प्रेरित 2

2
पेन्तिकोस्टमा पवित्र आत्माको आगमन
1जब पेन्तिकोस्टको#2:1 निस्तार चाडपछि पचासौँ दिनमा मनाइने यहूदीहरूको चाड; यस पदमा भनिएको पेन्तिकोस्टको दिन चाहिँ येशू ख्रीष्‍टको मृत्युको ठिक पचासौँ दिनमा परेको थियो हेर्नुहोस् प्रस 34:22; लेवी 23:15‑23 दिन आइपुग्यो, तब तिनीहरू सबै एकै ठाउँमा एकसाथ भेला भएका थिए। 2अचानक त्यहाँ स्वर्गबाट ठूलो बतास हुरी चलेजस्तै एउटा ठूलो आवाज आयो, र तिनीहरू बसेको पूरै घरलाई त्यसले भरिदियो। 3अनि तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैँ देखे, र ती तिनीहरू हरेकमाथि आएर बसे। 4तिनीहरू सबै पवित्र आत्माले भरिए। तब पवित्र आत्माले तिनीहरूलाई सामर्थ बनाउनुभएअनुसार अन्य भाषाहरूमा बोल्न थाले।
5त्यस समयमा स्वर्गको मुनि भएका हरेक राष्ट्रबाट परमेश्‍वरको भय मान्‍ने यहूदीहरू यरूशलेममा बसेका थिए। 6जब तिनीहरूले यो आवाज सुने, तब अति आश्‍चर्यचकित हुँदै एउटा भीड त्यहाँ जम्मा भयो। किनकि तिनीहरू हरेकले तिनीहरूका आ-आफ्नै भाषामा बोलिरहेका सुने। 7अनि तिनीहरूले एकदमै अचम्म मानेर प्रश्न गरे: “यी बोल्ने मानिसहरू सबै गालीली होइनन् र? 8तब कसरी तिनीहरू हरेकले हाम्रै मातृभाषामा बोलिरहेका हामी सुन्दैछौँ? 9हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, मेसोपोटामिया बासी, यहूदिया, कापाडोकिया, पोन्टस र एशियाका,#2:9 एशियाको प्रान्त वा राज्य प्राचीन रोमी साम्राज्यका केही सहरहरू मिलेर बनेको थियो, जुन आधुनिक टर्कीको पश्‍चिमी भागमा अवस्थित थियो। 10अनि फ्रिगिया र पामफिलिया, इजिप्ट र साइरिनीमा पर्ने लिबियाका धेरैजसो क्षेत्रहरूका बासिन्दाहरू छौँ, र रोमबाट आएका परदेशीहरू 11(यहूदी र यहूदी धर्म मान्‍नेहरू दुवै); क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौँ। सबैले हाम्रा आ-आफ्नै भाषामा परमेश्‍वरको अद्‌भुत कार्यहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौँ!” 12तिनीहरू अचम्म र अन्योलमा परे, र एक-अर्कालाई प्रश्न गर्न थाले, “यसको अर्थ के हो?”
13तर कतिले चाहिँ तिनीहरूलाई हाँसो गरेर भने, “तिनीहरू धेरै मद्य पिएर मातेका छन्।”
भीडलाई पत्रुसको सम्बोधन
14तब पत्रुस एघार जनासँग उभिए। अनि उच्‍च सोरमा भीडलाई यसरी सम्बोधन गरे: “यहूदी मित्रहरू र यरूशलेममा बस्‍नुहुने तपाईं सबै मानिसहरू हो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस्। अनि म जे भन्छु, त्यो ध्यानपूर्वक सुन्‍नुहोस्। 15तपाईंहरूले ठानेझैँ यी मानिसहरू मातेका छैनन्। किनकि अहिले बिहानको नौ मात्र बजेको छ! 16तर यो त अगमवक्ता योएलद्वारा बोलिएको कुरा नै हो:
17“ ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्‍वर भन्‍नुहुन्छ,
म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु।
तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्;
तिमीहरूका छोरा र छोरीहरूले अगमवाणी गर्नेछन्,
तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्।
18ती दिनहरूमा म मेरो आत्मा मेरा सेवकहरू,
स्त्री र पुरुषहरू दुवैमाथि खन्याउनेछु।
अनि तिनीहरूले अगमवाणी बोल्नेछन्।
19अनि माथि आकाशमा अद्‌भुत कार्यहरू देखाउनेछु,
र तल पृथ्वीमा म अलौकिक चिन्हहरू देखाउनेछु,
रगत, आगो र धुवाँका मुस्लाहरू।
20प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अगि
सूर्य अन्धकारमा परिवर्तन हुनेछ,
र चन्द्रमा रगतजस्तै रातो हुनेछ।
21अनि प्रभुको नाम पुकार्ने
हरेक मानिसले उद्धार पाउनेछ।’#2:21 योएल 2:28‑32
22“हे इस्राएलका मानिसहरू हो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई परमेश्‍वरले तपाईंहरूका सामु अचम्मका कामहरू, अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो, जुन तपाईंहरू सबैले जान्‍नुभएकै कुरा हो। यी कामहरू परमेश्‍वरले उहाँद्वारा तपाईंहरूका बीचमा गराउनुभएको हो। 23आफ्नो निश्‍चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्‍वरले तपाईंहरूमा सुम्पनुभएको थियो। उहाँ येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो; 24तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै परमेश्‍वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो। 25दावीदले उहाँको बारेमा भनेका थिए:
“ ‘मेरो सामु प्रभुलाई मैले सधैँ देखेँ।
उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले,
म डगमगाउनेछैनँ।
26यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ;
मेरो शरीर पनि आशामा बाँच्नेछ;
27किनभने तपाईंले मेरो प्राणलाई चिहानमा छोड्नुहुनेछैन,
न त तपाईंले आफ्ना पवित्र जनको शरीर कुहुन दिनुहुनेछ।
28जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभएको छ;
आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’#2:28 भजन 16:8‑11
29“हे सङ्गी भाइहरू हो, म तपाईंहरूलाई निश्‍चयतासाथ भन्‍न सक्छु: हाम्रा पुर्खा दावीद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ। 30तर उनी एउटा अगमवक्ता थिए र उनकै सन्तानमध्ये एक जनालाई परमेश्‍वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको कुरा उनलाई थाहा थियो। 31पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्‍ट पुनरुत्थान हुनुहुनेछ भन्‍ने विषयमा बोले। उहाँ न चिहानमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहियो। 32परमेश्‍वरले यही येशूलाई जीवित पार्नुभयो, र हामी सबै यस तथ्यका साक्षी छौँ। 33परमेश्‍वरको दाहिने हातपट्टि उहाँले उच्‍च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्‍त गर्नुभयो। अनि त्यसैलाई खन्याइदिनुभयो, जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ। 34किनकि दावीद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने,
“ ‘परमप्रभुले मेरा प्रभुलाई भन्‍नुभयो:
“मेरो दाहिने हातपट्टि बस
35जबसम्म म तिम्रा शत्रुहरूलाई
तिम्रा खुट्टाको पाउदान बनाउँदिनँ।” ’#2:35 भजन 110:1
36“त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्‍चयताका साथ जानून्, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यही येशूलाई परमेश्‍वरले प्रभु र ख्रीष्‍ट दुवै बनाउनुभएको छ।”
37जब जम्मा भएका मानिसहरूले यो कुरा सुने, तब तिनीहरूको हृदय छिया-छिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरू हो, अब हामीले के गरौँ?”
38पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाका निम्ति पश्‍चात्ताप गर्नुहोस्, र येशू ख्रीष्‍टको नाममा तपाईंहरू हरेकले बप्‍तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्‍त गर्नुहुनेछ। 39किनकि परमेश्‍वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, र तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्‍नेहरूका निम्ति गर्नुभएको हो। ती सबैका निम्ति, जसलाई प्रभु हाम्रा परमेश्‍वरले बोलाउनुहुन्छ।”
40अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्‍ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।” 41तिनका अर्ती मान्‍नेहरू सबैले बप्‍तिस्मा पाए, र त्यस दिन करिब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए।
दाजुभाइ-दिदीबहिनीहरूको सङ्गति
42तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे। 43प्रेरितहरूद्वारा धेरै अद्‌भुत कार्यहरू र अलौकिक चिन्हहरू गरिएको देखेर सबै भयभीत भए। 44सबै विश्‍वासीहरू एकैसाथ बस्थे, र सबै थोक तिनीहरूमा साझा थिए। 45आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे। 46तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे। अनि घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे। 47अनि परमेश्‍वरको प्रशंसा गर्दै, र सबै मानिसहरूको स्‍नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्‍वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।

Markering

Deel

Kopiëren

None

Wil je jouw markerkingen op al je apparaten opslaan? Meld je aan of log in