प्रेरित 2
2
पेन्तिकोसमा पवित्र आत्माको आगमन
1जब पेन्तिकोसको#2:1 निस्तार चाडपछि पचासौं दिनमा मनाइने यहूदीहरूको चाड; यस पदमा भनिएको पेन्तिकोसको दिन चाहिँ येशू ख्रीष्टको मृत्युको ठीक पचासौं दिनमा परेको थियो हे. प्रस 34:22; लेवी 23:15-23 दिन आइपुग्यो, तिनीहरू सबै एकै ठाउँमा एकसाथ भेला भएका थिए। 2अचानक ठूलो बतास चलेको हुरीको जस्तै एउटा ठूलो आवाज त्यहाँ स्वर्गबाट आयो र तिनीहरू बसिरहेको पूरै घरलाई त्यसले भरिदियो। 3तिनीहरूले आगोका ज्वालाका जिब्राहरूझैं देखे, अनि ती तिनीहरू हरेकमाथि आएर बसे। 4तिनीहरू सबै पवित्र आत्माले भरिए, र पवित्र आत्माले सामर्थ बनाउनुभएअनुसार तिनीहरू अन्य भाषाहरूमा बोल्न थाले।
5त्यस समयमा स्वर्गको मुनि भएका हरेक जातिबाट परमेश्वरको भय मान्ने यहूदीहरू यरूशलेममा बसोबास गर्दथे। 6जब तिनीहरूले यो आवाज सुने, अति आश्चर्य चकित हुँदै एउटा भीड त्यहाँ जम्मा भयो; किनकि हरेकले तिनीहरूका आ-आफ्नै भाषामा बोलिरहेका सुने। 7अनि तिनीहरू एकदमै अचम्म मानेर प्रश्न गरे: “यी बोल्ने सबै मानिसहरू के गालीलीहरू होइनन् र? 8त कसरी तिनीहरू हरेकले हाम्रै मातृभाषामा बोलिरहेका हामीहरू सुन्दैछौं? 9हामीहरू यहाँ पार्थीहरू, मादीहरू र एलामीहरू, मेसोपोटामिया बासी, यहूदिया, कापाडोकिया, पोन्टस र एशियाका,#2:9 एशियाको प्रान्त वा राज्य प्राचीन रोमी साम्राज्यका केही शहरहरू मिलेर बनेको थियो, जुन आधुनिक टर्कीको पश्चिमी भागमा अवस्थित थियो। 10अनि फ्रिगिया र पामफिलिया, इजिप्ट देश र साइरिनीमा पर्ने लिबियाका धेरैजसो क्षेत्रहरूका बासिन्दाहरू छौं र रोमबाट आएका परदेशीहरू 11(यहूदी र यहूदी धर्म मान्नेहरू दुवै); क्रेटका बासिन्दाहरू र अरबीहरू पनि छौं; अनि सबैले हाम्रो आ-आफ्नै भाषामा परमेश्वरको आश्चर्यपूर्ण कामहरूको चर्चा तिनीहरूले गरिरहेका सुन्दैछौं!” 12अचम्म र अन्योलमा परे, र तिनीहरू एक-अर्कालाई प्रश्न गर्न थाले, “यसको अर्थ के हो?”
13तर कतिले चाहिँ तिनीहरूका हाँसो गरेर भने, “धेरै मद्यपान गरेर तिनीहरू मात्तिएका छन्।”
भीडलाई पत्रुसको सम्बोधन
14तब पत्रुस एघारै जनासँग उभिए, र उच्च सोरमा भीडलाई यसरी सम्बोधन गरे: “यहूदी मित्रहरू र यरूशलेममा बस्नुहुने तपाईं सबै मानिसहरूहो, तपाईंहरूसमक्ष यसको अर्थ मलाई वर्णन गर्न दिनुहोस् र म जे भन्छु त्यो ध्यानपूर्वक सुनिदिनुहोस्। 15तपाईंहरूले ठानेझैं यी मानिसहरू मातेका छैनन्; किनकि अहिले बिहानको नौ मात्र बजेको छ! 16तर यो त अगमवक्ता योएलद्वारा बोलिएको कुरो नै हो:
17“ ‘अन्तिम दिनहरूमा यस्तो हुनेछ भनी परमेश्वर भन्नुहुन्छ,
सबै मानिसहरूमाथि म मेरो आत्मा खन्याइदिनेछु।
अनि तिमीहरूका छोराछोरीहरूले अगमवाणी बोल्नेछन्,
तिमीहरूका जवानहरूले दर्शनहरू देख्नेछन्,
तिमीहरूका बुढापाकाहरूले सपना देख्नेछन्।
18ती दिनहरूमा मेरा सेवक-सेविकाहरूमाथि पनि
म मेरो आत्मा खन्याइदिनेछु,
अनि तिनीहरूले अगमवाणी बोल्नेछन्।
19अनि माथि आकाशमा म आश्चर्यपूर्ण कामहरू देखाउनेछु,
र तल पृथ्वीमा अद्भुत चिन्हहरू देखाउनेछु
रगत, आगो र धूवाँका मुस्लाहरू।
20प्रभुको महान् र गौरवशाली दिन आउनुभन्दा अघि
सूर्य अन्धकारमा र
चन्द्रमा रगतमा परिणत हुनेछन्।
21अनि प्रभुको नाउँ पुकार्ने
हरेक मानिसले उद्धार पाउनेछ।’#2:21 योए 2:28-32
22“हे इस्राएलका मानिसहो, यो कुरा राम्रोसँग बुझ्नुहोस्: नासरतका येशू यस्तो मानिस हुनुहुन्थ्यो, जसलाई तपाईंहरूका सामु परमेश्वरले शक्तिशाली कामहरू, आश्चर्यपूर्ण कामहरू र अद्भुत चिन्हहरूद्वारा प्रमाणित गर्नुभयो। तपाईंहरू सबैले जानेकै कुरा हो, तपाईंहरूका बीचमा यी कामहरू परमेश्वरले उहाँद्वारा गराउनुभएको हो। 23आफ्नो निश्चित योजना र पूर्वज्ञानद्वारा यी व्यक्तिलाई परमेश्वरले तपाईंहरूमा सुम्पनुभएको थियो। यिनै येशूलाई अधर्मी मानिसहरूको मदतद्वारा क्रूसमा काँटी ठोकी झुण्ड्याएर मार्ने काम तपाईंहरूले गर्नुभयो; 24तर मृत्युको पीडाबाट छुटकारा दिलाउँदै, परमेश्वरले उहाँलाई मृतकबाट जीवित पार्नुभयो; किनकि मृत्युले उहाँलाई आफ्नो अधीनमा राखिरहन असम्भव थियो। 25दाविदले उहाँको बारेमा भनेका थिए:
“ ‘मेरो सामु प्रभुलाई मैले सधैं देखें।
उहाँ मेरो दाहिनेपट्टि हुनुभएकोले,
म कहिल्यै डगमगाउने छैनँ।
26यसैकारण मेरो हृदय आनन्दित छ, र मेरो जिब्रो हर्षित छ;
मेरो शरीर पनि आशामा बाँच्नेछ;
27किनकि तपाईंले मेरो प्राणलाई पातालमा छोड्नुहुनेछैन,
तपाईंले आफ्नो पवित्र जनको शरीर कुहिन दिनुहुनेछैन।
28जीवनका मार्गहरू तपाईंले मलाई थाहा गराउनुभयो;
आफ्नो उपस्थितिमा तपाईंले मभित्र आनन्द भरिदिनुहुनेछ।’#2:28 भजन 16:8-11
29“सङ्गी भाइहरूहो, म तपाईंहरूलाई निश्चयतासाथ भन्न सक्छु: हाम्रा पुर्खा दाविद मरेर गाडिएका थिए, र उनको चिहान आजसम्म पनि छँदैछ। 30तर उनी एउटा अगमवक्ता थिए। उनकै सन्तानमध्ये एकजनालाई परमेश्वरले उनको सिंहासनमा बसाल्नुहुनेछ भनेर उहाँले शपथ खाएर उनीसँग प्रतिज्ञा गर्नुभएको उनलाई थाहा थियो। 31पछि हुने घटना पहिले नै थाहा पाएकाले उनले ख्रीष्ट पुनर्जीवित हुनुहुनेछ भन्ने विषयमा बोले। उहाँ न पातालमा त्यसै छोडिनुभयो, न त उहाँको शरीर कुहिन दिनुभयो। 32परमेश्वरले यिनै येशूलाई जीवित पार्नुभयो र हामी सबै यस तथ्यका साक्षी छौं। 33परमेश्वरको दाहिने हातपट्टि उहाँले उच्च स्थान पाउनुभयो। अनि पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा प्राप्त गर्नुभयो र त्यसैलाई यहाँ खन्याइदिनुभयो जुन तपाईंहरू अहिले देख्दै र सुन्दै हुनुहुन्छ। 34किनकि दाविद स्वर्गमा उचालिएनन्, तैपनि उनले यसो भने,
“ ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो:
“मेरो दाहिने हातपट्टि बस
35जबसम्म म तिम्रा शत्रुहरूलाई
तिम्रा खुट्टाको पाउदान बनाउँदिन।” ’#2:35 भजन 110:1
36“त्यसैकारण सबै इस्राएलीहरूले यो कुरा निश्चयताका साथ जानून् कि, तपाईंहरूले क्रूसमा टाँग्नुभएको यिनै येशूलाई परमेश्वरले प्रभु र ख्रीष्ट दुवै बनाउनुभयो।”
37जब त्यहाँ जम्मा भएका मानिसहरूले यो कुरा सुने, तिनीहरूका हृदय छियाछिया भयो! अनि तिनीहरूले पत्रुस र अरू प्रेरितहरूलाई सोधे, “ए भाइहरूहो, अब हामीले के गर्नुपर्छ?”
38अनि पत्रुसले जवाफ दिए, “तपाईंहरूले गरेका पाप क्षमाको निम्ति पश्चात्ताप गर्नुहोस् र येशू ख्रीष्टको नाममा तपाईंहरू हरेकले बप्तिस्मा लिनुहोस्। त्यसपछि तपाईंहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नुहुनेछ। 39किनकि परमेश्वरले यो प्रतिज्ञा तपाईंहरूका निम्ति, तपाईंका सन्तानका निम्ति र टाढा-टाढा बस्नेहरूका निम्ति गर्नुभएको हो, ती सबैका निम्ति जसलाई प्रभु हाम्रा परमेश्वरले बोलाउनुहुन्छ।”
40अरू पनि धेरै कुराहरू भनेर तिनले उनीहरूलाई चेतावनी दिए; र तिनीहरूलाई अर्ती दिँदै यसो भने, “यो भ्रष्ट पुस्ताबाट आफूलाई बचाउनुहोस्।” 41तिनका अर्ती मान्नेहरू सबैले बप्तिस्मा पाए, र त्यस दिन करीब तीन हजार जति मानिसहरू तिनीहरूका संख्यामा थपिए।
दाजुभाइ-दिदीबहिनीहरूको सङ्गति
42तिनीहरूले प्रेरितहरूका शिक्षा, सङ्गति, रोटी भाँच्ने काम र प्रार्थनामा आफूलाई भक्तिसाथ लगाइराखे। 43प्रेरितहरूद्वारा धेरै आश्चर्यपूर्ण कामहरू र चिन्हहरू गरिएको देखेर सबै भयभीत भए। 44सबै विश्वासीहरू एकैसाथ बस्थे र सबै थोक तिनीहरूमा साझा थिए। 45आफ्ना सम्पत्ति र मालमत्ताहरू बेचेर जसलाई खाँचो पर्थ्यो, त्यसलाई तिनीहरूले दिन्थे। 46तिनीहरू हरेक दिन मन्दिरका आँगनहरूमा एकसाथ भेट्ने गर्थे र घर-घरमा रोटी भाँच्दै एकैसाथ शुद्ध हृदयले आनन्दसाथ खान्थे, 47र परमेश्वरको प्रशंसा गर्दै र सबै मानिसहरूको स्नेह पाउँदै बस्थे। तिनीहरूका संख्यामा परमेश्वरले उद्धार पाउनेहरूलाई दिनदिनै थप्दै जानुहुन्थ्यो।
Currently Selected:
प्रेरित 2: NCV
Highlight
Share
Copy
Want to have your highlights saved across all your devices? Sign up or sign in
पवित्र बाइबल, नेपाली समकालीन संस्करण™
प्रतिलिपि अधिकार © 1998, 2006, 2021 Biblica, Inc.
अनुमतिसहित प्रयोग गरिएको छ। सम्पूर्ण अधिकार विश्वव्यापी रूपमा सुरक्षित रहनेछ।
Nepali Contemporary Version™, New Testament
Copyright © 1998, 2006, 2021 by Biblica, Inc.
Used with permission. All rights reserved worldwide.