YouVersion logo
Dugme za pretraživanje

उत्‍पत्ति 6

6
नोआ र जलप्रलय
1जब मानिसहरूको संख्‍या पृथ्‍वीमा बढ्‌दैगयो र तिनीहरूका छोरीहरू जन्‍मे, #अयू १:६; २:१ 2तब परमेश्‍वरका छोराहरूले मानिसका छोरीहरूलाई सुन्‍दरी देखे, र आ-आफ्‍ना रुचिका पत्‍नीहरू ल्‍याए। 3तब परमप्रभुले भन्‍नुभयो, “मेरो आत्‍माले मानिससँग सधैँ संघर्ष गर्नेछैन, किनभने त्‍यो मरणशील हो। त्‍यसको उमेर एक सय बीस वर्षको हुनेछ।”
4त्‍यस बेला र त्‍यसपछि पनि पृथ्‍वीमा नेफिलीमहरू थिए। परमेश्‍वरका छोराहरू मानिसका छोरीहरूकहाँ जान लागे र सन्‍तान जन्‍माए। तिनीहरू नै उहिलेका शूरवीर र नाउँ चलेका मानिसहरू थिए। #गन्ती १३:३३
5पृथ्‍वीमा मानिसहरूको दुष्‍टता बढ़ी भएको र तिनीहरूका हृदयका विचारको जुनसुकै पनि भावना निरन्‍तर खराबै मात्र भएको परमप्रभुले देख्‍नुभयो। #मत्ती २४:३७; लूक १७:२६; १ पत्र ३:२० 6पृथ्‍वीमा मानिसलाई बनाउनुभएकोमा परमप्रभुले अफसोस गर्नुभयो, र उहाँ मनमा साह्रै दु:खित हुनुभयो। 7त्‍यसकारण परमप्रभुले भन्‍नुभयो, “मैले सृष्‍टि गरेको मानिसलाई पृथ्‍वीबाट म मेटिदिनेछु— के मानिस, के घस्रने जन्‍तु, के आकाशका पक्षी सबैलाई— किनभने ती बनाएकोमा मलाई दु:ख लागेको छ।” 8तर नोआमाथि चाहिँ परमप्रभुको अनुग्रह भयो।
9नोआको वृत्तान्‍त यही हो। #२ पत्र २:५
आफ्‍नो पुस्‍तामा नोआ धर्मी र निर्दोष मानिस थिए। तिनी परमेश्‍वरको साथै हिँड्‌ने गर्थे। 10नोआका तीन जना छोराहरू जन्‍मे— शेम, हाम र येपेत।
11परमेश्‍वरको दृष्‍टिमा पृथ्‍वी भ्रष्‍ट भएको र उपद्रवले भरिएको थियो। 12जब परमेश्‍वरले पृथ्‍वीमाथि दृष्‍टि गर्नुभयो तब त्‍यो भ्रष्‍ट भएको देख्‍नुभयो, किनकि पृथ्‍वीमा भएका सबै मानिसहरूले आफ्‍ना चालचलन भ्रष्‍ट पारिसकेका थिए। 13यसकारण परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “सबै मानिसहरूको अन्‍त्‍य गर्ने मैले अठोट गरेको छु, किनभने पृथ्‍वी तिनीहरूद्वारा उपद्रवले भरिएको छ। हेर, म तिनीहरूलाई पृथ्‍वीसमेत नाश गर्नेछु। 14तैंले गोपेर काठको एउटा जहाज बनाउनू। जहाजमा कोठा-कोठा बनाउनू र त्‍यसलाई भित्र-बाहिर अलकत्राले लिप्‍नू। 15तैंले त्‍यो यसरी बनाउनू: जहाजको लमाइ एक सय चालीस मिटर, चौड़ाइ तेईस मिटर र उचाइ चौध मिटरको होस्‌। 16जहाजमा उज्‍यालो आओस्‌ भनेर त्‍यो मास्‍तिर माथिबाट एक हात छोड़ेर टुङ्ग्याउनू। जहाजको ढोका त्‍यसको एकापट्टि राख्‍नू। पहिलो, दोस्रो र तेस्रो तला भएको त्‍यो बनाउनू। 17जीवनको सास हुने आकाशमुनिका सबै प्राणीलाई म सर्वनाश पार्नलाई पृथ्‍वीमा जलप्रलय ल्‍याउनेछु, र पृथ्‍वीमा भएको हरेक प्राणी मर्नेछ। 18तर तँसँगचाहिँ म आफ्‍नो करार स्‍थापित गर्नेछु। तँ तेरा छोराहरू, तेरी पत्‍नी र तेरा बुहारीहरूसमेत जहाजमा आउनेछस्‌। #उत ८:१६ 19सबै जीवित प्राणीमध्‍ये हरेक जातका भाले र पोथी दुई-दुई गरी जहाजमा ले, र तिनीहरू पनि तँसँग बाँचिरहून्‌। 20पक्षीहरूमध्‍ये तिनीहरूका जात-जातअनुसार, पशुहरूमध्‍ये तिनीहरूका जात-जातअनुसार र जमिनमा घस्रने सबै प्राणीहरूमध्‍ये जात-जातअनुसार— सबै थरीका दुई वटा— तिनीहरू जीवित रहनलाई तँकहाँ आउनेछन्‌। 21हरेक किसिमका आहारा पनि तैंले आफ्‍नो साथमा जम्‍मा गरेर राख्‍नू। ती तेरो र तिनीहरूका निम्‍ति आहार हुनेछन्‌।”
22परमेश्‍वरले नोआलाई आज्ञा गर्नुभएबमोजिम तिनले सबै गरे। #हिब ११:७

Istaknuto

Podijeli

Kopiraj

None

Želiš li da tvoje istaknuto bude sačuvano na svim tvojim uređajima? Kreiraj nalog ili se prijavi