YouVersion Logo
Search Icon

हिब्रूहरू 5

5
1हरेक प्रधान पूजाहारी पापको लागि भेटीहरू र बलिदानहरू चढाउनलाई मानिसहरूमध्येबाट नै छानिएका हुन्छन्, र परमेश्‍वर सम्बन्धी कुराहरूमा मानिसहरूको प्रतिनिधित्व गर्न नियुक्‍त भएका हुन्छन्। 2तिनी आफै पनि दुर्बलताको अधीनमा भएको हुनाले, तिनले अन्जान र बरालिएकाहरूसँग नम्रतापूर्वक व्यवहार गर्न सक्छन्। 3यसैकारण तिनले आफ्नै पापको लागि साथै मानिसहरूको पापको लागि बलिदानहरू चढाउनुपर्छ। 4अनि कसैले यो सम्मान आफै लिन सक्दैन, तर तिनलाई पनि हारूनलाई झैं परमेश्‍वरको बोलावट भएपछि प्राप्‍त हुन्छ।
5यसरी ख्रीष्‍टले पनि प्रधान पूजाहारी हुने महिमा आफैले लिनुभएन, तर परमेश्‍वरले ख्रीष्‍टलाई भन्‍नुभयो:
“तिमी मेरा पुत्र हौ,
आज म तिम्रो पिता भएको छु।”#5:5 भजन 2:7
6अनि अर्को ठाउँमा उहाँ भन्‍नुहुन्छ,
“मल्कीसेदेकको दर्जाबमोजिम,
तिमी सदा-सर्वदाको लागि एक पूजाहारी हौ।”#5:6 भजन 110:4
7येशू यस संसारमा रहनुभएका दिनहरूमा, मृत्युदेखि बचाउन सक्नुहुनेलाई उहाँले जोडले कराएर आँसुसहित प्रार्थना र अन्तर्विन्ती चढाउनुभयो, र उहाँको भक्‍तिपूर्ण समर्पणको कारण त्यो सुनुवाइ भयो। 8उहाँ परमेश्‍वरका पुत्र हुनुभए तापनि उहाँले कष्‍ट सहनुभएर आज्ञाकारीता सिक्नुभयो। 9अनि एकपल्ट सिद्ध हुनुभएपछि, उहाँको आज्ञा मान्‍नेहरू सबैको लागि अनन्त मुक्‍तिको स्रोत हुनुभयो, 10अनि मल्कीसेदेकको दर्जाबमोजिम प्रधान पूजाहारी नियुक्‍त हुनुभयो।
पतनको विरुद्ध चेतावनी
11हामीलाई यस विषयमा भन्‍नु त धेरै नै छ, तर यसलाई स्पष्‍टसँग बुझाउनु कठिन छ; किनकि तिमीहरू सिक्ने कुरामा ढिला छौ। 12वास्तवमा अहिलेसम्म त तिमीहरू शिक्षकहरू भइसक्नुपर्नेथियो, तर तिमीहरूलाई त कसैले परमेश्‍वरको वचनका सुरुका शिक्षाहरू फेरि दोहोर्‍याएर सिकाउन खाँचो परेको छ। तिमीहरूलाई खँदिलो भोजन होइन, तर दूधै चाहिन्छ! 13दूध पिएर बाँच्ने जोसुकै पनि बालक भएको हुनाले, धार्मिकता विषयको शिक्षामा अनभिज्ञ हुन्छ। 14तर खँदिलो भोजनचाहिँ हुर्किएकाहरूका लागि हो, जसले ती निरन्तर प्रयोग गर्छन्, आफूलाई दुष्‍टताबाट असल चिन्‍ने कुरामा तालिम दिएका हुन्छन्।

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in