YouVersion लोगो
खोज आइकन

प्रकाश 22:1-21

प्रकाश 22:1-21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तब तिनले मलाई स्‍फटिकजस्‍तै चहकिलो जीवनका पानीको नदी देखाए। त्‍यो नदी परमेश्‍वरको र थुमाको सिंहासनबाट निस्‍की त्‍यस सहरका सड़कको बीचबाट बगिरहेको थियो। त्‍यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्‍थ्‍यो। त्‍यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्‍ति थिए। अबदेखि उसो त्‍यहाँ कहिल्‍यै सराप हुनेछैन। परमेश्‍वर र थुमाको सिंहासन त्‍यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्‌। तिनीहरूले उहाँको मुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। त्‍यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्‍यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूको उज्‍यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्‍य गर्नेछन्‌। तिनले मलाई भने, “यी वचन भरपर्दा र सत्‍य छन्‌। अब चाँड़ै हुन आउने कुराहरू आफ्‍ना दासहरूलाई देखाउन परमप्रभु, अगमवक्ताहरूका आत्‍माका परमेश्‍वरले आफ्‍ना स्‍वर्गदूत पठाउनुभयो।” “हेर, म चाँड़ै आउँदैछु। यस पुस्‍तकको अगमवाणीका वचन पालन गर्ने धन्‍यको हो।” यी कुरा सुन्‍ने र देख्‍ने म यूहन्‍ना हुँ। जब मैले यी कुरा सुनें र देखें, तब मलाई यी कुरा देखाउने स्‍वर्गदूतको पाउमा दण्‍डवत्‌ गर्न म घोप्‍टो परें। तर तिनले मलाई भने, “हेर, तिमीले यसो गर्नुहुँदैन। म त तिम्रो र अगमवाणी बोल्‍ने तिम्रा भाइहरू र यस पुस्‍तकका वचन पालन गर्नेहरूका सङ्गी-दास मात्र हुँ। परमेश्‍वरलाई दण्‍डवत्‌ गर।” तब तिनले मलाई यसो भने, “यस पुस्‍तकको अगमवाणीका वचनमा मोहोर नलगाऊ, किनकि समय नजिकै छ। दुष्‍ट काम गर्नेले दुष्‍ट काम गरिरहोस्, अश्‍लील काम गर्नेले अश्‍लील काम गरिरहोस्, धर्मात्‍माले धार्मिक कार्य गरिरहोस्, र पवित्र जनचाहिँ पवित्र नै भइरहोस्‌।” “हेर, म चाँड़ै आउँदैछु। हरेक मानिसलाई उसले गरेअनुसार दिने प्रतिफल मसँग छ। म अल्‍फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्‍त्‍य हुँ। “जीवनका वृक्षको हक पाउन र सहरका ढोकाहरूबाट भित्र पस्‍न पाऊँ भनी आफ्‍ना वस्‍त्र धुनेहरू धन्‍यका हुन्‌। बाहिरचाहिँ कुकुरहरू, मन्‍त्रतन्‍त्र गर्नेहरू, व्‍यभिचारीहरू, हत्‍याराहरू, मूर्तिपूजकहरू र असत्‍य मन पराउने र त्‍यसैमुताबिक चल्‍नेहरू रहन्‍छन्‌। “म येशूले आफ्‍ना दूतलाई तिमीकहाँ मण्‍डलीहरूका निम्‍ति यो गवाही दिन पठाएको छु। दाऊदका मूल र सन्‍तान, अनि बिहानको चहकिलो तारा म नै हुँ।” पवित्र आत्‍मा र दुलही भन्‍नुहुन्‍छ, “आउनुहोस्‌।” जसले सुन्‍छ त्‍यसले भनोस्, “आउनुहोस्‌।” जो तिर्खाउँछ त्‍यो आओस्, जसले इच्‍छा गर्छ त्‍यसले जीवनको पानी सित्तैँमा लिओस्‌। यस पुस्‍तकको अगमवाणीका वचन सुन्‍ने हरेक मानिसलाई म चेताउनी दिन्‍छु: यदि कसैले तिनमा थप्‍यो भने यस पुस्‍तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्‍यसमाथि थपिदिनुहुनेछ। अनि कसैले यस अगमवाणीको पुस्‍तकका वचनबाट केही घटायो भने, यस पुस्‍तकमा लेखिएका जीवनको वृक्ष र पवित्र सहरबाट त्‍यसले पाउने हिस्‍सा परमेश्‍वरले त्‍यसबाट खोस्‍नुहुनेछ। यी कुराको गवाही दिनेले भन्‍नुहुन्‍छ, “निश्‍चय, म चाँड़ै आउँदैछु।” आमेन, आउनुहोस्, हे प्रभु येशू। प्रभु येशूको अनुग्रह सबै सन्‍तहरूसँग रहोस्‌। आमेन।

शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्

प्रकाश 22:1-21 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

तब त्यस स्वर्गदूतले मलाई परमेश्‍वर र थुमाको सिंहासनबाट बग्दै निस्केको स्फटिकजस्तो स्वच्छ जीवनको पानीको नदी देखाए, जुनचाहिँ सहरको मूल बाटोको बीचबाट बगिरहेको थियो। नदीका दुवैतिर प्रत्येक महिना बाह्र किसिमका फलहरू फलाउने जीवनको रूख थियो। ती रूखहरूका पातहरूचाहिँ राष्ट्रहरूलाई निको पार्नको लागि हुन्। त्यहाँ अब उप्रान्त श्राप हुनेछैन; किनभने त्यस सहरमा परमेश्‍वरको र थुमाको सिंहासन हुनेछ; अनि उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछन्। तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाम तिनीहरूका निधारमा हुनेछ। अब उप्रान्त रात हुनेछैन। तिनीहरूलाई बत्तीको उज्यालो र सूर्यको उज्यालोको आवश्यकता पर्नेछैन; किनकि प्रभु परमेश्‍वरले नै तिनीहरूलाई उज्यालो दिनुहुनेछ। अनि तिनीहरूले सदासर्वदा राज्य गर्नेछन्। ती स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्य र सत्य छन्। परमप्रभु, जो अगमवक्ताहरूका आत्माका परमेश्‍वर हुनुहुन्छ, उहाँले उहाँका सेवकहरूलाई अब चाँडै हुन आउने कुराहरू देखाउनलाई आफ्नो स्वर्गदूत पठाउनुभएको छ।” “हेर, म चाँडै आउँदैछु! यस पुस्तकका अगमवाणीका वचनहरू पालन गर्नेहरू धन्यका हुन्।” यी कुराहरू सुन्‍ने र देख्ने म, स्वयम् यूहन्‍ना हुँ। अनि जब मैले यी सुनेँ र देखेँ, तब यी कुराहरू मलाई देखाइरहने स्वर्गदूतलाई आराधना गर्न भनेर म तिनको पाउमा घोप्टो परेँ। तर ती स्वर्गदूतले मलाई भने, “यसो नगर! म त तिमीजस्तै एक सङ्गी-सेवक हुँ। म तिम्रा सङ्गी-अगमवक्ता र यस पुस्तकका वचनहरू पालन गर्नेहरूजस्तै हुँ। परमेश्‍वरलाई मात्र दण्डवत् गर!” तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकका अगमवाणीका वचनहरूमा छाप नलगाऊ; किनकि अगमवाणी पूरा हुने समय नजिकै छ। जसले खराबी गर्छ, त्यसले खराबी नै गरिरहोस्; जो अश्लील छ, त्यो अश्लीलै रहोस्; जो ठिक छ, त्यसले ठिकै गरिरहोस्; अनि जो पवित्र छ, त्यो पवित्र नै भइरहोस्।” “हेर, म चाँडै आउँदैछु! मेरो पुरस्कार मसित छ, र म प्रत्येकलाई उसले गरेको कामअनुसार दिनेछु। म नै अल्फा र ओमेगा, पहिलो र पछिल्‍लो, आदि र अन्त्य हुँ। “जीवनको रूखको अधिकार पाउन र सहरका ढोकाहरू भित्र पस्‍न पाऊँ भनेर आफ्ना वस्त्र शुद्ध राख्नेहरू धन्यका हुन्। बाहिरचाहिँ कुकुरहरू; तन्त्रमन्त्र गर्नेहरू, अनैतिक यौन सम्बन्ध राख्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू र झूट मन पराउने र त्यसैअनुसार चल्नेहरू हुन्छन्। “म येशूले मण्डलीहरूलाई यो गवाही दिनू भनी मेरो दूतलाई तिमीकहाँ पठाएको छु। म दावीदको मूल र सन्तान, र बिहानको चहकिलो तारा हुँ।” आत्मा र दुलही भन्‍नुहुन्छ, “आउनुहोस्!” अनि जसले सुन्छ, त्यसले भनोस्, “आउनुहोस्!” जो तिर्खाएको छ, त्यो आओस्; अनि जसले इच्छा गर्छ, त्यसले जीवनको पानी सित्तैँमा लेओस्। म यस पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई चेतावनी दिन्छु: यदि कसैले यी वचनहरूमा केही थप्यो भने परमेश्‍वरले त्यसमाथि यस पुस्तकमा वर्णन गरिएका विपत्तिहरू थपिदिनुहुनेछ। यदि कसैले यस अगमवाणीका पुस्तकबाट वचनहरू हटाउँछ भने परमेश्‍वरले यस पुस्तकमा वर्णन गरिएका जीवनको रूखमा र पवित्र सहरमा भएको त्यसको भाग हटाइदिनुहुनेछ। यी सबै कुराहरूको साक्षी दिनुहुनेले भन्‍नुहुन्छ, “हेर, म चाँडै आउँदैछु।” आमेन! आउनुहोस्, हे प्रभु येशू! प्रभु येशूको अनुग्रह परमेश्‍वरका सबै जनहरूसँग रहोस्! आमेन।

शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्

प्रकाश 22:1-21 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

त्‍यसपछि स्‍वर्गदूतले मलाई जीवनको पानीको नदी देखाए। त्‍यो परमेश्‍वर र बलि हुनुभएको थुमाको सिंहासनबाट निस्‍केर सहरको मूल सडक बीचमा बगिरहेको र स्‍फटिकजस्‍तो चम्‍किरहेको थियो। नदीको दुवै किनारमा जीवनको रूख थियो, जसले वर्षमा बाह्र किसिमका फल फलाउँछन् र प्रत्‍येक महिना एक किसिमको फल फल्‍छ। ती रूखका पातचाहिँ जाति-जातिलाई निको पार्ने औषधी थिए। परमेश्‍वरले श्राप दिनुभएको कुनै कुरा त्‍यो सहरमा पाइँदैन। परमेश्‍वरको र थुमाको सिंहासन सहरभित्र रहनेछ र उहाँका सेवकहरूले उहाँलाई पुज्‍नेछन्। तिनीहरूले परमेश्‍वरको अनुहार देख्‍छन् र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। अनि त्‍यहाँ कहिले पनि रातपर्नेछैन, त्‍यहाँ बत्ती र घामको उज्‍यालोको खाँचोपर्नेछैन किनभने प्रभु परमेश्‍वर नै उनीहरूको उज्‍यालो हुनुहुनेछ र उनीहरूले सदासर्वदा राज गर्नेछन्। यसपछि स्‍वर्गदूतले मलाई भने, “यी वचनहरू विश्‍वासयोग्‍य र सत्‍य छन्। अगमवक्ताहरूलाई पवित्र आत्‍मा दिनुहुने प्रभु परमेश्‍वरले आफ्‍ना सेवकहरूलाई यी चाँडै हुन आउने घटनाहरू देखाउन आफ्‍नो स्‍वर्गदूत पठाउनुभएको छ।” येशू भन्‍नुहुन्‍छ, “म चाँडै आउँछु। यो पुस्‍तकमा लेखिएका अगमवाणीका वचन मान्‍नेहरू धन्‍य हुन्।” म यूहन्‍नाले यी सबै कुरा सुनेको र देखेको छु अनि मैले तिनीहरूलाई देखें र सुनेपछि मलाई यी सबै कुरा देखाउने स्‍वर्गदूतको पाउमा दण्‍डवत् गर्न खोजें। तर उनले मलाई भने, “यसो नगर! मचाहिँ तिमी, तिम्रा दाजुभाइ अगमवक्ताहरू र यो पुस्‍तकको वचन मान्‍नेहरूजस्‍तै परमेश्‍वरको सेवक मात्र हुँ। परमेश्‍वरलाई नै दण्‍डवत् गरेर उहाँलाई आदर गर!” उनले अझै मलाई भने, “यी पुस्‍तकका अगमवाणीका वचनहरू लुकाइनराख किनभने यी सबै कुरा हुन आउने बेला नजिकै छ। जो दुष्‍ट छ, त्‍यो दुष्‍टै हुँदैजान्‍छ, जो फोहोरी छ, त्‍यो फोहोरी नै हुँदैजान्‍छ। जो ठीक र धर्मी छ, त्‍यो त्‍यस्‍तै हुँदै जान्‍छ र जो पवित्र छ, त्‍यो पवित्रै हुँदैजान्‍छ।” “हेर, म चाँडै आउनेछु,” येशू भन्‍नुहुन्‍छ, “आफ्‍ना-आफ्‍ना कामअनुसार सबैलाई दिने इनाम लिएर आउँदै छु। म अल्‍फा र ओमेगा, आदि र अन्‍त हुँ।” आफ्‍ना लुगा धोएर सफा राख्‍नेहरू धन्‍य हुन्। तिनीहरूले जीवनको रूखका फल खान र ती सहरका ढोकामा पस्‍ने हक पाउनेछन्। तर सहरबाहिरचाहिँ छाडाहरू, टुनामुना गर्नेहरू, व्‍यभिचारीहरू, मूर्ति पुज्‍नेहरू र आफ्‍ना काम र वचन दुवैमा झूट हुनेहरू छन्। “म येशूले तिमीकहाँ मण्‍डलीमा भएका सबैलाई यी कुराहरू थाहा दिन मेरा स्‍वर्गदूत पठाएको छु। म दाऊद राजाको कुलको हुँ। म बिहानको चम्‍किलो तारा हुँ।” पवित्र आत्‍मा र दुलहीले “आउनुहोस्!” भन्‍छन्, जसले सुन्‍छ, उसले पनि “आउनुहोस्!” भनोस्। जसलाई तिर्खा लाग्‍छ, चाहेको जति जीवनको पानी सित्तैमा पिउन आओ! यस पुस्‍तकका अगमवाणीका वचनहरू सुन्‍ने हरेक मानिसलाई म यूहन्‍नाले यो चेतावनी दिन्‍छु, यिनमा केही थप्‍छ भने उसलाई परमेश्‍वरले यस पुस्‍तकमा बताएका विपत्तिहरू थपिदिनुहुनेछ। कसैले केही कुरा यो पुस्‍तकमा लेखिएको अगमवाणी वचनबाट निकाल्‍छ भने परमेश्‍वरले जीवनको रूखको फलबाट उसको भाग काटिदिनुहुनेछ अनि पवित्र सहरबाट उसलाई निकाल्‍नुहुनेछ। जसले यी सबै कुरामा साक्षी दिनुहुन्‍छ, उहाँले नै भन्‍नुहुन्‍छ, “साँच्‍चै म चाँडै आउनेछु।” आमेन। आउनुहोस्, हे प्रभु येशू! प्रभु येशूको अनुग्रह सबैसित भइरहोस्! आमेन।

शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्

प्रकाश 22:1-21 पवित्र बाइबल (NERV)

तब त्यो स्वर्गदूतले मलाई जीवन-जलको नदी देखाए। नदी स्फटिक जस्तो चम्किलो थियो। त्यो नदी परमेश्वर अनि भेंडा़को पाठाको सिंहासनबाट बगिरेहको थियो। त्यो नगरको गल्लीको माझबाट वगिरहेकोथ्यो। जीवन वृक्ष वर्षेनी बाह्र वटा फल फल्दै नदीको एकपाट्टी थियो। प्रत्येक महिना यसमा फल फल्छ। वृक्षका पातहरू मानिसहरूको विमार निको पार्नुलाई थिए। परमेश्वरको सराप परेको कुनै वस्तुले त्यो नगरमा स्थान पाउने छैन। परमेश्वर अनि भेंडा़को पाठाको सिंहासन नगरमा रहने छ। परमेश्वरका सेवकहरूले उहाँलाई आराधना गर्नेछन्। तिनीहरूले उनको चेहरा देख्नेछन्। परमेश्वरको नाउँ तिनीहरूको निधारमा हुनेछ। त्यहाँ फेरि रात पर्ने छैन। मानिसहरूलाई सूर्यको प्रकाशको आवश्यकता पर्ने छैन। परमप्रभु परमेश्वरले तिनीहरूलाई प्रकाश दिनेछन्। अनि तिनीहरूले सदासर्वदा राजाहरूले जस्तै शासन गर्नेछन्। त्यो स्वर्गदूतले मलाई भने, “यी वचनहरू विश्वासनीय अनि सत्य हुन्। परमप्रभु अगमवक्ताहरूको आत्माहरूका परमेश्वर हुन्। परमेश्वरले आफ्ना सेवकहरूलाई ती कुराहरू, जो चाँडै हुनु पर्नेछ, देखाउन र्स्वगदूतलाई पठाए।” “सुन! म चाँडै आउँदैछु। त्यो मानिस, जसले यस पुस्तकका अगमवाणीका शब्दहरू पालन गर्छ, धन्य हुन्।” म यहून्ना हुँ। म नै त्यो हुँ जसले यी कुराहरू सुनें अनि देखें। यी कुराहरू सुनें अनि देखे पछि, त्यो स्वर्गदूतले मलाई यी कुराहरू देखाए, म उनको पाउ सामुन्ने उनलाई उपासना गर्न झूकेँ। तर त्यस स्वर्गदूतले मलाई भने, “मेरो उपासना नगर। जस्तो तिमी अनि तिम्रो भाइ अगमवक्ताहरू छन् त्यस्तै म एक सेवक मात्र हुँ। म अरू मानिसहरू जस्तो हुँ जसले यो पुस्तकमा भएको शिक्षाको पालन गर्छ। तिमीले परमेश्वरको उपासना गर्नु पर्छ!” तब स्वर्गदूतले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूलाई गुप्त राख्नु हुँदैन। यी कुराहरू पुरा हुनलाई समय आई सकेको छ। त्यो मानिसलाई, जसले नराम्रो गर्दैछ, गर्न देऊ। मानिस जो अस्वच्छ छ उसलाई अस्वच्छ रहन देऊ। मानिस जसले सही कुरा गर्दैछ गर्न देऊ। मानिस जो पवित्र छ, पवित्र रहन देऊ।” “सुन! म चाँडै आउँदैछु। मसित पुरस्कारहरू ल्याउने छु। प्रत्येक मानिसले जे गरेको छ त्यसको मूल्य चुकाउनेछु। मनै अल्फा अनि ओमेगा हुँ, प्रथम अनि अन्तिम हुँ। “ती मानिसहरू धन्य हुनेछन् जसले आफ्ना वस्त्रहरू सफा धुन्छन्। जीवनको रुखबाट फल खाने अधिकार तिनीहरूले पाउँनेछन् तिनीहरू नगरका ती ढोकाहरूबाट पस्छन्। नगर बाहिर कुकुरहरू, जादूवालाहरू यौन-पापीहरू, हत्याराहरू, मूर्त्ति पूजकहरू अनि असत्य मन पराउने अनि असत्य बोल्ने मानिसहरू छन्। “मैले मण्डलीहरूका निम्ति यी कुराहरू तिमीलाई भन्न मेरो स्वर्गदूत पठाँए। म दाऊद परिवारको सन्तान हुँ। म चम्किलो बिहानीको तारा हुँ।” आत्मा अनि बेहुलीले भन्छन्, “आऊ!” जसले सुन्छ त्यसले भनोस् “आउनुहोस्” जो तिर्खाउँछ त्यो आओस्, जसले इच्छा गर्छ त्यसले जीवनको पानी सित्तैमा लिओस्। म हरेक मानिसलाई चेतावती दिन्छु जसले यो पुस्तकमा भएका अगमवाणीका वचनहरू सुन्छ यदि कुनै मानिसले यी वचनहरूमा कुनै पनि कुरा थप्छ, तब परमेश्वरले त्यस मानिसलाई यस पुस्तकमा लेखिएको कष्टहरू दिनु हुनेछ। अनि यदि कुनै मानिसले यो पुस्तकको अगमवाणीका वचनहरू हटाउँछ, तब परमेश्वरले जीवनको वृक्ष अनि पवित्र नगरको, जसको बारेमा यस पुस्तकमा लेखिएको छ, त्यस मानिसको अंश हटाइ दिनु हुनेछ। येशू नै उहाँ एक हुनुहुन्छ जसले भन्नुहुन्छ कि यी कुराहरू सत्य हुन्। अहिले उहाँले भन्नुहुन्छ, “हो, म चाँडै आउँदैछु।” आमिन। हे प्रभु येशू! आउनुहोस्। प्रभु येशूको अनुग्रह समस्त मानिसहरू साथ रहोस्। आमिन।

शेयर गर्नुहोस्
प्रकाश 22 पढ्नुहोस्