गलाती 6
6
सबैको भलाइ गर्नु
1भाइ हो, यदि कुनै मानिस अपराधमा पक्राउ पर्यो भने तिमीहरू जो आत्मिक छौ, तिमीहरूले नै नम्रतापूर्वक तिनको सुधार गर। आफ्नै पनि विचार राख, नत्रता तिमीहरू पनि परीक्षामा पर्नेछौ। 2एउटाले अर्काको भार उठाओ, र यसरी ख्रीष्टको व्यवस्था पूरा गर। 3किनकि कुनै मूल्य नभएको मानिसले आफैलाई केही हुँ भनी ठान्छ भने त्यसले आफैलाई धोका दिन्छ। 4प्रत्येकले आफ्नै कामको जाँच गरोस्, तब मात्र त्यसले आफैलाई अरूसँग तुलना नगरी आफैमाथि गर्व गर्न सक्छ। 5किनभने हरेकले आफ्नो भार आफै उठाउनुपर्छ।
6वचनको शिक्षा पाउने हरेकले आफ्ना सबै असल थोकहरू वचन सिकाउनेसँग बाँड़चूड़ गर्नुपर्छ।
7धोकामा नपर, परमेश्वरको ठट्टा हुँदैन, किनभने मानिसले जे रोप्दछ त्यसैको कटनी पनि गर्नेछ। 8जसले आफ्नो पापमय स्वभावको निम्ति रोप्तछ, त्यसले आफ्नो पापमय स्वभावबाट नै सर्वनाशको कटनी गर्नेछ। तर जसले आत्माको निम्ति रोप्तछ, त्यसले आत्माबाट नै अनन्त जीवनको कटनी गर्नेछ। 9भलाइ गर्ने काममा हामी नथाकौं, किनभने यदि हिम्मत हारेनौं भने ठीक समयमा हामी कटनी गर्नेछौं। 10यसकारण मौका पाएअनुसार हामी सबै मानिसको भलाइ गर्दैजाऔं, विशेष गरी तिनीहरूको, जो हाम्रो विश्वासका परिवारका हुन्।
नयाँ सृष्टि
11हेर, म कति ठूला-ठूला अक्षरहरूले आफ्नै हातले तिमीहरूलाई लेखिरहेछु।
12ख्रीष्टका क्रूसको कारणले सतावटमा नपरून् भनी बाहिरी तवरले सब ठीक देखिन चाहनेहरूले नै तिमीहरूलाई खतना गर्न कर लाउँछन्। 13किनकि खतना गर्नेहरू आफै पनि व्यवस्था पालन गर्दैनन्, तर तिमीहरूको शरीरमा घमण्ड गर्नको निम्ति तिमीहरूले खतना गरेको तिनीहरू चाहन्छन्। 14हाम्रा प्रभु येशू ख्रीष्टको क्रूस बाहेक अरू कुनै पनि कुरामाथि घमण्ड गर्ने कुरा मदेखि दूर रहोस्, जसद्वारा मचाहिँ संसारको लेखि, र संसार मेरो लेखि क्रूसमा झुण्ड्याइएको छ। 15न त खतनाको केही महत्त्व छ, न बेखतनाको, तर नयाँ सृष्टि नै सब थोक हो। 16अब जो-जति यस नियममा चल्दछन्, तिनीहरूमाथि र परमेश्वरका इस्राएल जातिमाथि शान्ति र कृपा रहोस्।
17अबदेखि उसो कसैले मलाई कष्ट नदेओस्, किनभने म आफ्नो शरीरमा येशूका डामहरू धारण गर्दछु।
18भाइ हो, हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूको आत्मासँग रहोस्। आमेन।
अहिले सेलेक्ट गरिएको:
गलाती 6: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012