व्यवस्था 8

8
परमप्रभुलाई नभुल्नु
1मैले तिमीहरूलाई आज दिएका सबै आज्ञा होशियारीसाथ मान, कि तिमीहरू जीवित रहन र संख्‍यामा बढ्‌न सक, र गएर परमप्रभुले तिमीहरूका पिता-पुर्खालाई शपथ खाएर प्रतिज्ञा गर्नुभएको देशलाई अधिकार गर्न सक। 2तिमीहरूलाई दीन तुल्‍याउन, जाँच गर्न र उहाँका आज्ञा मान्‍ने हृदय छ कि छैन भनी जान्‍नलाई यी चालीस वर्षभरिको उजाड़-स्‍थानको यात्रामा परमप्रभु तिमीहरूका परमेश्‍वरले कसरी तिमीहरूलाई डोर्‍याउनुभयो, सो स्‍मरण गर। 3उहाँले तिमीहरूलाई नम्र बनाउन भोकले पीडित तुल्‍याउनुभयो, अनि तिमीहरूलाई मन्‍न खुवाउनुभयो, जसको बारेमा तिमीहरूलाई र तिमीहरूका पिता-पुर्खाहरूलाई थाहै थिएन। मानिस भोजनले मात्र होइन, तर परमप्रभुको मुखबाट निस्‍केको प्रत्‍येक वचनले जिउँछ भन्‍ने कुरो बुझाउनलाई यसो गर्नुभएको हो। #मत्ती ४:४; लूक ४:४ 4ती चालीस वर्षसम्‍म तिमीहरूका जीउको लुगा फाटेन, र तिमीहरूका खुट्टा सुनिएनन्‌। 5तिमीहरूले यो जान, कि मान्‍छेले आफ्‍नो छोरालाई ताड़ना दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई ताड़ना दिनुहुन्‍छ।
6परमप्रभु तिमीहरूका परमेश्‍वरका मार्गमा हिँड़ेर र उहाँको भय मानेर उहाँका आज्ञाहरू पालन गर। 7किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई एउटा असल देशमा लैजानुहुँदैछ। त्‍यहाँ खोलानाला र मूल फुटेका पानी पहाड़ र बेँसी भएर बग्‍छन्‌। 8त्‍यो देश गहूँ, जौ, दाख, नेभारा, दारिम, भद्राक्षको तेल र महले भरिएको छ। 9त्‍यस देशमा तिमीहरूलाई अन्‍नको अभाव हुनेछैन। त्‍यहाँ तिमीहरूलाई कुनै कुराको घटी हुनेछैन। त्‍यस देशमा ढुङ्गाहरू फलामका छन्, र त्‍यहाँका पहाड़बाट तिमीहरूले तामा निकाल्‍नेछौ।
10जब तिमीहरू तृप्‍त होउञ्‍जेल खान पाउनेछौ, तब तिमीहरूलाई दिनुभएको असल देशको निम्‍ति तिमीहरूले आफ्‍ना परमेश्‍वरको प्रशंसा गर। 11सावधान बस! मैले तिमीहरूलाई आज दिएका उहाँका आज्ञाहरू र उहाँका विधिविधान उल्‍लङ्घन गरेर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई नभुल। #होशे १३:५-६ 12नत्रता जब तिमीहरू खाएर तृप्‍त हुनेछौ, र राम्रा-राम्रा घरहरू बनाएर बस्‍नेछौ, 13जब तिमीहरूका बगाल र बथानको वृद्धि भएर जानेछ, र तिमीहरूका सुनचाँदी र तिमीहरूसित भएका सबै थोक प्रशस्‍त हुनेछन्, 14तब तिमीहरू अहङ्कारी भएर तिमीहरूलाई दासत्‍वको देश मिश्रबाट ल्‍याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई भुल्‍नेछौ। 15उहाँले तिमीहरूलाई विषालु सर्प र बिच्‍छीहरू भएको, निर्जल र रूखो भूमि भएको विशाल र भयानक उजाड़-स्‍थानको बीचमा डोर्‍याउनुभयो। उहाँले तिमीहरूका निम्‍ति चट्टानबाट पानी निकाल्‍नुभयो। 16अन्‍त्‍यमा तिमीहरूको भलो होस्‌ भनेर उजाड़-स्‍थानमा तिमीहरूका पुर्खालाई थाहा नभएको मन्‍न खुवाएर उहाँले तिमीहरूलाई नम्र तुल्‍याउनुभयो र जाँच्‍नुभयो। 17“हाम्रा हातको शक्ति र बलले नै यो धन-सम्‍पत्ति हामीले कमायौं” भनी तिमीहरूले मनमा सोचौला। 18तर परमप्रभु तिमीहरूका परमेश्‍वरलाई सम्‍झ, किनकि उहाँले नै तिमीहरूलाई धन-सम्‍पत्ति प्राप्‍त गर्ने शक्ति दिनुहुन्‍छ। यसरी नै उहाँले तिमीहरूका पुर्खाहरूसित बाँध्‍नुभएको करार स्‍थिर गर्नुहुन्‍छ, जो आजसम्‍म छँदैछ।
19म आज तिमीहरूलाई यो कड़ा चेताउनी दिँदैछु, कि तिमीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई बिर्स्‍यौ र अन्‍य देवताहरूका पछि लागेर तिनीहरूको आराधना र पूजा गर्‍यौ भने, तिमीहरू अवश्‍य नष्‍ट हुनेछौ। 20परमप्रभु आफ्‍ना परमेश्‍वरको वचन पालन गरेनौ भने, तिमीहरूलाई पनि परमप्रभुले तिमीहरूकै अगि नाश गर्नुभएका जातिहरूझैँ नाश गर्नुहुनेछ।

अहिले सेलेक्ट गरिएको:

व्यवस्था 8: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्