१ यूहन्ना 4
4
आत्माहरूको जाँच
1प्रिय हो, जुनसुकै आत्मालाई विश्वास नगर, तर आत्माहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनेर तिनको जाँच गर। किनभने धेरै झूटा अगमवक्ताहरू यस संसारमा निस्केका छन्। 2यसैबाट तिमीहरू परमेश्वरका आत्मालाई चिन्छौ कि हरेक आत्मा जसले येशू ख्रीष्ट शरीरमा आउनुभएको हो भनी स्वीकार गर्छ, सो परमेश्वरबाट हो। 3येशूलाई स्वीकार नगर्ने हरेक आत्मा परमेश्वरबाट होइन, तर त्यो ख्रीष्ट विरोधीको आत्मा हो, जसको विषयमा “त्यो आउँछ” भन्ने तिमीहरूले सुनेका छौ। अब त्यो यस संसारमा आइसकेको छ।
4मेरा साना बालकहरू, तिमीहरूचाहिँ परमेश्वरका हौ, र तिनीहरूमाथि विजयी भएका छौ। किनभने जो तिमीहरूमा हुनुहुन्छ, उहाँ संसारमा हुनेभन्दा महान् हुनुहुन्छ। 5तिनीहरू संसारका हुन्, यसकारण तिनीहरू संसारकै कुरा गर्छन्, र संसारले तिनीहरूका कुरा सुन्छ। 6हामी त परमेश्वरका हौं। जसले परमेश्वरलाई चिन्छ उसले हाम्रो कुरा सुन्छ, र जो परमेश्वरको होइन, त्यसले हाम्रो कुरा सुन्दैन। यसैबाट हामी सत्यको आत्मा र भ्रमको आत्मालाई चिन्छौं।
परमेश्वरको प्रेम र हाम्रो प्रेम
7प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्वरबाट आउँछ। जसले प्रेम गर्छ त्यो परमेश्वरबाट जन्मेको हो, र परमेश्वरलाई चिन्छ। 8प्रेम नगर्नेले परमेश्वरलाई चिन्दैन, किनभने परमेश्वर प्रेम हुनुहुन्छ। 9परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि उहाँद्वारा हामी जिउन सकौं। 10प्रेम यसैमा छ, कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो। 11प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एक अर्कोलाई प्रेम गर्नुपर्छ। 12परमेश्वरलाई कसैले कहिल्यै देखेको छैन। यदि हामीले एक अर्कोलाई प्रेम गर्यौं भने परमेश्वर हामीमा रहनुहुन्छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्छ।#यूह १:१८
13उहाँले हामीलाई आफ्ना आत्माबाट दिनुभएको हुनाले हामी यो जान्दछौं कि हामी उहाँमा रहन्छौं र उहाँ हामीमा रहनुहुन्छ। 14हामीले देखेका छौं, र गवाही दिन्छौं, कि पिताले आफ्ना पुत्रलाई संसारका मुक्तिदाताको रूपमा पठाउनुभएको छ। 15जसले येशूलाई परमेश्वरका पुत्र हुनुहुन्छ भनी स्वीकार गर्छ, उसमा परमेश्वर वास गर्नुहुन्छ, र उचाहिँ परमेश्वरमा। 16यसरी हामीप्रति भएको परमेश्वरको प्रेम हामी जान्दछौं र विश्वास गर्छौं।
परमेश्वर प्रेम हुनुहुन्छ, र जो प्रेममा रहन्छ त्यो परमेश्वरमा रहन्छ, र परमेश्वर उसमा रहनुहुन्छ। 17न्यायको दिनको निम्ति हामी पूर्ण भरोसासाथ बस्न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध भएको हुन्छ। किनकि उहाँ जस्तो हुनुहुन्छ हामी पनि यस संसारमा त्यस्तै छौं। 18प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्बन्ध त दण्डसँग हुन्छ, अनि जो डराउँछ प्रेममा त्यो सिद्ध भएको हुँदैन।
19हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो। 20यदि कसैले “म परमेश्वरलाई प्रेम गर्छु” भन्छ, तर आफ्नो भाइलाई घृणा गर्छ भने त्यो झूटो हो, किनकि आफूले देखेको आफ्नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्वरलाई प्रेम गर्न सक्दैन। 21हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्वरलाई प्रेम गर्छ त्यसले आफ्नो भाइलाई पनि प्रेम गर्नुपर्छ।
अहिले सेलेक्ट गरिएको:
१ यूहन्ना 4: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012