Logo de YouVersion
Icono de búsqueda

यूहन्‍ना 12

12
बेथानीमा येशूको अभिषेक
1निस्तार चाड सुरु हुनुभन्दा छ दिन अघि येशू लाजरस बस्‍ने ठाउँ बेथानीमा आइपुग्नुभयो। तिनै लाजरस, जसलाई येशूले मरेकाबाट जीवित पार्नुभएको थियो। 2येशूको सम्मानमा त्यहाँ भोज तयार गरिएको थियो। मार्थाले भोजनको तयार गरिन्, लाजरस पनि येशूसँग खान बस्‍नेहरूमध्ये एक थिए। 3अनि मरियमले जटामसीबाट बनेको आधा लिटर जति सुगन्धित र अति महङ्गो अत्तर ल्याइन् र येशूको पाउमा खन्याएर आफ्नै कपालले येशूको पाउ पुछी; अनि अत्तरको सुवास्‍नाले घर भरियो।
4उहाँका चेलाहरूमध्ये उहाँलाई पछि गएर विश्‍वासघात गर्ने यहूदा इस्करियोतले विरोध गर्दै भन्यो, 5“यो अत्तर बेचेर गरिबहरूलाई पैसा किन बाँडिएन?” यसको मोल एक वर्षको ज्याला#12:5 मूल भाषामा 300 दिनारी बराबर थियो। 6तर त्यसले गरिबहरूको चिन्ता गरेर नै यसो भनेको होइन, तर त्योचाहिँ चोर थियो, र चेलाहरूको पैसाको थैलो बोक्ने र समय-समयमा आफ्नै निम्ति त्यहाँबाट सुटुक्‍कै खर्च चलाउने गरेको हुनाले त्यसले यसो भनेको थियो।
7येशूले जवाफ दिनुभयो, “यिनले जे गर्दैछिन्, सो गर्नदेऊ। यिनले मेरो अन्तिम संस्कारको निम्ति यो अत्तर जोगाउनैपर्ने थियो। 8गरिबहरू#12:8 व्यव 15:11 त तिमीहरूसँग जहिले पनि हुन्छन्, तर म ता तिमीहरूसँग सधैं रहनेछैनँ।”
9यसै बीचमा यहूदीहरूको एउटा ठूलो भीडले येशू बेथानीमा हुनुहुन्छ भन्‍ने थाहा पाए, र उहाँलाई मात्र होइन, तर उहाँले मरेकाबाट जीवित पार्नुभएको लाजरसलाई समेत हेर्न त्यो भीड त्यहाँ आए। 10त्यसकारण मुख्य पूजाहारीहरूले लाजरसलाई पनि मार्ने योजना गरे। 11किनकि लाजरसकै कारण धेरै यहूदीहरू येशूलाई पछ्याउन र उहाँमाथि विश्‍वास गर्न थालेका थिए।
यरूशलेममा येशूको विजयी प्रवेश
12भोलिपल्ट निस्तार चाडमा आउने ठूलो भीडले येशू यरूशलेमतिर जाँदैहुनुहुन्छ भन्‍ने खबर सुने। 13तिनीहरू खजूरका हाँगाहरू लिएर उहाँलाई भेट्न जयजयकार गर्दैगए।
“होसन्‍ना!”#12:13 हिब्रू अभिव्यक्‍ति “बचाउनुहोस्” प्रशंसाको नारा बन्यो
“उहाँ जो प्रभुको नाउँमा आउनुहुन्छ धन्य हुनुहुन्छ!”#12:13 भजन 118:25, 26
“इस्राएलका राजा धन्यका हुन्!”
14अनि येशूले एउटा गधाको बछेडा भेट्टाउनुभयो र त्यसमाथि बस्‍नुभयो। उहाँको यस सवारीबाट धर्मशास्त्रमा लेखिएको यो अगमवाणी पूरा भयो:
15“ए यरूशलेमका मानिसहरूहो, नडराओ,#12:15 मूल भाषामा सियोनकी छोरी
हेर, तिम्रा राजा,
गधाको बछेडामाथि चढेर आउँदै हुनुहुन्छ।”#12:15 जक 9:9
16त्यस समय उहाँका चेलाहरूले यस घटनाका कुराहरू बुझेनन्, तर येशू आफ्नो महिमामा प्रवेश हुनुभएपछि मात्र तिनीहरूले यी सबै कुराहरू उहाँको बारेमा लेखिएका थिए; र त्यसकारण तिनीहरूले उहाँका निम्ति यी सबै गरेका रहेछन् भनी बुझे।
17अब उहाँले लाजरसलाई चिहानबाट बोलाउनुभएको र तिनलाई मृत्युबाट जीवित पार्नुभएको बेला उहाँसँग रहने भीडले यो खबर फैल्याइरहे। 18त्यसैले गर्दा यति धेरै मानिसहरू उहाँलाई हेर्न आएका थिए, किनकि उहाँले यो अलौकिक चिन्ह गर्नुभएको छ भनेर तिनीहरूले सुनेका थिए। 19त्यसकारण फरिसीहरूले आपसमा भने, “हेर! हामीले केही गर्न सकेनौं, हामी असफल भयौं! हेर त, सारा संसार नै त्यसको पछि लाग्दैछ!”
आफ्नो मृत्युबारे येशूको भविष्यवाणी
20चाडमा यरूशलेममा आराधना गर्न आएका मानिसहरूमध्ये कति ग्रीकहरू थिए। 21तिनीहरू गालीलको बेथसेदामा बस्‍ने फिलिपकहाँ आए, अनि यसो भनेर विन्ती गरे, “हजुर, हामी येशूलाई भेट्न चाहन्छौं।” 22फिलिपले गएर अन्द्रियासलाई बताइदिए, अनि अन्द्रियास र फिलिप दुवै गएर येशूलाई भने।
23येशूले भन्‍नुभयो, “मानिसको पुत्र महिमित हुने समय आइपुगेको छ। 24म तिमीहरूलाई साँच्‍चै भन्दछु, गहुँको दाना माटोमा परेर मरेन भने त्यो एकलो रहन्छ; तर यदि त्यो मर्‍यो भने त्यसले धेरै फल फलाउँछ। 25आफ्नो प्राणलाई माया गर्ने मानिसले त्यो गुमाउनेछ; तर आफ्नो प्राणलाई यस संसारमा घृणा गर्नेले त्यो अनन्त जीवनका लागि बचाउनेछ। 26मेरो सेवा गर्नेले मलाई पछ्याउनैपर्छ; र म जहाँ छु, मेरा सेवकहरू पनि त्यहाँ हुनैपर्छ। मेरो सेवा गर्नेहरूलाई मेरा पिताले आदर गर्नुहुनेछ।
27“अहिले मेरो हृदय अति व्याकुल भएको छ। के म यसरी प्रार्थना गरूँ, ‘पिता, जे हुन आँटेको छ, त्यसदेखि मलाई बचाउनुहोस्?’ होइन, यसैको लागि म यहाँसम्म आएँ। 28हे पिता, तपाईं आफ्नो नाउँको महिमा गर्नुहोस्!”
त्यसपछि स्वर्गबाट यस्तो एउटा स्वर आयो, “मैले मेरो नाउँको महिमा गरिसकेको छु, र म फेरि महिमा गर्नेछु।” 29त्यो भीडमा भएका यो स्वर सुन्‍नेहरूमध्ये कतिले यसलाई गर्जन हो भनी ठाने, तर अरूले स्वर्गदूत उहाँसँग बोल्नुभएको हो भनी भने।
30येशूले भन्‍नुभयो, “यो स्वरचाहिँ तिमीहरूको फाइदाको निम्ति थियो, मेरो निम्ति होइन। 31अब संसारको न्यायको समय आइपुगेको छ, अब यस संसारको शासक बाहिर फालिनेछ। 32यदि म पृथ्वीबाट माथि उचालिएँ भने मैले सबै मानिसहरूलाई मकहाँ खिँच्नेछु।” 33उहाँको मृत्यु कुन प्रकारको हुनेछ भन्‍ने सङ्केत गर्न उहाँले यसो भन्‍नुभएको थियो।
34भीडले प्रश्न गर्‍यो, “हामीले ख्रीष्‍ट सदा-सर्वदा जीवित रहनुहुनेछ र कहिल्यै मर्नुहुनेछैन भनेर व्यवस्थाबाट सुनेका थियौं। त्यसो हो भने ‘मानिसका पुत्र उचालिनुपर्छ’ भनी तपाईं कसरी भन्‍न सक्नुहुन्छ? यो ‘मानिसका पुत्र’ भनेको को हुन्?”
35येशूले तिनीहरूलाई भन्‍नुभयो, “अब केही बेर मात्र तिमीहरूले ज्योति पाउनेछौ। तिमीहरूसँग ज्योति भएकै बेला र अन्धकारले ढाक्नुभन्दा अघि नै हिँड्‍डुल गर। अन्धकारमा हिँड्ने मानिसले ऊ कहाँ जाँदैछ भन्‍ने थाहा पाउँदैन। 36तिमीहरूसँग ज्योति हुँदा नै आफ्नो भरोसा त्यसमा राख, तब तिमीहरू ज्योतिका सन्तान बन्‍नेछौ।” यति भनिसक्नुभएपछि येशू जानुभयो र फेरि तिनीहरूबीचमा देखा पर्नुभएन।
यहूदीहरूको अविश्‍वास
37येशूले तिनीहरूका अघि यतिका धेरै अलौकिक चिन्हहरू गर्नुभएको थियो, तापनि तिनीहरूले उहाँलाई विश्‍वास गरेनन्। 38यो कुरा यशैया अगमवक्‍ताले गरेका यो अगमवाणी पूरा हुनालाई भएको थियो:
“हे प्रभु, हाम्रो समाचार कसले विश्‍वास गरेको छ
र प्रभुको बाहुबल कसलाई प्रकट गरिएको छ?”#12:38 यशै 53:1
39यसैकारणले गर्दा तिनीहरूले विश्‍वास गर्न सकेनन्, किनकि यशैयाले फेरि भनेका छन्:
40“तिनीहरूका आँखाले नदेखून्,
र हृदयले नबुझून्,
न ता निको हुनालाई मकहाँ आऊन् भनेर,
परमेश्‍वरले नै तिनीहरूका आँखाहरू नदेख्ने
र तिनीहरूका हृदय कठोर पारिदिनुभएको छ।”#12:40 यशै 6:10
41यशैयाले यो कुरा येशूको बारेमा भनेका थिए, किनकि उहाँको महिमाको दर्शन तिनले पाएका थिए।
42तर यस्तै समयमा पनि धेरै यहूदी अगुवाहरूले समेत उहाँलाई विश्‍वास गरे, तर सभाघरहरूबाट तिनीहरूलाई फरिसीहरूले निकालिदिनेछन् भन्‍ने डरले तिनीहरूले आफ्नो विश्‍वासलाई खुल्‍लमखुल्‍ला स्वीकार गरेनन्। 43किनकि परमेश्‍वरको प्रशंसाभन्दा मानिसहरूको प्रशंसा तिनीहरूले रुचाए।
44येशूले चर्को सोरमा भन्‍नुभयो, “मलाई विश्‍वास गर्नेले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि विश्‍वास गर्दछ। 45जसले मलाई हेर्छ, त्यसले मलाई पठाउनुहुनेलाई देख्छ। 46म संसारमा ज्योति भएर आएको हुँ, यसकारण ममाथि विश्‍वास राख्नेहरू कोही पनि अब अन्धकारमा रहनेछैन।
47“मेरो वचन सुनेर पनि मेरो आज्ञा पालन नगर्नेलाई, म न्याय गर्दिनँ; किनकि म संसारलाई बचाउन आएँ, यसको न्याय गर्नलाई होइनँ। 48तर मलाई र मेरो वचनलाई अस्वीकार गर्नेहरू सबैको निम्ति एउटा न्यायकर्ता हुनुहुन्छ। अन्त्यको दिनमा मैले बोलेको यही वचनले त्यसलाई दोषी ठहराउनेछ। 49किनकि मैले आफ्नै विचारले बोलिनँ, तर मलाई पठाउनुहुने पिताले नै के बोल्ने, र कसरी बोल्ने भनी मलाई आज्ञा दिनुभयो। 50अनि उहाँका आज्ञाहरूले अनन्त जीवनमा पुर्‍याउँछन् भनेर म जान्दछु। त्यसकारण म जे भन्दछु, ती सबै पिताले मलाई भन्‍न लगाउनुभएका कुराहरू नै हुन्।”

Actualmente seleccionado:

यूहन्‍ना 12: NCV

Destacar

Compartir

Copiar

None

¿Quieres tener guardados todos tus destacados en todos tus dispositivos? Regístrate o inicia sesión