रोमी 5:1-11 - सबै संस्करणहरू तुलना गर्नुहोस्
रोमी 5:1-11 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ। उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं। यस अनुग्रहमा हामी खड़ा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं। यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ। आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ। किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो। धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला। तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन् बढ़ी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं। किनकि हामी शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको थियो भने, झन् बढ़ी अब उहाँसँगै मिलाप भएका हुनाले ख्रीष्टको जीवनद्वारा हामी बचाइनेछौं। यति मात्र होइन, तर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरमा हामी रमाउँदै पनि छौं, उहाँद्वारा अब हामीलाई परमेश्वरसँग मिलाप प्राप्त भएको छ।
रोमी 5:1-11 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
यसकारण हामी विश्वासद्वारा परमेश्वरको सामु ठीक ठहरिएका छौं अनि हाम्रा प्रभु येशू ख्रीष्टद्वारा नै परमेश्वरसँग हाम्रो मिलाप भएको छ। उहाँले हामीलाई विश्वासद्वारा परमेश्वरको अनुग्रहमा ल्याउनुभएको छ। अहिले हामी त्यही क्षमा दिने अनुग्रहमा छौं। हामीहरू परमेश्वरको महिमामा सहभागी हुने आशामा रमाउँछौं। त्यति मात्र होइन, दु:खमा पनि हामी खुसी छौं किनभने दु:खले दु:ख सहने शक्ति दिन्छ, दु:ख सहने शक्तिले हामीलाई पाको बनाउँछ। हामी पाको भएपछि आउँदो समयको लागि साहस र आशा पाउँछौं। हामी यस आशामा निराश हुनेछैनौं किनभने परमेश्वरले पवित्र आत्मा दिनुभएको छ र पवित्र आत्माले हाम्रो हृदयमा परमेश्वरको प्रेम भर्नुभएको छ। हामी आफैंले मुक्तिको निम्ति केही गर्न नसक्ने हुँदा नै ख्रीष्ट आफैं नै हामी पापीको निम्ति ठीक बेलामा मर्नुभयो। धर्मात्माको निम्ति कोही मुश्किलले मरिदेला। अति असल मानिसको सट्टामा पनि कसैले मर्ने साहस गर्ला। तैपनि परमेश्वरले उहाँको प्रेम हामीलाई यसरी देखाउनुभयो, हामी पापी छँदै हाम्रा लागि ख्रीष्ट मर्नुभयो। उहाँ बलिदान भएर आफ्नो रगतद्वारा हामीलाई परमेश्वरको सामु ठीक ठहराउनुभयो भने झन् बढी उहाँले हामीलाई परमेश्वरको क्रोधबाट बचाउनुहुन्छ। हामी परमेश्वरका शत्रु भएकै बेला उहाँको पुत्र ख्रीष्टको मृत्युद्वारा परमेश्वरले हामीलाई आफ्नो मित्र बनाउनुभएको छ भने झन् मित्र हुँदा उहाँको जीवनले हामीलाई झन् बढी गरी बचाउँछ। यति मात्र होइन हाम्रा प्रभु येशू ख्रीष्टले गर्दा हामी परमेश्वरको स्तुति गर्दै रमाउँछौं कारण ख्रीष्टले हामीलाई परमेश्वरसँग मिलाप गराएर आफ्नो मित्र बनाउनुभएको छ।
रोमी 5:1-11 NERV (पवित्र बाइबल)
हाम्रो विश्वासको कारणले गर्दा हामी परमेश्वरसँग धर्मी बनेकाछौं। यसर्थ हाम्रा प्रभु येशू ख्रीष्टद्वारा थियो हामी परमेश्वरबाट शान्ति पाउँछौं। ख्रीष्टको माध्यम र हाम्रो विश्वासको कारण हामीले अनुग्रहमा प्रवेश पाएकाछौं जहाँ हामी अहिले उभिएकाछौं अनि परमेश्वरको महिमा पाउने आशामा हामी आनन्द मनाइरहेछौं। त्यति मात्र होइन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं। किन हामी आफ्ना दुःखहरूमा पनि खुशी छौं? किनभने हामी जान्दछौं कि ती दुःखहरूले हामीलाई संयमी बनाउँदछ। अनि यही संयमले हामीलाई प्रमाण गर्दछ कि हामी बलिया छौं। अनि यस्तो प्रमाणहरूले हामीलाई आशा प्रदान गर्दछ। अनि यस आशाले हामीलाई कहिल्यै निराशा बनाउँदैन। किनभने परमेश्वरले आफ्नो प्रेमको बर्षाले हाम्रा हृदयहरू पारिपूर्ण पारिदिनु भयो। पवित्र आत्माद्वारा उहाँले हामीलाई आफ्नो प्रेम दिनुभो। त्यो पवित्र आत्मा परमेश्वरबाट हामीलाई उपहार हो। जब हामी अझै कमजोर थियौं, ठिक त्यसै बेला ख्रीष्ट हामी दुष्ट मानिसहरूको लागि मर्नु भयो। राम्रा मानिसहरूको निम्ति मर्ने साह्रै कठिनले कोही राजी होलान। कोही भने अति असल मानिसको निम्ति मर्ने निश्चय पनि गर्न सक्लान। यद्यपि हामीहरू अझै पापी जीवन जिउँदा-जिउँदै पनि ख्रीष्ट हाम्रो निम्ति मर्नु भयो। यस प्रकारले परमेश्वरले आफ्नो प्रेम हामीलाई देखाउनु भयो। हामी ख्रीष्टको रगतद्वारा परमेश्वरसँग धर्मी बनियौं। यसैले, निःसन्देह हामी ख्रीष्टद्वारा नै परमेश्वरको क्रोधबाट जोगिने छौं। मेरो मतलब के हो भने जब हामी परमेश्वरका शत्रु थियौं उहाँले आफ्नो पुत्रको मृत्युद्वारा हामीलाई आफ्नो मित्र बनाउनु भयो। यसैले जब हामी अहिले परमेश्वरका मित्र छौं, हामी निश्चय छौं आफ्नो पुत्रको जीवन द्वारा उहाँले हामीलाई रक्षा गर्नु हुनेछ। यस बाहेक, हामी हाम्रा प्रभु ख्रीष्टको माध्यमबाट परमेश्वरसँग खुशी छौं, येशूको कारणले गर्दा अहिले हामी परमेश्वरका मित्र बनेका छौं।
रोमी 5:1-11 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण हामी विश्वासद्वारा धर्मी ठहराइएका हुनाले प्रभु येशू ख्रीष्टद्वारा हामीले परमेश्वरसँग शान्ति पाएका छौँ। अनि ख्रीष्टद्वारा हामीले प्राप्त गरेको विश्वासको कारण यस अनुग्रहमा हाम्रो पहुँच छ, जसमा हामी अहिले खडा छौँ। परमेश्वरको महिमाको आशामा हामी रमाउँछौँ। यति मात्र होइन, तर हाम्रो दुःख-कष्टमा पनि हामी रमाउँछौँ, किनकि हामी जान्दछौ, दुःख-कष्टले सहनशीलता, सहनशीलताले परिपक्वता र परिपक्वताले आशा उत्पन्न गराउँछ। अनि आशाले हामीलाई निराश तुल्याउँदैन; किनकि हामीलाई दिइएको पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रो हृदयमा खन्याइएको छ। हामीहरू असहाय हुँदाखेरि नै ठिक समयमा ख्रीष्ट अधर्मीहरूका निम्ति मर्नुभयो। धर्मी मानिसका निम्ति मर्न तयार हुने कोही पाइएला, असल मानिसका निम्ति सायद कसैले मर्ने आँट पनि गर्ला, तर परमेश्वरले हामीप्रति आफ्नो प्रेम यसरी दर्शाउनुहुन्छ: हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। ख्रीष्टको रगतद्वारा हामी धर्मी ठहराइएका हुनाले, परमेश्वरको क्रोधबाट उहाँद्वारा निश्चय नै बचाइनेछौँ! किनकि हामी परमेश्वरका शत्रु छँदै उहाँका पुत्रको मृत्युद्वारा उहाँसँग मिलापमा ल्याइएका छौँ भने अब परमेश्वरसँग हाम्रो मिलाप भइसकेपछि उहाँको जीवनमार्फत् अझ बढी बचाइनेछौँ। यति मात्र होइन, तर परमेश्वरमा हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी आनन्दित हुन्छौँ, जसद्वारा हाम्रो मिलाप भएको छ।