रोमी 2:2-11 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 2:2-11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यस्ता काम गर्नेहरूमाथि परमेश्वरको इन्साफ ठीकसँग पर्छ भनेर हामी जान्दछौं। ए मानिस, तिमीले यस्ता काम गर्नेहरूलाई दोष लाउँछौ, र आफै पनि त्यही काम गर्छौ भने, के परमेश्वरको इन्साफबाट उम्कन्छु भन्ने तिमी ठान्छौ? अथवा परमेश्वरको कृपाले तिमीलाई पश्चात्तापमा डोर्याउँछ भन्ने थाहा नपाएर, के तिमी उहाँको दया, सहनशीलता र धैर्यको प्रशस्ततालाई तुच्छ ठान्छौ? तर परमेश्वरको धार्मिक इन्साफ प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो कठोर र अपश्चात्तापी हृदयले गर्दा तिमीले आफ्नो निम्ति क्रोध थुपारिरहेछौ। किनकि उहाँले हरेक मानिसलाई उसको कामअनुसार दिनुहुनेछ। धैर्यसँग असल काम गरेर महिमा, इज्जत र अमरत्व खोज्नेहरूलाई चाहिँ उहाँले अनन्त जीवन दिनुहुनेछ। तर झगड़ालु, सत्यको पालन नगर्ने, र दुष्टतामा हिँड्नेहरूमाथि चाहिँ क्रोध र रीस पर्नेछ। खराब काम गर्ने हरेक मानिसमाथि सङ्कष्ट र आपद् आइपर्नेछ, पहिले यहूदीमाथि र अन्यजातिहरूमाथि पनि। तर असल काम गर्ने हरेकलाई पहिले यहूदीलाई अनि अन्यजातिलाई पनि गौरव, इज्जत र शान्ति प्राप्त हुनेछ। किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।
रोमी 2:2-11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले पनि यस्ता काम गर्ने मानिसहरूलाई सत्यको आधारमा दोषी ठहराउनुहुन्छ भन्ने हामीलाई थाहा छ। हे मित्र, तिमीहरूले यस्ता काम गर्ने मानिसहरूलाई दोषी ठहराउँछौ तर आफू भने त्यस्तै काम गर्छौ। के परमेश्वरले तिमीलाई दोषी ठहराउनुहुँदा तिमी उम्किन सक्छौ? कि उहाँको प्रेमलाई तुच्छ ठान्छौ? उहाँले धैर्यसाथ पर्खनुहुन्छ र तिम्रो हृदय उहाँतिर फर्काउन खोज्नुहुन्छ। तैपनि तिमीहरूले हृदय कठोर पारेर उहाँतिर फर्कन चाहेनौ। त्यसकारण तिमीहरूले रिसको दिनमा अझ ठूलो दण्ड पाउनेछौ, जुन दिन परमेश्वर न्याय गर्न आउनुहुनेछ। परमेश्वरले नै हरेक मानिसले गरेको कामको इनाम दिनुहुनेछ। कति जना भलाइको काममा लागिरहेर महिमा, आदर र अजम्मरी जीवन खोज्दछन्। परमेश्वरले उनीहरूलाई अजम्मरी जीवन दिनुहुनेछ। अरू मानिसहरूले केवल आफैंलाई मात्र प्रेम गर्छन्, सत्यलाई मान्दैनन् र खराब कामका पछि लाग्छन्। परमेश्वरले तिनीहरूमाथि आफ्नो रिस खन्याउनुहुन्छ। खराब काम गर्ने सबै मानिस पहिले यहूदीलाई अनि त्यसपछि अरूहरूलाई दु:ख, कष्ट हुनेछ। तर परमेश्वरले असल काम गर्नेहरूलाई पहिले यहूदी अनि त्यसपछि अरूहरूलाई सुख, सम्मान् र शान्ति दिनुहुनेछ किनभने परमेश्वरले कसैको पक्षपात गर्नुहुन्न।
रोमी 2:2-11 NERV (पवित्र बाइबल)
ज-जसले नराम्रा कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले न्याय गर्नुहुन्छ। अनि हामी जान्दछौं कि परमेश्वरको न्याय ठीक हुँदछ। तिमीहरूले पनि ती गल्ती काम गर्नेलाई जाँच गर्छौ। तर तिमी आफैं पनि त्यस्तै नराम्रो काम गरिरहेका हुन्छौ। यसैले तिमीहरूलाई थाहा छ कि परमेश्वरले निश्चय न्याय गर्नुहुनेछ अनि त्यसबाट तिमीहरू भाग्न पाउने छैनौ। के तिमी परमेश्वरको दया, सहनशीलता र धैर्यलाई नकार्न सक्छौ? के तिमीहरू उहाँको दया तिमीहरूकै हृदय र जीवन परिवर्तनको निम्ति हो भन्ने कुरालाई अमान्य ठान्छौ? तर तिमीहरू आफूलाई परिवर्तन गर्ने कुरामा अत्यन्त उग्र र हठी छौ। यसकारण तिमीहरूले आफैं प्रति परमेश्वरको क्रोधलाई उकास्दैछौ जुन परमेश्वरको न्यायको बेलामा बुझ्ने छौ। परमेश्वरले मानिसहरूका आ-आफ्नो कर्म अनुसार पुरस्कार अथवा दण्ड दिनुहुनेछ। कतिपय मानिसहरू परमेश्वरको महिमा, सम्मान, र जीवनको लागि बाँच्दछन् जुन कहिल्यै नष्ट गर्न सकिंदैन। ती मानिसहरू जो यी कुराहरूका निम्ति बाँच्दछन्, उनीहरू सधैँ असल कर्म गर्दछन्। परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दान गर्नु हुँदछ। तर अन्य मानिसहरू स्वार्थी र सत्य पछ्याउन अस्वीकार गर्छन्। तिनीहरूले दुष्टताको बाटो अफ्नाउँदछन्। परमेश्वरले उनीहरूलाई दण्ड र क्रोध दिनुहुँदछ। जसले दुष्ट कामहरू गर्छन् उनीहरूलाई परमेश्वरले दुःख र पीडाहरू दिनुहुनेछ-पहिले यहूदीहरूलाई र गैर-यहूदीहरूलाई पनि। तर जसले असल कर्म गर्छ उनीहरूलाई परमेश्वरले गौरव, सम्मान र शान्ति प्रदान गर्नु हुनेछ पहिले यहूदीहरूलाई र त्यसपछि गैर-यहूदीहरूलाई। परमेश्वरले सबैलाई समान न्याय गर्नु हुनेछ।
रोमी 2:2-11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हामी जान्दछौँ, यस्ता काम गर्नेहरूका विरुद्ध परमेश्वरले सत्यताअनुसार न्याय गर्नुहुन्छ। यसकारण, ए मानिस, तिमी अरूलाई न्याय गर्दछौ र आफूले चाहिँ त्यही काम गर्छौ भने के तिमी परमेश्वरको न्यायदेखि उम्कन सक्छौ भनी सम्झन्छौ? अथवा परमेश्वरको दयाले तिमीलाई पश्चात्तापमा डोर्याउँछ भन्ने कुराको आभाष नगरी, तिमी परमेश्वरको दयाको प्रचुरता, सहनशीलता र धैर्यतालाई तुच्छ ठान्छौ? तर तिम्रा आफ्ना हठी स्वभाव र अपश्चात्तापी हृदयका कारण, परमेश्वरको धार्मिक न्याय प्रकट हुने त्यस क्रोधका दिनको लागि आफ्नो निम्ति क्रोध थुपारिरहेछौ। परमेश्वरले “प्रत्येकलाई तिनीहरूका कामअनुसार दण्ड दिनुहुनेछ।” परमेश्वरले तिनीहरूलाई अनन्त जीवन दिनुहुन्छ, जो महिमा, आदर र अमरताको खोजी गर्दै धैर्यसँग असल काममा लागिरहन्छन्। तर जो स्वार्थी छन् र सत्यलाई इन्कार गरेर दुष्टताको पछि लाग्छन्, तिनीहरूमाथि रिस र क्रोध आइपर्नेछ। दुष्ट काम गर्ने सबै मानिसहरूमाथि दुःख र सङ्कष्ट आइपर्नेछ: पहिले यहूदीहरूलाई, त्यसपछि गैरयहूदीहरूलाई। तर जसले असल गर्छन्, तिनीहरूलाई महिमा, आदर र शान्ति दिइनेछ: पहिले यहूदीलाई, र गैरयहूदीलाई। किनकि परमेश्वरले पक्षपात गर्नुहुन्न।