले उहाँ घरमा हुनुहुन्‍छ भन्‍ने सुने। अनि यति धेरै मानिसहरू जम्‍मा भए कि तिनीहरू त्‍यहाँ अटाएनन्, यहाँसम्‍म कि ढोकाको बाहिर पनि ठाउँ भएन, र उहाँले तिनीहरूलाई परमेश्‍वरको वचन प्रचार गर्दैहुनुहुन्‍थ्‍यो। अनि चार जनाले बोकेको एक जना पक्षाघातीलाई लिएर मानिसहरू उहाँकहाँ आए। भीड़को कारणले येशूको नजिक त्‍यस मानिसलाई पुर्‍याउन नसक्‍दा तिनीहरूले उहाँ हुनुभएको ठाउँको माथिको छाना खोले, र उघारिएको ठाउँबाट पक्षाघातीलाई त्‍यो सुतेको खाटसमेत तल ओह्रालिदिए। येशूले तिनीहरूको विश्‍वास देखेर त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भए।” तर त्‍यहाँ केही शास्‍त्रीहरू बसिरहेका थिए, र आफ्‍ना मनमा यसो भनेर विचार गरिरहेका थिए, “यस मानिसले किन यसरी बोल्‍दछ? यो त ईश्‍वर-निन्‍दा हो। केवल एक, अर्थात्‌ परमेश्‍वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्‍छ?” अनि तिनीहरू आपसमा यसरी विचार गर्दैछन्‌ भन्‍ने येशूले तुरुन्‍तै आफ्‍नो आत्‍मामा थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “किन तिमीहरू आफ्‍ना मनमा यस्‍तो विचार गर्दैछौ? पक्षाघातीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्‍नु, कि ‘उठ, तिम्रो खाट उठाएर हिँड़’ भन्‍नु, कुनचाहिँ सजिलो छ? तर मानिसको पुत्रलाई पृथ्‍वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान।” तब उहाँले त्‍यस पक्षाघातीलाई भन्‍नुभयो, “म तिमीलाई भन्‍दछु, उठ, तिम्रो खाट उठाऊ, र घर जाऊ।” त्‍यो उठ्यो, र तुरुन्‍तै खाट उठाएर सबैका सामुन्‍नेबाट गइहाल्‍यो। यहाँसम्‍म कि, सबै जना आश्‍चर्य-चकित भए, र “हामीले यस्‍तो त कहिल्‍यै देखेका छैनौं” भन्‍दै तिनीहरूले परमेश्‍वरको महिमा गरे।

शेयर गर्नुहोस्
मर्कूस 2 पढ्नुहोस्

मर्कूस 2:1-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

केही दिनपछि जब येशू फेरि कफर्नहुममा आउनुभयो, तब मानिसहरूले उहाँ घरमा हुनुहुन्छ भन्‍ने सुने। त्यहाँ यति धेरै मानिसहरू जम्मा भए कि, ढोकाबाहिर पनि कुनै ठाउँ रहेन; अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको वचन प्रचार गरिरहनुभएको थियो। त्यत्ति नै खेर चार जना मानिसहरूले एउटा पक्षघातीलाई बोकेर उहाँकहाँ ल्याए। तर भीडको कारणले गर्दा येशूसम्म पुर्‍याउन सकेनन्, तब तिनीहरूले येशूको ठिक मास्तिरको छानो भत्काए, र त्यो पस्रिरहेको पक्षघातीलाई ओछ्यानसहित तल ओराले। जब येशूले तिनीहरूको विश्‍वास देख्नुभयो, उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “हे छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।” यतिखेर व्यवस्थाका शिक्षकहरूमध्ये केही त्यहाँ बसिरहेका थिए, र आ-आफैँमा विचार गर्दैथिए, “यी मानिसले किन यसरी कुरा गर्छन्? यिनले त ईश्‍वरनिन्दा गरिरहेका छन्! परमेश्‍वरबाहेक कसले पाप क्षमा गर्न सक्छ?” तिनीहरूले आफ्ना हृदयमा यो कुरा सोच्दैछन् भन्‍ने येशूले तुरुन्तै आफ्नो आत्मामा थाहा पाउनुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यस्ता कुराहरू विचार गर्दैछौ? यस पक्षघातीलाई के भन्‍नु सजिलो छ: ‘तिम्रो पाप क्षमा भयो’ भन्‍नु वा ‘उठ, र आफ्नो ओछ्यान बोकेर हिँड,’ भन्‍नु? तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भनी तिमीहरूले जान भन्‍ने म चाहन्छु।” उहाँले त्यस पक्षघातीलाई भन्‍नुभयो, “म तिमीलाई भन्दछु, उठ, आफ्नो ओछ्यान बोकेर घर जाऊ।” त्यो उठ्यो, तिनीहरू सबैले देख्दादेख्दै ओछ्यान उठाएर बाहिर गइहाल्यो। यो कुराले सबैलाई अचम्म तुल्यायो; अनि हरेकले यसो भन्दै परमेश्‍वरको महिमा गरे, “हामीले यस्ता कुरा कहिल्यै देखेका थिएनौँ!”

शेयर गर्नुहोस्
मर्कूस 2 पढ्नुहोस्

मर्कूस 2:1-12 पवित्र बाइबल (NERV)

केही दिनपछि, येशू कफर्नहुममा फर्कनुभयो। येशू घरमा हुनुहुन्थ्यो भन्ने खबर सबैले थाहा पाए। धेरै मानिसहरू येशूको शिक्षा सुन्न आए। घर खचाखच थियो। त्यहाँ भित्र ठाऊँ थिएन न त ढोका बाहिर नै उभिने ठाउँ थियो। येशू ती मानिसहरूलाई सिकाईरहनु भएको थियो। केही मानिसहरूले पक्षाघाति रोगीलाई येशू कहाँ ल्याई पुर्याए। चारजना मानिसहरूले त्यो पक्षाघाती रोगीलाई बोकेका थिए। तर ती मानिसहरूले त्यो रोगीलाई येशूकहाँ ल्याउन सकेनन् किनभने त्यहाँ मानिसहरूको अत्यधिक भीड थियो। यसकारण ती मानिसहरू येशू भएको घरको छानामाथी चढे, तिनीहरूले त्यहाँ छानामा एउटा प्वाल पारेका थिए। त्यसपछि तिनीहरूले त्यो पक्षघात रोगी सुतेको ओछ्यान् तलतिर झारे। यशूले देख्नुभयो कि, ती मानिसहरूमा अत्याधिक विश्वास थियो। त्यसपछि येशूले ती पक्षाघातको रोगीलाई भन्नुभयो, “ए युवक, तिम्रा पापहरू क्षमा भएका छन्।” केही व्यवस्थाका शास्त्रीहरू त्यहीं बसिरहेका थिए, र तिनीहरूले येशूले गर्नुभएको कार्यकलाप देखे, अनि तिनीहरू स्वयं सोच्न लागे: “उहाँले किन यस्तो कुरा गर्नुहुन्छ? उहाँले यस्तो कुरा गरिरहनुभएको छ जो परमेश्वरको विरुद्धमा छ। केवल परमेश्वर मात्र पाप क्षमा गर्नसक्नु हुन्छ।” येशूले शास्त्रीहरूले आपसमा उहाँको बारेमा के-के कुरा सोचिरहेका थिए भन्ने थाहा पाऊनुभयो। अनि येशूले सोध्नु भयो, “किन तिमीहरूको मनमा यस्तो प्रश्न उठिरहेको छ मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ, तर म यो कसरी तिमीहरूलाई प्रमाण गर्नसक्छु! यो पक्षाघातीलाई के भन्नु सजिलो छ? ‘तिम्रा पापहरू क्षमा गरिएको छ,’ भन्नु वा, ‘उठ आफ्नो बिछ्यौना बोक अनि हिंडिहाल भन्नु’? तर म तिमीहरूलाई अब देखाउनेछु कि पापहरू क्षमागर्ने मेरो अधिकार छ।” यसो भनेर येशूले त्यो पक्षाघाती लाई भन्नुभयो, “म तिमीलाई भन्दछु उठ, आफ्नो विछ्‌यौना बोक अनि घर जाऊ।” त्यो पक्षाघातको रोगी जुरूक्क उठ्यो। उसले आफ्नो बिछ्यौना उठायो अनि कोठादेखि बाहिरियो। सबै मानिसहरूले देख्न सके, सबै मानिसहरू छक्क परे, अनि परमेश्वरको प्रशंसा गर्न लागे। तिनीहरूले भने, “हामीले यस्तो चमत्कार कहिल्यै देखेका थिएनौं।”

शेयर गर्नुहोस्
मर्कूस 2 पढ्नुहोस्

मर्कूस 2:1-12 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

केही दिनपछि येशू कफर्नहूम सहरमा फर्कनुभयो। उहाँ घरमै हुनुहुन्‍छ भन्‍ने सुनेर यति धेरै मानिसहरू उहाँकहाँ आए कि घुइँचोले गर्दा भित्र-बाहिर कहीं पनि ठाउँ थिएन। येशूले मानिसहरूलाई शिक्षा दिइरहनुभएको थियो। त्‍यति नै खेर चार जना मानिसहरू हात-खुट्टा नचल्‍ने कुँजो मानिसलाई बोकेर त्‍यहाँ आइपुगे। मानिसहरूको घुइँचोले गर्दा तिनीहरूले बिरामीलाई भित्र येशूकहाँ पुर्‍याउन सकेनन्। त्‍यसो हुँदा येशू बस्‍नुभएको ठाउँको ठीक माथिको छानालाई तिनीहरूले उघारे र बिरामीलाई ओछ्यानसँगै ओराले। तिनीहरूका विश्‍वास देखेर येशूले त्‍यस कुँजो मानिसलाई भन्‍नुभयो, “ए छोरा, तिम्रा पापहरू क्षमा भएका छन्।” यो सुनेर त्‍यहाँ भएका धर्म-गुरुहरूले मनमनै भने, “यो मानिसले किन यस्‍तो कुरा गर्दै छ? यसले त परमेश्‍वरको निन्‍दा पो गर्दोरहेछ। परमेश्‍वरले बाहेक अरू कसले पाप क्षमा गर्न सक्‍छ र?” येशूले तिनीहरूको मनको कुरा बुझिहाल्‍नुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यस्‍तो विचार गर्छौ? यस बिरामीलाई ‘तिम्रा पापहरू क्षमा भए’ भन्‍नु र ‘ओछ्यान बोकेर हिंड’ भन्‍नुमा कुनचाहिँ सजिलो होला, भन त? तर हेर, यस पृथ्‍वीमा म मानव पुत्रलाई मानिसको पाप क्षमा गर्ने अधिकार छ भन्‍ने कुराको प्रमाण म तिमीहरूलाई दिन्‍छु।” तब येशूले त्‍यस कुँजो बिरामीलाई भन्‍नुभयो, “म तिमीलाई भन्‍छु, अब उठ, आफ्‍नो ओछ्यान बोकेर घर जाऊ।” सबैले हेर्दाहेर्दै त्‍यो मानिस जुरुक्‍क उठ्यो र ओछ्यान बोकेर हिंडिहाल्‍यो। मानिसहरू छक्‍क परे र परमेश्‍वरको प्रशंसा गर्दै भन्‍न लागे, “यस्‍तो त हामीले कहिल्‍यै पनि देखेका थिएनौं।”

शेयर गर्नुहोस्
मर्कूस 2 पढ्नुहोस्