मत्ती 8

8
येशूले कुष्‍ठरोगी निको पार्नुभएको
1जब येशू डाँडाबाट ओर्लेर आउनुभयो, एउटा ठूलो भीडले उहाँलाई पछ्यायो। 2कुष्‍ठरोग#8:2 परम्परागत रूपमा अनुवाद गरिएको ग्रीक शब्द कुष्‍ठरोग लाई छालालाई असर पार्ने विभिन्‍न रोगहरूका लागि प्रयोग गरिन्थ्यो। लागेको एकजना मानिस आएर उहाँको अघि घुँडा टेकेर भन्यो, “हे प्रभु, यदि तपाईंले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।”
3येशूले आफ्नो हात बढाएर त्यस मानिसलाई छोएर भन्‍नुभयो, “म इच्छा गर्छु, तिमी निको होइजाऊ!” अनि तुरुन्तै ऊ आफ्नो कुष्‍ठरोगबाट निको भइहाल्यो। 4तब येशूले त्यसलाई भन्‍नुभयो, “यो कुरो कसैलाई नभन, तर जाऊ, आफैलाई पूजाहारीकहाँ देखाऊ; अनि तिनीहरूलाई साक्षीको लागि मोशाले आज्ञा दिएअनुसार भेटी चढाऊ।”
कप्‍तानको विश्‍वास
5जब येशू कफर्नहुममा आउनुभयो, एकजना कप्‍तानले उहाँकहाँ आएर सहायता मागे। 6तिनले भने, “हे प्रभु, घरमा मेरो सेवक पक्षघातको रोगले धेरै कष्‍ट पाइरहेको छ।”
7येशूले तिनलाई भन्‍नुभयो, “म आउनेछु र त्यसलाई निको पार्नेछु।”
8तब कप्‍तानले जवाफ दिए, “हे प्रभु, तपाईं मेरो छानोमुनि आउनुहुने योग्यको म छैनँ, तर वचन मात्र बोलिदिनुहोस् र मेरो सेवक निको हुनेछ। 9किनकि म आफू पनि अधिकारमुनि रहने मानिस हुँ, अनि मेरा अधीनमा पनि सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु अनि त्यो जान्छ, अनि अर्कोलाई ‘आइज’ भन्छु अनि त्यो आउँछ। म मेरो सेवकलाई ‘यसो गर्’ भन्छु अनि त्यसले त्यो गर्छ।”
10यो सुनेर येशू आश्‍चर्य चकित हुनुभयो, अनि आफूलाई पछ्याउनेहरूलाई उहाँले भन्‍नुभयो, “म तिमीहरूलाई साँचो कुरा भन्दछु, मैले यति ठूलो विश्‍वास इस्राएलीहरूमा कसैमा पनि भेट्टाइनँ। 11म तिमीहरूलाई भन्दछु, कि धेरैजना पूर्व र पश्‍चिमबाट आउनेछन्, अनि स्वर्गको राज्यमा अब्राहाम, इसहाक र याकोबसित भोजमा बस्‍नेछन्। 12तर राज्यका सन्तानचाहिँ बाहिरको अन्धकारमा फालिनेछन्, जहाँ रुवाइ र दाह्रा किटाइ हुनेछ।”
13तब येशूले त्यस कप्‍तानलाई भन्‍नुभयो, “जाऊ! तिमीले जस्तो हुनेछ भनी विश्‍वास गरेका थियौ, त्यस्तै हुनेछ।” अनि तिनको सेवक त्यसै बेला निको भइहाल्यो।
येशूले धेरैलाई निको पार्नुभएको
14जब येशू पत्रुसको घरमा आउनुभयो, उहाँले पत्रुसकी सासू ज्वरोले थलिएर ओछ्यानमा पस्रिएकी देख्नुभयो। 15उहाँले तिनको हात छुनुभयो, अनि ज्वरोले तिनलाई छोडिहाल्यो, अनि उठेर तिनले उहाँको सेवा गरिन्।
16जब साँझ पर्‍यो, दुष्‍ट आत्मा लागेका धेरैजनालाई उहाँकहाँ ल्याइयो, अनि उहाँले वचनद्वारा ती आत्माहरूलाई धपाइदिनुभयो, अनि सबै रोगीहरूलाई निको पार्नुभयो। 17यसरी यशैया अगमवक्‍ताद्वारा भनिएको कुरा पूरा भयो:
“उहाँले हाम्रा कमजोरीहरू लिनुभयो,
अनि हाम्रा रोगहरू उठाइलानुभयो।”#8:17 यशै 53:4
येशूलाई पछ्याउँदा चुकाउनुपर्ने मूल्य
18आफ्नो चारैतिर भीडलाई देखेर येशूले तालको पारिपट्टि जाने आज्ञा दिनुभयो। 19तब एकजना व्यवस्थाको शिक्षकले उहाँकहाँ आएर यसो भने, “हे गुरु, तपाईं जहाँ जानुभए तापनि म तपाईंलाई पछ्याउनेछु।”
20येशूले जवाफ दिनुभयो, “फ्याउराहरूका ओडार छन् र आकाशका चराहरूका गुँड छन्, तर, मानिसका पुत्रको त शिर राख्ने ठाउँ पनि छैन।”
21अर्को चेलाले उहाँलाई भने, “प्रभु, पहिले मलाई मेरा बुबाको अन्त्येष्‍टि गर्न जान दिनुहोस्।”
22तर येशूले तिनलाई भन्‍नुभयो, “मलाई पछ्याऊ, अनि मुर्दाले तिनीहरूका आफ्नै मुर्दा गाडून्।”
येशूले आँधी शान्त पार्नुभएको
23तब उहाँ डुङ्गामा चढ्नुभयो, अनि उहाँका चेलाहरूले उहाँलाई पछ्याए। 24अचानक तालमा एउटा डरलाग्दो आँधी आयो, अनि त्यसका छालहरूले डुङ्गालाई ढाक्यो, तर येशू त निदाइरहनुभएको थियो। 25चेलाहरू उहाँकहाँ गएर यसो भन्दै उठाउन लागे, “हे प्रभु, हामीलाई बचाउनुहोस्! हामी डुब्न लागेका छौं!”
26अनि उहाँले जवाफ दिनुभयो, “हे अल्पविश्‍वासीहरूहो, तिमीहरू किन डराउँछौ?” तब उहाँ उठ्नुभयो, अनि बतास र छालहरूलाई हकार्नुभयो, अनि बतास पूर्ण रूपले थामियो।
27ती मानिसहरू छक्‍क परेर भने, “यी मानिस कस्ता किसिमका हुन्? बतास र छालहरूसमेतले यिनको आज्ञा मान्दा रहेछन्।”
येशूद्वारा भूत लागेका दुई मानिसहरू निको भएका
28जब येशू गदरिनीहरूको मुलुकको अर्को ठाउँमा आइपुग्नुभयो, तब त्यहाँ चिहानबाट भूत लागेका दुई मानिसहरू उहाँलाई भेट्न आए। तिनीहरू यति हिंसक थिए कि कोही पनि त्यो बाटो भएर जान सक्दैनथियो। 29तिनीहरूले चिच्याएर यसो भने, “हे परमेश्‍वरका पुत्र, तपाईं हामीबाट के चाहनुहुन्छ? के तपाईं तोकिएको समयभन्दा अघि नै हामीलाई सताउन आउनुभएको हो?”
30त्यस ठाउँदेखि केही टाढा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो। 31ती भूत आत्माहरूले येशूसित यसरी विन्ती गरे, “यदि तपाईंले हामीलाई निकालेर खेद्नुहुन्छ भने हामीलाई सुँगुरको त्यस बगालभित्र पठाउनुहोस्।”
32अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “जाओ!” र तिनीहरू निस्केर सुँगुरहरूमा पसे, अनि सम्पूर्ण बगाल भीरबाट हुर्रिदै गएर तालमा खसे, र पानीमा डुबेर मरे। 33ती सुँगुर चराउनेहरू दगुरेर गई शहरमा पुगेर जे-जे घटना भए, साथै त्यो भूत लागेकोलाई के भएको थियो, ती सबै कुरा मानिसहरूलाई भनिदिए। 34तब सारा शहर नै गएर येशूलाई भेटे। अनि जब तिनीहरूले उहाँलाई भेटे, उहाँलाई त्यस क्षेत्रबाट गइहाल्न विन्ती गरे।

Jelenleg kiválasztva:

मत्ती 8: NCV

Kiemelés

Megosztás

Másolás

None

Szeretnéd, hogy a kiemeléseid minden eszközödön megjelenjenek? Regisztrálj vagy jelentkezz be