YouVersion लोगो
खोज आइकन

यर्मिया 41

41
1सातौँ महिनामा एलीशामाको नाति, नतन्‍याहको छोरो इश्‍माएल, जो राजकीय रगत भएको र राजाका अधिकृतहरूमध्‍येको एक थियो, दश जना मानिसहरू लिएर मिस्‍पामा अहीकामका छोरा गदल्‍याहकहाँ आयो। जब तिनीहरू सबै एकैसाथ त्‍यहाँ खाइरहेका थिए, #२ राज २५:२५ 2तब नतन्‍याहको छोरो इश्‍माएल र ती दश जना मानिसहरू उठेर बेबिलोनका राजाले देशको लागि राज्‍यपाल नियुक्त गरेका शापानका नाति, अहीकामका छोरा गदल्‍याहलाई तरवारले मारे। 3इश्‍माएलले मिस्‍पामा गदल्‍याहसँग भएका सबै यहूदीहरू र त्‍यहाँ भएका बेबिलोनी सिपाहीहरूलाई पनि मार्‍यो।
4गदल्‍याह मारिएको कुरा कसैले थाहा पाउनु अघि भोलिपल्‍ट 5शकेम, शीलो र सामरियाबाट दाह्री काटेका, लुगा च्‍यातेका र शरीर चिरै-चिरा काटेका असी जना मानिसहरू परमप्रभुको घरमा अन्‍नबलि र धूप चढ़ाउन आए। 6नतन्‍याहको छोरो इश्‍माएल मिस्‍पाबाट रुँदै-रुँदै तिनीहरूलाई भेट्‌न निस्‍क्‍यो। तिनीहरूलाई भेटेर त्‍यसले भन्‍यो, “अहीकामको छोरो गदल्‍याहकहाँ आओ।” 7जब तिनीहरू सहरभित्र आए तब नतन्‍याहको छोरो इश्‍माएल र त्‍यसको साथमा भएका मानिसहरूले तिनीहरूलाई मारे, र तिनीहरूका लाश एउटा इनारमा फालिदिए। 8तर तिनीहरूमध्‍येका दश जना मानिसले इश्‍माएललाई भने, “हामीलाई नमार्नुहोस्‌! हामीसित एउटा खेतमा लुकाइराखेका गहूँ, जौ, तेल र मह छन्‌।” यसैले त्‍यसले तिनीहरूलाई छोड़िदियो र अरूहरूसित तिनीहरूलाई मारेन। 9त्‍यो इनार, जहाँ इश्‍माएलले गदल्‍याह र अरू मानिसहरूलाई मारेर फालिदिएको थियो, त्‍यो त्‍यही इनार थियो, जो आसा राजाले इस्राएलका राजा बाशाको डरले गर्दा रक्षाको निम्‍ति खनाएका थिए। नतन्‍याहको छोरो इश्‍माएलले आफूले मारेका मानिसहरूले त्‍यो भरिदियो।
10त्‍यसपछि इश्‍माएलले मिस्‍पामा बाँकी रहेका जम्‍मै मानिसहरूलाई— राजाका छोरीहरू र अरू मानिसहरू, जुनलाई राजकीय अङ्गरक्षकका सेनापति नबूजरदानले अहीकामका छोरा गदल्‍याहको हातमा सुम्‍पेका थिए, ती सबैलाई त्‍यसले कैद गर्‍यो। यी कैदीहरूलाई लिएर सिमाना पारि अम्‍मोनीहरूकहाँ जानलाई त्‍यो हिँड़्यो।
11जब कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले नतन्‍याहको छोरो इश्‍माएलले गरेका सबै अपराधका विषयमा सुने, 12तब तिनीहरू आफ्‍ना सबै मानिसहरूलाई लिएर नतन्‍याहको छोरो इश्‍माएलसित लड़ाइँ गर्नलाई हिँड़े। तिनीहरूले त्‍यसलाई गिबोनको ठूलो दहनेर भेट्टाए। 13जब इश्‍माएलसित भएका ती मानिसहरूले कारेहका छोरा योहानान र तिनका साथमा भएका फौजका सबै अधिकृतहरूलाई देखे तब तिनीहरू रमाए। 14इश्‍माएलले मिस्‍पाबाट लगेका सबै कैदीहरू कारेहका छोरा योहानानकहाँ फर्केर गए। 15तर नतन्‍याहको छोरो इश्‍माएल आफ्‍ना आठ जना मानिसहरूसित योहानानको हातबाट उम्‍केर अम्‍मोनीहरूकहाँ भागेर गयो।
16तब अहीकामका छोरा गदल्‍याहलाई मारेपछि नतन्‍याहको छोरो इश्‍माएलले गिबोनबाट ल्‍याएका बाँचेकाहरूलाई— सिपाहीहरू, स्‍त्रीहरू, केटाकेटीहरू र महलका अधिकृतहरूलाई कारेहका छोरा योहानान र तिनीसित भएका फौजका सबै अधिकृतहरूले लगेर गए। 17तिनीहरू बेबिलोनीहरूदेखि उम्‍कन मिश्रमा जाने विचार गरेर बेथलेहेमनेरको गेरूथ-किम्‍हाममा वास बसे। 18तिनीहरू बेबिलोनीहरूसित डराएका थिए, किनभने बेबिलोनका राजाले देशको लागि नियुक्त गरेका राज्‍यपाल अहीकामका छोरा गदल्‍याहलाई नतन्‍याहको छोरो इश्‍माएलले मारेको थियो।

अहिले सेलेक्ट गरिएको:

यर्मिया 41: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्