YouVersion लोगो
खोज आइकन

१ शमूएल 16

16
शमूएलले दाऊदलाई राजा अभिषेक गरेका
1परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मैले शाऊललाई इस्राएलमाथि राजा हुनलाई इन्‍कार गरेकोमा तँ त्‍यसको निम्‍ति कहिलेसम्‍म विलाप गरिरहन्‍छस्‌? तँसित भएको त्‍यो सीङमा तेल हालेर तेरो साथमा लैजा। म तँलाई बेथलेहेमको यिशैकहाँ पठाउँदैछु। किनभने मैले त्‍यसका छोराहरूमध्‍येको एक जनालाई राजा चुनेको छु।”
2तर शमूएलले भने, “म कसरी जान सक्‍छु र? शाऊलले यो कुरा सुनेर मलाई मार्नेछन्‌।”
परमप्रभुले भन्‍नुभयो, “एउटा कोरली तँसँग लैजा। ‘परमप्रभुको निम्‍ति बलिदान चढ़ाउनलाई आएको हुँ’ भन्‌। 3यिशैलाई पनि त्‍यस बलिदानमा निम्‍तो दे, र तैंले के गर्नुपर्नेछ म तँलाई बताउनेछु। जुन मानिसलाई म देखाउनेछु तैंले त्‍यसलाई अभिषेक गर्नू।”
4तिनलाई परमप्रभुले गर्नू भन्‍नुभएबमोजिम शमूएलले गरे। तिनी बेथलेहेममा गए। सहरका धर्म-गुरुहरू तिनलाई भेट्‌दा थरथराए। तिनीहरूले सोधे, “तपाईं शान्‍तिसाथ आउनुभयो?”
5शमूएलले भने, “शान्‍तिसाथ। म परमप्रभुको निम्‍ति बलिदान चढ़ाउनलाई आएको हुँ। तिमीहरू आफू-आफूलाई शुद्ध गरेर बलिदानको निम्‍ति आओ।” तब तिनले यिशै र तिनका छोराहरूलाई शुद्ध गरेर बलिदानको निम्‍ति तिनीहरूलाई बोलाए।
6जब तिनीहरू आए तब शमूएलले एलीआबलाई देखेर विचार गरे, “परमप्रभुको सामु उहाँका अभिषिक्त राजा यिनी नै रहेछन्‌।”
7तर परमप्रभुले शमूएललाई भन्‍नुभयो, “त्‍यो सुन्‍दर र अल्‍गो भए तापनि त्‍यसको ख्‍याल नगर्‌। मैले त्‍यसलाई इन्‍कार गरेको छु। परमप्रभुले मानिसले झैँ हेर्नुहुन्‍न। मानिसले रूप हेरेर विचार गर्छ, तर परमप्रभुले हृदयभित्र हेरेर विचार गर्नुहुन्‍छ।”
8तब यिशैले अबीनादाबलाई बोलाए, र शमूएलको सामुन्‍ने हिँड्‌न लाए। तर शमूएलले भने, “होइन, परमप्रभुले यिनलाई पनि चुन्‍नुभएको होइन।” 9तब यिशैले शम्‍मालाई हाजिर गराए। तर शमूएलले भने, “परमप्रभुले यिनलाई पनि चुन्‍नुभएको होइन।” 10यिशैले आफ्‍ना सात जना छोराहरूलाई शमूएलको अगि हाजिर गराए, तर तिनले भने, “परमप्रभुले यिनीहरूमा कसैलाई पनि चुन्‍नुभएको छैन।” 11तब शमूएलले सोधे, “के सबै यति नै हुन्‌?”
यिशैले जवाफ दिए, “अझै कान्‍छो पनि छ, तर त्‍यो त भेड़ा चराउँदैछ।”
शमूएलले यिशैलाई भने, “त्‍यसलाई बोलाऊ। ऊ नआउञ्‍जेल हामी बस्‍नेछैनौं।”
12यसकारण यिशैले तिनलाई ल्‍याउनलाई मानिस पठाए। तिनी राता-राता गाला चम्‍किला आँखा भएका सुन्‍दर युवक थिए।
परमप्रभुले भन्‍नुभयो, “उठेर त्‍यसलाई अभिषेक गर्‌। व्‍यक्ति यही हो।”
13शमूएलले तेल भएको सीङ लिएर तिनका दाजुहरूका सामु तिनलाई अभिषेक गरे। तब परमप्रभुका आत्‍मा दाऊदमाथि आउनुभयो, र त्‍यस दिनदेखि उसो तिनीसँग रहनुभयो। त्‍यसपछि शमूएल रामाको बाटो लागे।
दाऊद शाऊलका गायक र हतियार बोक्‍ने भएका
14परमप्रभुका आत्‍माले शाऊललाई त्‍याग्‍नुभयो, अनि परमप्रभुबाटको एउटा हानिकारक आत्‍माले उनलाई बेला बेलामा पक्रन्‍थ्‍यो।
15शाऊलका सेवकहरूले उनलाई भने, “हजूर, हेर्नुहोस्, परमप्रभुबाट एउटा हानिकारक आत्‍माले तपाईंलाई पक्रन्‍छ। 16हजूरका सामुन्‍ने भएका सेवकहरूलाई गएर वीणा बजाउन सक्‍ने कुनै मानिसलाई खोजेर ल्‍याउने हुकुम दिनुहोस्‌ अनि जब परमप्रभुबाट त्‍यो हानिकारक आत्‍मा हजूरकहाँ आउँछ, त्‍यस बेला त्‍यस मानिसले बजाउँछ र हजूर निको हुनुहुनेछ।”
17यसकारण शाऊलले आफ्‍ना सेवकहरूलाई भने, “राम्रोसँग बीणा बजाउने कुनै एक जना मानिसलाई खोज, र त्‍यसलाई मकहाँ ल्‍याओ।”
18उनका सेवकहरूमध्‍ये एक जनाले भन्‍यो, “बेथलेहेमका यिशैका छोराहरूमध्‍ये एक जनाले वीणा बजाएको मैले देखेको छु। तिनी वीर मानिस छन्, र असल योद्धा, बोल्‍नमा ज्ञानी, र सुन्‍दर पनि छन्‌। अनि परमप्रभु तिनीसँग हुनुहुन्‍छ।”
19यसैकारण शाऊलले समाचार दिने मानिसलाई यिशैकहाँ पठाए, र भेड़ा चराउने तिनका छोरा दाऊदलाई शाऊलकहाँ पठाउने हुकुम गरे। 20यिशैले एक मशक दाखमद्य र एउटा पाठोसमेत रोटीले लादिएको गधा आफ्‍नो छोरा दाऊदसँग शाऊलकहाँ पठाइदिए।
21दाऊद शाऊलकहाँ आए, र उनको सेवामा नियुक्त गरिए। शाऊलले तिनलाई खूबै प्रेम गर्न लागे, र तिनी शाऊलका हतियार बोक्‍ने भए। 22यसैले शाऊलले यिशैकहाँ यो समाचार पठाए, “दाऊद मेरो सेवामा नै रहोस्, किनभने म त्‍यससित प्रसन्‍न छु।”
23जब-जब परमप्रभुबाट त्‍यो आत्‍मा शाऊलमा आउँथ्‍यो, दाऊदले आफ्‍नो वीणा लिएर त्‍यो बजाइदिन्‍थे, र शाऊलले शान्‍ति पाउँथे। उनी निको हुन्‍थे, र त्‍यस हानिकारक आत्‍माले उनलाई छोड़ेर गइहाल्‍थ्‍यो।

अहिले सेलेक्ट गरिएको:

१ शमूएल 16: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्