मत्ती 2

2
ज्योतिषीहरूको आगमन
1राजा हेरोदको समयमा यहूदियाको बेथलेहेममा येशूको जन्म भएपछि पूर्वबाट ज्योतिषीहरू यरूशलेममा आए 2र सोधे, “यहूदीहरूका राजा भएर जन्मनुभएको कहाँ हुनुहुन्छ? हामीले पूर्वमा उहाँको तारा देख्यौं र हामी उहाँलाई दण्डवत् गर्न आएका छौं।”
3त्यस बेला राजा हेरोदले जब यो सुने, तिनी र यरूशलेममा भएका सबै विचलित भए। 4अनि तिनले सबै मुख्य पूजाहारीहरू र व्यवस्थाका शिक्षकहरूलाई बोलाए र ख्रीष्‍टको जन्म कहाँ भएको हो भनी सोधे। 5तिनीहरूले जवाफ दिए, “यहूदियाको बेथलेहेममा, किनकि अगमवक्‍ताले यसरी लेखेका छन्:
6“ ‘तर यहूदा प्रदेशमा भएको बेथलेहेम,
तिमी कुनै किसिमले पनि यहूदाका शासकहरूमध्ये सानो छैनौ;
किनकि तिमीबाट एकजना शासक आउनुहुनेछ
जो मेरा मानिस, इस्राएलका गोठाला हुनुहुनेछ।’ ”#2:6 मीका 5:2, 4
7तब हेरोदले ज्योतिषीहरूलाई सुटुक्‍क बोलाएर तारा देखा परेको ठीक समय पत्ता लगाए। 8अनि तिनले तिनीहरूलाई बेथलेहेममा पठाएर यसो भने, “जाओ अनि होसियारीसाथ बालकलाई खोज। तिमीहरूले तिनलाई भेट्टाउने बित्तिकै मलाई भन र म पनि गएर तिनलाई दण्डवत् गर्नेछु।”
9राजाबाट यो कुरा सुनेपछि तिनीहरू आफ्नो बाटो लागे, अनि तिनीहरूले पूर्वमा देखेको त्यो तारा, तिनीहरू त्यस बालक भएको ठाउँमा नपुगुन्जेल तिनीहरूका अघि लाग्यो। 10जब तिनीहरूले त्यो तारा देखे, तब तिनीहरू अति आनन्दित भएर रमाए। 11घरमा आइपुगेपछि तिनीहरूले बालकलाई आफ्नी आमा मरियमको साथमा देखे अनि तिनीहरूले घोप्टो परेर उहाँलाई दण्डवत् गरे। तब तिनीहरूले आफ्ना कन्तुर खोलेर उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका भेटी चढाए। 12त्यस रात हेरोदकहाँ नजानू भन्‍ने सपनामा चेतावनी पाएर तिनीहरू अर्कै बाटो भएर आफ्नो देशमा फर्के।
इजिप्ट देशतिर प्रस्थान
13तिनीहरू गइसकेपछि प्रभुको एउटा दूत सपनामा योसेफकहाँ देखा परेर भने, “उठ, बालक र तिनकी आमालाई लिएर इजिप्ट देशमा#2:13 अथवा इजिप्टमा भागिहाल। मैले फेरि केही नभनुन्जेल त्यहीं बस, किनकि हेरोदले बालकलाई खोजेर मार्न खोज्दैछ।”
14यसकारण तिनी उठे, बालक र तिनकी आमालाई लिएर राती नै इजिप्ट देशतिर प्रस्थान गरे, 15जहाँ तिनीहरू हेरोदको मृत्यु नभईन्जेल रहे। अनि यसरी परमेश्‍वरले आफ्ना अगमवक्‍ताद्वारा भन्‍नुभएको वचन पूरा भयो: “मैले आफ्नो पुत्रलाई इजिप्ट देशबाट बोलाएँ।”#2:15 होशे 1:1
16जब ज्योतिषीहरूद्वारा आफू ठगिएको हेरोदले थाहा पाए, तब तिनी औधी रिसाए अनि ज्योतिषीहरूद्वारा ठीक पत्तो लगाइएको समयअनुसार बेथलेहेम र त्यसका सिमानामा भएका दुई वर्ष र त्यस मुनिका बालकहरूलाई मार्ने आदेश दिए। 17तब यर्मिया अगमवक्‍ताद्वारा भनिएको यो वचन पूरा भयो:
18“रामामा एउटा आवाज सुनियो,
रुवाइ र ठूलो विलाप,
राहेल आफ्ना बालकहरूको निम्ति रोएकी
अनि तिनी शान्त हुन नमानेकी,
किनकि तिनीहरू अब रहेनन्।”#2:18 यर्मिया 31:15
नासरतमा फर्केका
19हेरोदको मृत्युपछि, प्रभुको एउटा दूत इजिप्ट देशमा सपनामा योसेफकहाँ देखा परे, 20अनि भने, “उठ, बालक र तिनकी आमालाई लिएर इस्राएलको मुलुकमा जाऊ, किनकि बालकको जीवन लिन चाहनेहरू मरिसकेका छन्।”
21अनि तिनी उठे, बालक र तिनकी आमालाई लिई इस्राएलको मुलुकमा गए। 22तर जब तिनले हेरोदको ठाउँमा तिनका पिताको ठाउँमा अर्खिलाउसले यहूदियामा राज्य गर्दैछन् भन्‍ने सुने, तब तिनी त्यहाँ जान डराए। तब सपनामा चेतावनी पाएर तिनी गालीलको जिल्‍लामा गए। 23अनि तिनी नासरत भन्‍ने शहरमा गएर बसे। यसरी अगमवक्‍ताहरूद्वारा भनिएको कुरा पूरा भयो: “उहाँलाई नासरी भनिनेछ।”

Zur Zeit ausgewählt:

मत्ती 2: NCV

Markierung

Teilen

Kopieren

None

Möchtest du deine gespeicherten Markierungen auf allen deinen Geräten sehen? Erstelle ein kostenloses Konto oder melde dich an.