इजकिएल 40
40
नयाँ मन्दिरको क्षेत्र
1हामी निर्वासित भएको पच्चीसौँ वर्षको सुरुमा, महिनाको दशौँ दिनमा, यरूशलेम सहरको पतन भएको चौधौँ वर्षपछि त्यही दिन परमप्रभुको हात ममाथि पर्यो, र उहाँले मलाई त्यहाँ लानुभयो। 2परमेश्वरको दर्शनमा उहाँले मलाई यरूशलेममा लानुभयो, र एउटा अति अल्गो पर्वतमा मलाई राख्नुभयो। त्यसको दक्षिणपट्टि सहरका केही घरहरूजस्तै देखिन्थे। #प्रका २१:१० 3उहाँले मलाई त्यहाँ लानुभयो, र एक जना मानिसलाई त्यहाँ मैले देखें, जसको अनुहार काँसाजस्तै थियो। तिनको हातमा एउटा सूती डोरी र नाप्ने टाँगो लिएर तिनी मूल ढोकामा उभिरहेका मैले देखें। #प्रका ११:१; २१:१५ 4तिनले मलाई भने, “ए मानिसको छोरा, तेरो आँखाले हेर्, र कानले सुन्। म जे-जे तँलाई देखाउँछु सो ध्यानसित मनमा राख्, किनकि यसैको निम्ति तँ यहाँ ल्याइएको होस्। तैंले जे देख्छस्, ती सबै इस्राएलको घरानालाई बता।”
बाहिरी चोकका पूर्वको मूल ढोका
5मन्दिरका क्षेत्रको पूरै बाहिर चारैतिर घेरेको एउटा पर्खाल मैले देखें। ती मानिसको हातमा भएको नाप्ने टाँगोको लमाइ छ हात लामो थियो, अर्थात् प्रत्येक हात एक हात र चार अङ्गुलको चौड़ाइ थियो। तिनले त्यो पर्खाल नापे। त्यो एक नाप्ने टाँगो मोटो र एक टाँगो अल्गो थियो। #२ इति ३:१-९
6तब तिनी पूर्वतिर फर्केको मूल ढोकामा गए। त्यसका खुट्किलाबाट उक्लेर ढोकाको सँघार तिनले नापे। तिनले त्यो एक टाँगो गहिरो भेट्टाए। 7गारदहरू बस्ने कोठाहरू एक टाँगो लामो र एक टाँगो चौड़ा थिए। कोठाहरूका बीचबीचमा गारो पाँच-पाँच हात बाक्लो थियो। मन्दिरतिर फर्केको दलानको छेउमा भएको ढोकाको सँघार एक टाँगो थियो।
8तिनले मूल ढोकाको दलान नापे। 9त्यो आठ हात गहिरो थियो। त्यसका थामहरू दुई-दुई हात बाक्ला थिए। ढोकाको दलानचाहिँ मन्दिरतिर फर्केको थियो।
10पूर्वपट्टिको मूल ढोकाभित्र हरेक भित्तामा तीन-तीन वटा भित्री कोठाहरू थिए। ती तीनै वटा एउटै नापका थिए। तिनका हरेक गाराहरू एकै नापका थिए। 11तब तिनले प्रवेशद्वारको चौड़ाइ नापे। त्यसको चौड़ाइ दश हात थियो, र त्यसको लमाइ तेह्र हात थियो। 12हरेक कोठाको अगाड़िपट्टि एक-एक हात अग्लो होचो गारो थियो। प्रत्येक कोठा छ हात वर्गाकारको थियो। 13तब तिनले प्रवेशद्वार हरेक कोठाका पछाड़िको भित्ताको टुप्पादेखि त्यसैको विपरीत टुप्पासम्म नापे। कौसीका बारको एक झ्यालदेखि त्यसको विपरीत झ्यालसम्म पच्चीस हात थियो। 14तिनले प्रवेशद्वारको भित्रपट्टिका गाराहरू चारैतिर नापे, र ती साठी हात थिए। यो नापचाहिँ चोकतिर फर्केको दलानसम्म थियो। 15प्रवेशद्वारदेखि त्यसको दलानको पल्लो छेउसम्म पचास हात थियो। 16प्रवेशद्वारभित्रका कोठाहरू र गाराहरूका मास्तिर झ्यालहरू चारैतिर थिए, र दलानमा पनि त्यस्ता झ्यालहरू थिए। ती गाराहरूमा खजूरका बोटका चित्रहरू बनाइएका थिए।
बाहिरी चोक
17तब तिनले मलाई बाहिरी चोकमा ल्याए। मैले त्यहाँ चोकका चारैतिर केही कोठाहरू र ढुङ्गा छापेको एउटा भूइँ देखें। यो छापेको भूइँमा तीस वटा कोठाहरू थिए। 18ढुङ्गा ओछ्याएको भूइँ प्रवेशद्वारको छेउसम्मै निस्केको थियो। भूइँको चौड़ाइ र प्रवेशद्वारको लमाइ बराबर थियो। योचाहिँ तल्लो पिँड़ी थियो। 19तब तिनले तल्लो प्रवेशद्वारको भित्रपट्टिदेखि भित्री चोकको बाहिरसम्म नापे। त्यो पूर्व र उत्तरपट्टि पनि एक सय हात थियो।
उत्तरको मूल ढोका
20तब बाहिरी चोकमा पुर्याउने उत्तरतिर फर्केको मूल ढोकाको लमाइ र चौड़ाइ तिनले नापे। 21त्यसका हरेक भित्तामा भएका तीन-तीन वटा ससाना कोठाहरू र साथै त्यसका गाराहरू र दलानका नापहरूचाहिँ पहिलेको ढोकाका नापहरूजत्रै थिए। त्यो पचास हात लामो र पच्चीस हात चौड़ा थियो। 22त्यसका झ्यालहरू र त्यसको दलान र त्यसका खजूरका बोटहरूले सिँगारेका चित्रका नापहरू पनि पूर्वतिर फर्केको ढोकाका नापहरूजत्रै थिए। त्यहाँ जानलाई सात वटा खुट्किला थिए, र त्यसको दलानचाहिँ खुट्किलाको विपरीत थियो। 23पूर्वमा भएजस्तै उत्तरका ढोकाको सामुन्ने भित्री चोकमा पुर्याउने एउटा ढोका थियो। तिनले एउटा ढोकादेखि अर्को ढोकासम्म नापे। त्यो एक सय हात थियो।
दक्षिणको मूल ढोका
24तब तिनले मलाई दक्षिणतिर लगे, र मैले दक्षिणतिर फर्केको एउटा मूल ढोका देखें। 25तिनले त्यसका थामहरू र त्यसको दलान नापे, र ती पनि अरूजस्तै एकै नापका थिए। प्रवेशद्वार र त्यसको दलानका चारैतिरका झ्यालहरू अरूजस्तै थिए। त्यो पचास हात लामो र पच्चीस हात चौड़ा थियो। 26त्यहाँ जानलाई सात वटा खुट्किला थिए। त्यसको दलानचाहिँ तिनको विपरीत थियो। गाराहरूमा खजूरका बोटका चित्रहरू हरेक भित्तामा बनाइएका थिए। 27भित्री चोकको पनि एउटा दक्षिणतिर फर्केको मूल ढोका थियो। तिनले यस ढोकादेखि दक्षिणतिरको बाहिरी ढोकासम्म नापे। त्यो एक सय हात थियो।
भित्री चोकका मूल ढोकाहरू
28तब तिनले मलाई दक्षिणको मूल ढोकाबाट भएर भित्री चोकमा ल्याए। तिनले दक्षिणको ढोका नापे र त्यसको नाप पनि अरूहरूजस्तै थियो। 29त्यसका कोठाहरू, गाराहरू र दलान अरूहरूजस्तै एकै नापका थिए। प्रवेशद्वार र त्यसको दलानका चारैतिर झ्यालहरू थिए। त्यो पचास हात लामो र पच्चीस हात चौड़ा थियो। 30(भित्री चोकका चारैतिरका प्रवेशद्वारहरूका दलानहरूचाहिँ पच्चीस हात चौड़ा र पाँच हात गहिरा थिए।) 31त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो। त्यसका थामहरूमा खजूरका बोटका चित्रहरू बनाइएका थिए। त्यहाँ जानलाई आठ वटा खुट्किला थिए।
32तब तिनले मलाई पूर्वतिरको भित्री चोकमा ल्याए, र त्यसको प्रवेशद्वार नापे, र ती अरूजस्तै एकै नापको थियो। 33त्यसका कोठाहरू, गाराहरू र दलान पनि अरूहरूजस्तै एकै नापका थिए। प्रवेशद्वार र त्यसको दलानका चारैतिर झ्यालहरू थिए। त्यो पचास हात लामो र पच्चीस हात चौड़ा थियो। 34त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो, र त्यसका थामहरूमा खजूरका बोटका चित्रहरू एक-एकतिर बनाइएका थिए। त्यहाँ जानलाई आठ वटा खुट्किला थिए।
35तब तिनले मलाई उत्तरको ढोकामा ल्याए, र त्यो नापे। त्यो पनि अरूजस्तै एकै नापको थियो। 36त्यसका कोठाहरू, गाराहरू र दलान त्यस्तै थिए। त्यसका चारैतिर झ्यालहरू थिए। त्यो पचास हात लामो र पच्चीस हात चौड़ा थियो। 37त्यसको दलान बाहिरी चोकतिर फर्केको थियो। त्यसका थामहरू खजूरका बोटहरूका चित्रहरू एक-एकतिर बनाइएका थिए, र त्यहाँ जानलाई आठ वटा खुट्किला थिए।
बलिदानहरू तयार गरिने कोठाहरू
38हरेक भित्री प्रवेशद्वारको दलाननेर ढोका भएको एउटा कोठा थियो, जहाँ होमबलि धोइन्थे। 39होमबलि, पापबलि र दोषबलि मार्नलाई प्रवेशद्वारको दलानका दुवैपट्टि दुई-दुई वटा टेबिल थिए। 40प्रवेशद्वारका दलानको बाहिरी भित्तानेर, उत्तरको मूल ढोकामा जाने खुट्किला नजिकै दुई वटा टेबिल थिए, र खुट्किलाको अर्कोतिर पनि दुई वटा टेबिल थिए। 41यसरी प्रवेशद्वारको एकातिर चार वटा टेबिल र अर्कोतिर पनि चार वटा— सबै जम्मा आठ वटा टेबिल थिए। त्यसैमा बलिदानहरू मारिन्थे। 42होमबलिका निम्ति काटेका ढुङ्गाका चार वटा टेबिल थिए। प्रत्येक टेबिल डेढ़ हात लामो, डेढ़ हात चौड़ा र एक हात अल्गो थियो। तीमाथि नै होमबलि र अरू बलिदानहरूका निम्ति चलाइने भाँड़ाकुँड़ा राखिन्थे। 43अनि दुई चुच्चा भएका अङ्कुसेहरू— प्रत्येक चार अङ्गुल चौड़ा— भित्ताका चारैतिर झुण्ड्याइएका थिए। टेबिलहरूचाहिँ भेटीको मासु राखिनलाई थिए।
पूजाहारीका कोठा
44भित्री मूल ढोकाको बाहिरपट्टि, भित्री चोकभित्र दुई वटा कोठा थिए। एउटा कोठा उत्तरको मूल ढोकानेर दक्षिणतिर फर्केको, र अर्कोचाहिँ दक्षिणको मूल ढोकानेर उत्तरतिर फर्केको थियो। 45तिनले मलाई भने, “यो दक्षिणतिर फर्केको कोठा ती पूजाहारीहरूका निम्ति हो, जसका जिम्मामा मन्दिर छ। 46र उत्तरतिर फर्केको कोठाचाहिँ ती पूजाहारीहरूका निम्ति हो, जसका जिम्मामा वेदी छ। यी सादोकका छोराहरू हुन्, र लेवीहरूमा ती मात्रै परमप्रभुको सामुन्ने सेवा गर्नलाई उहाँको नजिक आउन सक्छन्।
47तब तिनले चोक नापे। त्यो वर्गाकार थियो— एक सय हात लामो र एक सय हात चौड़ा। वेदीचाहिँ मन्दिरको अगि अवस्थित थियो।
मन्दिर
48तब तिनले मलाई मन्दिरको दलानमा ल्याए, र दलानका थामहरू तिनले नापे। ती दुवैपट्टि पाँच-पाँच हात चौड़ा थिए। प्रवेशद्वारको चौड़ाइ चौध हात थियो, र त्यसका गाराहरू एक-एकतिर तीन-तीन हात चौड़ा थिए। 49दलानको चौड़ाइ बीस हात थियो, र त्यसको अगाड़िपट्टिदेखि पछाड़िपट्टिसम्म बाह्र हात थियो। त्यसका उक्लिने दश वटा खुट्किलाहरू थिए, र थामहरूका दुवैपट्टि खम्बाहरू थिए।
अहिले सेलेक्ट गरिएको:
इजकिएल 40: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012