लूका 23
23
येशू पिलातसको सामुन्ने
(मत्ती २७:१-२,११-१४; मर्कूस १५:१-५; यूहन्ना १८:२८-३८)
1त्यसपछि महासभाका सबै सदस्यहरूले येशूलाई रोमी बडा-हाकिम पिलातसकहाँ लगे। 2तिनीहरूले उहाँलाई दोष लगाउँदै भने, “यसले आफैंलाई ‘म मुक्ति दिने राजा ख्रीष्ट हुँ भनेको र रोमी सरकारलाई कर तिर्नुपर्दैन’ भनेर हाम्रो देशका मानिसहरूलाई भड्काइरहेको हामीले भेट्यौं।”
3तिनीहरूको कुरा सुनेर पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैंले भन्दै हुनुहुन्छ।” 4पिलातसले मुख्य पूजाहारीहरू र त्यहाँ जम्मा भएका मानिसहरूलाई भने, “मैले यी मानिसमा कुनै दोष देखिनँ।” 5तर तिनीहरूले कराएर भने, “यसले गालीलबाट सुरु गरेर पूरै यहूदिया र यहाँ पनि आफ्नो शिक्षा दिएर मानिसहरूलाई भड्काउँदै छ।” 6यो सुनेर पिलातसले सोधे, “के यी मानिस गालीली हुन्?”
येशू हेरोदको सामुन्ने
7येशू हेरोदको क्षेत्रको हुनुहुँदोरहेछ भन्ने कुरा थाहा पाएर पिलातसले उहाँलाई हेरोदकहाँ पठाइदिए। त्यस बेला हेरोद यरूशलेमै थिए। 8येशूलाई देख्न पाउँदा हेरोद खुसी भए किनभने उनले येशूको बारेमा सुनेका थिए र धेरै दिनदेखि उहाँलाई हेर्ने इच्छा थियो। उनी येशूले केही अचम्मको काम गर्नुभएको हेर्न पाउँछु भन्ने आशा लिएर बसेका थिए। 9उनले येशूलाई धेरै कुरा सोधे, तर येशूले कुनै पनि उत्तर दिनुभएन। 10मुख्य पूजाहारी र धर्म-गुरुहरूले येशूको विरोधमा अनेक दोष लगाए। 11त्यसपछि हेरोद र उनका सिपाहीहरूले येशूलाई गिल्ला गर्दै अपमान गरे। येशूलाई राजाले लगाउनेजस्तै लुगा लगाइदिएर पिलातसकहाँ नै फर्काइदिए। 12पहिले हेरोद र पिलातसको बीचमा शत्रुता थियो, तर त्यस दिनदेखि तिनीहरूको मेलमिलाप भयो।
येशूलाई मृत्युदण्ड दिइएको
(मत्ती २७:१५-२६; मर्कूस १५:६-१५; यूहन्ना १८:३९—१९:१६)
13त्यसपछि पिलातसले मुख्य पूजाहारी, अगुवा र जनताहरूलाई बोलाएर भने, 14“मानिसहरूलाई भड्काए भनेर तपाईंहरूले यिनलाई मकहाँ ल्याउनुभयो। अहिले यिनलाई तपाईंहरूकै सामुन्ने केरकार गरें, तर तपाईंहरूले लगाउनुभएको कुनै पनि दोष मैले यिनमा पाइनँ। 15हेरोदले पनि केही दोष नभेटेर यिनलाई हामीकहाँ नै फर्काइदिए। हेर्नुहोस्, यिनले मृत्युदण्ड पाउने कुनै अपराध गरेका छैनन्। 16अब म यिनलाई कोर्रा लाएर छोडिदिन्छु।” 17[अब त्यहाँको चलनअनुसार निस्तार चाडमा पिलातसले एउटा कैदीलाई छोडिदिनुपर्थ्यो।] 18तर सबै मानिसहरूले चिच्च्याएर भने, “यसलाई चाहिँ मार्नैपर्छ, बरु बारब्बालाई छोडिदिनुहोस्।” 19बारब्बाचाहिँ सहरमा उत्पात मच्चाएको र अरूको हत्या गरेको हुनाले झ्यालखानमा थुनिएको थियो।
20येशूलाई छोडिदिने विचारले पिलातसले मानिसहरूलाई फेरि सम्झाए। 21तर तिनीहरू सबैले एकै चोटि चिच्च्याएर भने, “त्यसलाई झुण्ड्याउनुहोस्, क्रूसमा झुण्ड्याउनुहोस्!” 22फेरि तेस्रोपल्ट पिलातसले तिनीहरूलाई भने, “किन? यिनले के अपराध गरेका छन् र? मैले त यिनमा मृत्युदण्ड दिनुपर्ने कुनै दोष नै भेटिनँ। भइगयो, म यिनलाई कोर्रा लगाएर छोडिदिन्छु।” 23तर तिनीहरूले झन् ठूलो सोर निकाल्दै भने, “त्यसलाई झुण्ड्याउनै पर्छ!” यसरी मानिसहरूले कराएरै जिते। 24पिलातसले येशूलाई तिनीहरूले भनेजस्तै गर्ने हुकुम दिए। 25उनले उत्पात मच्चाउने ज्यानमारा कैदी बारब्बालाई चाहिँ छोडिदिए र येशूलाई चाहिँ तिनीहरूकै इच्छामा सुम्पिदिए।
येशू क्रूसमा टाँगिनुभएको
(मत्ती २७:३२-४४; मर्कूस १५:२१-३२; यूहन्ना १९:१७-२७)
26येशूलाई लिएर गइरहँदा तिनीहरूले कुरेनी देशको सिमोनलाई भेटे। उनी गाउँबाट सहरतिर आइरहेका थिए। तिनीहरूले उनलाई पक्रे र येशूको क्रूस बोक्न लगाए। 27मानिसहरूको ठूलो भीड येशूको पछि-पछि लागेको थियो। स्वास्नी मानिसहरू पनि येशूको लागि रुँदै र विलाप गर्दै पछि लागिरहेका थिए। 28तिनीहरूतिर फर्केर येशूले भन्नुभयो, “ए यरूशलेमका छोरीहरू हो, मेरो निम्ति होइन, बरु आफ्नै र आफ्ना बालबच्चाहरूको निम्ति रोओ! 29हेर, त्यस्तो दिन आउनेछ, जब मानिसहरूले ‘जन्म नदिने कोखहरू र दूध खुवाउनुनपर्ने स्वास्नी मानिसहरू धन्यका हुन्’ भन्नेछन्। 30#होशे 10:8; प्रकाश 6:16त्यस बेला मानिसहरूले पहाडहरूलाई पनि ‘हामीमाथि खस्’ र डाँडाहरूलाई ‘हामीलाई पुर्’ भन्छन्। 31रूख हरियो हुँदा त यिनीहरूले यसो गर्छन् भने झन् रूख सुक्दा के गर्लान्?”
32तिनीहरूले दुई जना अपराधीहरूलाई पनि येशूसँगै मार्न लैजाँदै थिए। 33तिनीहरू खप्परे भन्ने ठाउँमा आइपुगे। त्यहाँ तिनीहरूले येशूलाई क्रूसमा टाँगेर झुण्ड्याए र ती दुई अपराधीहरूलाई पनि एउटालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई चाहिँ देब्रेपट्टि क्रूसमा टाँगेर झुण्ड्याए। 34#भजनसंग्रह 22:18त्यस बेला येशूले भन्नुभयो, “हे पिता! यिनीहरूलाई क्षमा गर्नुहोस् किनभने यिनीहरूले जे गरिरहेका छन्, त्यो यिनीहरूलाई थाहा छैन।” सिपाहीहरूले चिट्ठा हालेर उहाँको लुगा एक-आपसमा बाँडे। 35#भजनसंग्रह 22:7मानिसहरूले उभिएर हेरिरहेका थिए र अगुवाहरूले चाहिँ उहाँलाई खिसी गर्दै भने, “हेर, यसले अरूलाई त बचायो। यदि यो परमेश्वरले छानेको मुक्ति दिने राजा ख्रीष्ट नै हो भने आफैंलाई पनि बचाओस्।”
36 #
भजनसंग्रह 69:21
सिपाहीहरूले उहाँलाई सिर्का दिएर गिल्ला गर्दै भने, 37“यदि तँ यहूदीहरूका राजा होस् भने आफैंलाई बचा।” 38क्रूसमा उहाँको शिरमाथि ‘यो यहूदीहरूका राजा हो’ भनेर लेखिएको फलेक झुण्ड्याइएको थियो। 39येशूसँगै झुण्ड्याइएका दुई अपराधीहरूमध्ये एउटाले येशूलाई खिसी गर्दै भन्यो, “के तँ नै मुक्ति दिने राजा ख्रीष्ट होइनस्? त्यसो भए तँ आफैंलाई बचा र हामीलाई पनि बचा!” 40तर अर्को अपराधीले त्यसलाई हप्काउँदै भन्यो, “तिमीलाई परमेश्वरको डर लाग्दैन? तिमीले पनि त उहाँकै जस्तो दण्ड भोगिरहेका छौ। 41हामीले त नराम्रो काम गरेकोले उचित दण्ड पायौं, तर हेर, उहाँले त कुनै नराम्रो काम गर्नुभएको थिएन।” 42त्यसपछि उसले येशूलाई भन्यो, “हे येशू, तपाईं राजा भएर आउनुहुँदा मलाई पनि सम्झिनुहोस्!” 43येशूले उनलाई भन्नुभयो, “म तिमीलाई भन्छु, आज नै तिमी मसँग स्वर्गमा हुनेछौ।”
येशूको मृत्यु
(मत्ती २७:४५-५६; मर्कूस १५:३३-४१; यूहन्ना १९:२८-३०)
44 #
प्रस्थान 26:31-33
मध्यदिन भएको थियो। त्यही समयदेखि तीन बजेसम्म देशभरि अँध्यारो भयो। 45घामले पनि उज्यालो दिएन। तीन बजेतिर मन्दिरभित्र टाँगिएको पर्दा दुई भाग भएर च्यातियो। 46#भजनसंग्रह 31:5अनि ठूलो सोरले येशू कराउनुभयो, “हे पिता, म मेरो आत्मालाई तपाईंकै हातमा सुम्पँदै छु।” यति भनेर उहाँले प्राण त्याग्नुभयो।
47यस्तो भएको देखेर रोमी सिपाहीहरूका कप्तानले परमेश्वरको प्रशंसा गर्दै भने, “साँच्चै यी मानिस धर्मी रहेछन्।” 48यी सबै भएको हेर्न आउने मानिसहरू रुँदै र विलाप गर्दै घरतिर फर्के। 49#लूका 8:2,3उहाँलाई चिन्नेहरू अनि गालील क्षेत्रबाट आएका उहाँको भक्ति गर्ने स्त्रीहरूले टाढैबाट उभिएर यी सबै घटना हेरिरहेका थिए।
येशूलाई चिहानमा राखिएको
(मत्ती २७:५७-६१; मर्कूस १५:४२-४७; यूहन्ना १९:३८-४२)
50-51महासभाका सदस्यहरूमध्ये यहूदिया क्षेत्रको अरिमाथिया सहरबाट आएका एक जना योसेफ नाउँ गरेका मानिस थिए। तिनी असल र इमानदार मानिस थिए र तिनले परमेश्वरको राज्यलाई पर्खिरहेका थिए। महासभाका मानिसहरूले येशूलाई मार्ने विचार गर्दा तिनले विरोध गरेका थिए। 52अब तिनले पिलातसकहाँ गएर येशूको लाश लैजाने अनुमति मागे। 53अनुमति पाएपछि तिनले लाशलाई क्रूसबाट झारे अनि असल सुती कपडाले बेरी पहरामा कोपेर गुफाजस्तै बनाइराखेको चिहानमा राखे। त्यो चिहानमा पहिले कसैको लाश राखिएको थिएन। 54त्यो दिनचाहिँ तयारीको दिन भन्ने विश्राम दिनको अघिल्लो दिन थियो अनि विश्राम दिन सुरु हुन लागेको थियो। 55गालील क्षेत्रबाट येशूलाई पछ्याएर आउने स्त्रीहरू पनि योसेफसँगै गए र चिहानमा लाश राखेको हेरे। 56#प्रस्थान 20:10; व्यवस्था 5:14त्यसपछि तिनीहरूले घर फर्किएर लाशमा लगाउने सुगन्धित मलम र अत्तर ठीक पारे। तर भोलिपल्ट पवित्र विश्राम दिन भएको हुनाले तिनीहरूले यहूदी नियम मानेर विश्राम गरे।
Currently Selected:
लूका 23: सरल नेपाली
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.