लूका 21

21
विधवाले चढाएको भेटी
(मर्कूस १२:४१-४४)
1मन्‍दिरमा येशूले हेर्नुहुँदा धनी मानिसहरूले मन्‍दिरको दान हाल्‍ने बाकसमा भेटी चढाइरहेका र 2एउटी गरीब विधवाले पनि तामाको दुई सिक्‍का चढाएको देख्‍नुभयो। 3यो देखेर येशूले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यस गरीब विधवाले अरू सबैले भन्दा धेरै भेटी चढाएकी छिन् 4किनभने अरूले त आफ्‍नो उब्रिएको धनबाट केही चढाएका छन्, तर यस विधवाले चाहिँ गरीब भएर पनि आफूमा भएको पूरा जीविका चलाउने खर्च नै चढाएकी छिन्।”
मन्‍दिर नाश हुनेबारे येशूको अगमवाणी
(मत्ती २४:१-१४; मर्कूस १३:१-१३)
5एकपल्‍ट चेलाहरूले, “राम्रा-राम्रा ढुङ्गाहरूले बनाइएको र चढाइएका भेटीहरूद्वारा सिङ्गारिएको यो मन्‍दिर कति सुन्‍दर छ!” भन्‍दै कुरा गरिरहेका थिए। येशूले भन्‍नुभयो, 6“यस्‍तो समय आउनेछ, जुन समयमा अहिले यहाँ देखिएका घरहरूका एउटा ढुङ्गामाथि अर्को ढुङ्गा पनि बाँकी रहनेछैन, सबै भत्‍काइनेछ!”
7तिनीहरूले भने, “गुरुज्‍यू, यो कहिले हुनेछ? अनि यस्‍तो हुन लाग्‍यो भनी हामीले कसरी थाहा पाउने?” 8येशूले भन्‍नुभयो, “होशियार रहो, तिमीहरूलाई कसैले पनि छकाउन नपाओस् किनभने धेरै मानिसहरू मेरो नाउँमा ‘ख्रीष्‍ट मै हुँ’ भन्‍दै आउनेछन् अनि ‘समय नजिकै छ’ भन्‍नेछन् तर तिनीहरूको पछि नलाग। 9घमासान लडाइँ र झगडा भएको कुरा सुनेर नआत्तिनू, अन्‍त हुनुभन्दा पहिले ती सबै कुराहरू हुन आउनु नै पर्छ। तर त्‍यति नै खेर त संसारको अन्‍त हुँदैन!”
10येशूले फेरि भन्‍नुभयो, “जाति-जातिको बीचमा लडाइँ चल्‍नेछ। एउटा राज्‍यले अर्को राज्‍यमाथि हमला गर्नेछ। 11ठूला-ठूला भूइँचाला जानेछन्, जताततै अनिकालपर्नेछ, महामारी चल्‍नेछ। आकाशमा डरलाग्‍दा कुराहरू हुनेछन् र ठूला-ठूला चिन्‍हहरू देखिनेछन्।
12“यी सबै कुरा हुनुभन्दा अघि मानिसहरूले तिमीहरूलाई मेरो नाउँको कारणले पक्रनेछन्, सताउनेछन्, सभाघरमा लगेर मुद्दा चलाउनेछन् र झ्‍यालखानमा हाल्‍नेछन्। अझै तिनीहरूले तिमीहरूलाई राजा र बडा-हाकिमका अगाडि उभ्‍याउनेछन्। 13त्‍यस बेला तिमीहरूलाई मेरो बारेमा साक्षी दिने मौका मिल्‍नेछ। 14#लूका 12:11,12तर आफ्‍नो बचाउको लागि के भन्‍ने हो भनेर पटक्‍कै चिन्‍ता नगर 15किनभने म तिमीहरूलाई यस्‍तो वचन र बुद्धि दिनेछु कि तिमीहरूले भनेको कुराहरूमा उत्तर दिन तिमीहरूका विरोधीहरूको मुखमा बुजो लाग्‍नेछ। 16आफ्‍नै आमा-बुबा, दाजुभाइ, आफन्‍त र साथीहरूले समेत तिमीहरूलाई पक्राइदिनेछन्। तिमीहरूमध्‍ये कतिलाई त तिनीहरूले मार्नेछन्। 17मेरो कारणले सबैले तिमीहरूलाई घृणा गर्नेछन्। 18तर एउटै केश पनि तिमीहरूको टाउकोबाट झर्नेछैन। 19डटेर बस र तिमीहरूले जीवन पाउनेछौ।
यरूशलेम नाश हुने सूचना
(मत्ती २४:१५-२१; मर्कूस १३:१४-१९)
20‘यरूशलेम सहरलाई फौजले घेरा हालेको देखेपछि अब सहरको नाश हुने बेला आइपुगेछ’ भन्‍ने कुरा तिमीहरूले बुझ। 21त्‍यस बेला यहूदिया क्षेत्रमा हुनेहरू पहाडतिर भागून्, सहरभित्र हुनेहरूले सहर छोडून् र गाउँतिर हुनेहरू सहरमा नपसून् 22#होशे 9:7किनभने ती सजायका दिनहरू हुन् अनि धर्मशास्‍त्रमा लेखिएका सबै कुरा पूरा हुने नै छन्। 23त्‍यस बेला कोखमा या काखमा बालक हुने आमाहरूलाई झन् अप्‍ठ्यारोपर्नेछ। देशभरि डरलाग्‍दो दु:ख आइपर्नेछ। परमेश्‍वरको दण्‍ड यस जातिका मानिसहरूमाथि खनिनेछ। 24शत्रुहरूले मानिसहरूलाई कि त तरवारले टुक्र्याउनेछन् कि त कैद गरेर देश-देशमा लैजानेछन्। अरू जातिका मानिसहरूको दिन पूरा नहुञ्‍जेल तिनीहरूले यरूशलेमलाई कुल्‍ची-मिल्‍ची गर्नेछन्।
मानव पुत्र प्रकट हुने दिनको सूचना
(मत्ती २४:२९-३१; मर्कूस १३:२४-२७)
25 # यशैया 13:10; इजकिएल 32:7; योएल 2:31; प्रकाश 6:12,13 “घाम, जून र ताराहरूमा अनौठा चिन्‍हहरू देखिनेछन्। समुद्रका गर्जन र डरलाग्‍दा छालहरूले गर्दा पृथ्‍वीभरि सबै जातिका मानिसहरू डरले हताश हुनेछन्। 26पृथ्‍वीमा आइलाग्‍ने कुराहरूको डरले मानिसहरू मुर्च्‍छा पर्नेछन् किनभने आकाश-मण्‍डलका सबै शक्तिहरू डग्मगाउनेछन्। 27#दानिएल 7:13; प्रकाश 1:7त्‍यसपछि मानव पुत्र बादलमा ठूलो शक्ति र महामहिमाको साथ आउँदै गरेको देखा पर्नुहुनेछ। 28त्‍यस्‍ता कुराहरू हुनेबित्तिकै साहसी भएर माथितिर हेर किनभने तिमीहरूको उद्धार चाँडै हुनेछ।”
नेभाराको रूखबाट शिक्षा
(मत्ती २४:३२-३५; मर्कूस १३:२८-३१)
29त्‍यसपछि येशूले तिनीहरूलाई यो दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “नेभारा र अरू रूखहरूलाई हेर, 30तिनीहरूमा पालुवा लागेको देखेपछि तिमीहरूले गर्मीको याम लागेछ भनेर जान्‍दछौ। 31त्‍यसरी नै मैले भनेका यी सबै कुराहरू हुँदैगरेको देख्‍दा परमेश्‍वरको राज्‍य आइसक्‍न लागेछ भनेर तिमीहरूले जान्‍नेछौ। 32साँच्‍चै म तिमीहरूलाई भन्‍छु, यी सबै कुरा पूरा नहुञ्‍जेल यो जाति नाश हुनेछैन। 33आकाश र पृथ्‍वी बितेर जानेछन् तर मैले भनेका कुराहरू बित्‍नेछैनन्।
चनाखो रहनुपर्छ
34“चनाखो भएर बस, धेरै भोज-भतेरपछि नलाग, मातेर नहिँड र यस जीवनको निम्‍ति फिक्री नगर। नत्रता तिमीहरूको मन बोधो हुनेछ र “त्‍यो दिन” तिमीहरूले नचिताएको बेलामा आउनेछ। 35एक्‍कासि पासोमा परेजस्‍तै “त्‍यो दिन” पृथ्‍वीका सबै मानिसहरूमाथि आइपर्नेछ। 36त्‍यसैले चनाखो भएर बस। ‘ती सबै डरलाग्‍दा कुराहरूबाट बाँचेर मानव पुत्रको सामुन्‍ने उभिन सक्‍ने शक्ति हामीहरूलाई दिनुहोस्’ भनेर परमेश्‍वरसँग सधैँ प्रार्थना गर।” 37#लूका 19:47ती दिनहरूमा येशूले दिउँसो मन्‍दिरमा शिक्षा दिनुहुन्‍थ्‍यो र रातीचाहिँ सहरबाट निस्‍केर जैतुन भन्‍ने डाँडामा बास बस्‍न जानुहुन्‍थ्‍यो। 38सबै मानिसहरू बिहानै उहाँको शिक्षा सुन्‍न मन्‍दिरमा आउँथे।

Pati Souliye

Pataje

Kopye

None

Ou vle gen souliye ou yo sere sou tout aparèy ou yo? Enskri oswa konekte