YouVersion Logo
Search Icon

मर्कूस 7

7
आन्तरिक शुद्धताको बारेमा येशूको शिक्षा
1एक दिन यरूशलेमबाट आएका फरिसी र व्यवस्थाका केही शिक्षकहरू येशूका चारैतिर भेला भए। 2अनि उहाँका केही चेलाहरूले अशुद्ध हात अर्थात् नधोइएका हातहरूले भोजन खाइरहेका देखे। 3(फरिसीहरू र सारा यहूदीहरू पुर्खाहरूका परम्पराको विधिअनुसार हात नधोई भोजन गर्दैनन्। 4जब तिनीहरू बजारबाट आउँछन्, तिनीहरू स्‍नान नगरी खाँदैनन्। अनि तिनीहरू कचौरा, जग, कित्लीहरू पखाल्ने जस्ता अरू धेरै किसिमका परम्परा मान्दछन्।)
5यसकारण फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले येशूलाई सोधे, “तपाईंका चेलाहरू किन पुर्खाहरूको परम्पराअनुसार चल्दैनन्, तर अशुद्ध हातले भोजन खान्छन्?”
6उहाँले जवाफ दिनुभयो, “तिमी कपटीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठीक भनेका थिए; जस्तो लेखिएको छ:
“ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्,
तर तिनीहरूका हृदय मदेखि टाढो छ।
7तिनीहरूले व्यर्थमा मेरो आराधना गर्छन्,
तिनीहरूका शिक्षा खाली मानवीय नियम मात्र हुन्।’#7:7 यशै 29:13
8तिमीहरू परमेश्‍वरका आज्ञाहरू त्यागेर मानिसहरूको परम्परामा लागिरहन्छौ।”
9अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूसित आफ्नै परम्पराको निम्ति परमेश्‍वरका आज्ञाहरू पन्छाउने चतुर उपाय छ! 10किनकि मोशाले भने, ‘आफ्ना बुबाआमालाई आदर गर,’#7:10 प्रस 20:12; व्यव 5:16 अनि, ‘जसले आफ्ना बुबा वा आमालाई सराप्छ, त्यो मारिनुपर्छ।’#7:10 प्रस 21:17; लेवी 20:9 11तर तिमीहरू भन्दछौ, कुनै मानिसले आफ्ना बुबा वा आमालाई ‘तपाईंले मबाट जुन सहायता पाउनुपर्ने हो, त्यो कुरबान हो’ अर्थात् परमेश्‍वरलाई चढाइसकिएको भेटी भनेर, 12अनि तिमीहरू त्यसलाई आफ्नो बुबा वा आमाको लागि केही गर्न दिँदैनौ। 13यसरी तिमीहरूले आफ्नो चलिआएको परम्पराद्वारा परमेश्‍वरको वचनलाई व्यर्थको तुल्याउँछौ। अनि तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।”
14येशूले भीडलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “तिमीहरू हरेकले मेरो कुरा सुन, अनि त्यसलाई बुझ। 15मानिसको बाहिर रहेको कुनै कुराले पनि ऊभित्र पसेर उसलाई अशुद्ध बनाउन सक्दैन। बरु मानिसको हृदयबाट जे बाहिर निस्कँदछन्, ती कुराहरूले चाहिँ उसलाई अशुद्ध बनाउँदछन्। 16जसको सुन्‍ने कानहरू छन्, त्यसले सुनोस् र बुझोस्।#7:16 प्राचीन पा.लि.हरूमा यो पद पाइँदैन
17उहाँ भीडलाई छोडेर घरभित्र पस्‍नुभएपछि, उहाँका चेलाहरूले उहाँलाई त्यस दृष्‍टान्तको विषयमा सोधे। 18उहाँले सोध्नुभयो, “के तिमीहरू यतिका अबुझ छौ? बाहिरबाट मानिसभित्र पसेको कुनै कुराले पनि उसलाई अशुद्ध बनाउन सक्दैन भनी तिमीहरू जान्दैनौ? 19किनकि त्यो त उसको हृदयमा होइन, तर पेटमा पस्छ, अनि शरीर बाहिर निस्कन्छ।” त्यसो भनेर येशूले सबै भोजन शुद्ध छन् भनी घोषणा गर्नुभयो।
20उहाँले अझ भन्‍नुभयो: “मानिसबाट जे बाहिर निस्कन्छ त्यसले उसलाई ‘अशुद्ध’ बनाउँछ। 21किनकि भित्रबाट मानिसको हृदयबाट दुष्‍ट विचार आउँछन्; अनैतिकता, चोरी, हत्या, 22व्यभिचार, लोभ, ईर्ष्या, छल, कामुकता, डाह, निन्दा, घमण्ड अनि मूर्खता। 23यी सबै दुष्‍ट कुराहरू भित्रबाट निस्कँदछन्, अनि मानिसलाई अशुद्ध बनाउँछन्।”
फोनिकेबासी स्त्रीको विश्‍वास
24येशू त्यो ठाउँ छोडेर टायरका छेउछाउका इलाकाहरूतिर जानुभयो। उहाँ एउटा घरमा पस्‍नुभयो, अनि यो कुरा कसैलाई थाहा नभएको चाहनुहुन्थ्यो; तरै पनि उहाँले आफ्नो उपस्थिति गुप्‍त राख्न सक्नुभएन। 25वास्तवमा अशुद्ध आत्माले सताएकी एउटी केटीकी आमा येशूको विषयमा सुन्‍नासाथ आई, र उहाँको पाउमा परी। 26त्यो स्त्री सिरियाको फोनिकेमा जन्मेकी ग्रीक थिई। उसले येशूलाई आफ्नी छोरीबाट भूत निकालिदिनलाई विन्ती गरी।
27उहाँले त्यसलाई भन्‍नुभयो, “पहिला छोराछोरीहरूलाई चाहेजति खान देऊ; किनकि छोराछोरीको रोटी लिएर कुकुरहरूको अघि फालिदिनु उचित हुँदैन।”
28त्यसले जवाफ दिई, “हो प्रभु, तर कुकुरहरूले पनि त टेबुलमुनि छोराछोरीले खसालेका टुक्राहरू खान्छन्।”
29तब उहाँले त्यसलाई भन्‍नुभयो, “यस्तो जवाफको निम्ति, तिमी जाऊ; भूतले तिम्री छोरीलाई छोडिसकेको छ।”
30ऊ घर गई, अनि आफ्नी छोरीलाई ओछ्यानमा पस्रिरहेकी र भूत निस्किसकेको भेट्टाई।
येशूले सुन्‍न नसक्ने र बोल्न नसक्ने मानिसलाई निको पार्नुभएको
31तब येशू टायरका छेउछाउ छोडेर सीदोन हुँदै गालीलको समुद्र अनि डेकापोलिसको क्षेत्रतिर जानुभयो। 32त्यहाँ केही मानिसहरूले उहाँकहाँ एकजना सुन्‍न नसक्ने र भकभके मानिसलाई ल्याए, अनि त्यस मानिसमाथि आफ्नो हात राखिदिनहुन येशूलाई विन्ती गरे।
33येशूले त्यस मानिसलाई भीडबाट अलग्गै एकातिर लग्नुभयो, र आफ्ना औंलाहरू त्यस मानिसका कानहरूमा लगाउनुभयो। तब उहाँले थुकेर त्यस मानिसको जिब्रो छुनुभयो। 34उहाँले स्वर्गतिर हेरेर लामो सास लिएर त्यसलाई भन्‍नुभयो, “एफाता!” (जसको अर्थ हो, “खोलिजा!”) 35यसो हुँदा त्यस मानिसका कानहरू खोलिए, त्यसको जिब्रो चल्यो, र त्यो स्पष्‍ट गरी बोल्न थाल्यो।
36येशूले तिनीहरूलाई यो कसैलाई नभन्‍नू भनी आज्ञा दिनुभयो; तर उहाँले जति यसो भन्‍नुभयो, तिनीहरूले झन् धेरै यसबारे भनिरहे। 37मानिसहरू आश्‍चर्य चकित भए; अनि तिनीहरूले भने, “उहाँले हरेक कुरो असल गर्नुभएको छ! उहाँले सुन्‍न नसक्नेलाई सुन्‍ने र बोल्न नसक्नेलाई समेत बोल्ने तुल्याउनुहुन्छ।”

Currently Selected:

मर्कूस 7: NCV

Highlight

Share

Copy

None

Want to have your highlights saved across all your devices? Sign up or sign in

Video for मर्कूस 7