२ शमूएल 4
4
ईश्बोशेत मारिएका
1जब शाऊलका छोरा ईश्बोशेतले हेब्रोनमा अबनेर मारिएको कुरा सुने, तब तिनको हात-खुट्टै गल्यो र सारा इस्राएलीहरू घबराए। 2ईश्बोशेतका दुई जना मानिसहरू थिए, जो लूटपीट गर्नेहरूका अगुवा थिए, जसका नाउँ बानाह र रेकाब थिए। उनीहरू बेन्यामीन कुलका बेरोती रिम्मोनका छोराहरू थिए। बेरोत पनि बेन्यामीनसँगै गनिएको छ, 3किनभने बेरोतीहरू गित्तैममा भागेर गएका थिए, र त्यस बेलादेखि अहिलेसम्म त्यहीँ नै बसोबास गरेका छन्।
4(शाऊलका छोरा जोनाथनको एक जना छोरा थियो, जो दुवै खुट्टाको लङ्गड़ो थियो। यिजरेलबाट शाऊल र जोनाथनका मृत्युको समाचार आउँदा त्यो पाँच वर्षको थियो। त्यसकी धाईले त्यसलाई बोकेर भागेकी थिइन्, तर तिनी हतार-हतार गरी जाँदा त्यो लड्यो, र लङ्गड़ो भयो। त्यसको नाउँ मपीबोशेत थियो।) #२ शमू ९:३
5बेरोती रिम्मोनका छोराहरू रेकाब र बानाह, मध्यदिनमा ईश्बोशेत विश्राम गरिरहेको बेलामा तिनको घरमा आए, र भित्र पसे। 6उनीहरू घरको भित्री भागतिर गहूँ लिन गएजस्तो गरी गए र त्यहाँ उनीहरूले तिनलाई पेटमा छुरी हाने। त्यसपछि रेकाब र बानाह सुटुक्क निस्के।
7ईश्बोशेत आफ्नो कोठामा सुतिरहेको बेलामा उनीहरू घरभित्र पसेका थिए। तिनलाई छुरी हानी मारिसकेपछि उनीहरूले तिनको शिर काटे र त्यो आफूसँग लगे, र अराबाबाट रातभरि हिँड़ेर गए। 8उनीहरूले ईश्बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए, र राजालाई भने, “हजूरको प्राण लिन खोज्ने, हजूरको शत्रु शाऊलका छोरा ईश्बोशेतको टाउको यहाँ छ। परमप्रभुले शाऊल र उनको घरानालाई आज हजूरको निम्ति साटो फेर्नुभयो।”
9दाऊदले बेरोती रिम्मोनका छोराहरू रेकाब र त्यसका भाइ बानाहलाई जवाफ दिए, “परमप्रभु, जसले मलाई मेरा सबै कष्टबाट छुटाउनुभयो, जीवित परमप्रभुको नाउँमा शपथ खाएर म भन्दछु, 10शाऊल मरेको खबर राम्रो हो भनी ठानेर मकहाँ समाचार ल्याउने मानिसलाई मैले पक्रे, र मैले त्यसलाई सिक्लगमा मारें। मैले त्यसका समाचारको निम्ति त्यसलाई त्यही प्रतिफल दिएँ। #२ शमू १:१-१६ 11तर दुष्ट मानिसहरूले एक जना निर्दोष मानिसलाई त्यसकै घरमा त्यसको पलङ्गमा मार्छन् भने झन् कति बढ़ी प्रतिफल दिनुपर्ला! के मैले अब तिमीहरूले गरेको हत्याको बदला लिएर तिमीहरूलाई संसारदेखि खतम नगर्नु र?”
12तब दाऊदले आफ्ना मानिसहरूलाई हुकुम दिए, र तिनीहरूले उनीहरूलाई मारे। तिनीहरूले उनीहरूका हात-खुट्टा काटे, र हेब्रोनका पोखरीको छेउमा झुण्ड्याइदिए। तर ईश्बोशेतको टाउको चाहिँ तिनीहरूले लगेर हेब्रोनमा अबनेरको चिहानमा गाड़िदिए।
अहिले सेलेक्ट गरिएको:
२ शमूएल 4: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012