YouVersion लोगो
खोज आइकन

लूका 23:32-46

लूका 23:32-46 NNRV

अब तिनीहरूले दुई अपराधीहरूलाई उहाँसँगै मृत्‍युदण्‍ड दिनलाई लगे। जब तिनीहरू खप्‍परे भन्‍ने ठाउँमा आए, तब त्‍यहाँ तिनीहरूले उहाँलाई क्रूसमा टाँगे, र ती अपराधीहरूमध्‍ये एक जनालाई दाहिनेपट्टि र अर्कालाई देब्रेपट्टि क्रूसमा टाँगे। अनि येशूले भन्‍नुभयो, “हे पिता, यिनीहरूलाई क्षमा गर्नुहोस्, किनकि यिनीहरूले के गर्दैछन्‌ सो जान्‍दैनन्‌।” अनि तिनीहरूले उहाँको वस्‍त्र भाग गरेर चिट्ठा हाले। मानिसहरू उभिएर हेरिरहेका थिए। शासकहरूले उहाँको ठट्टा गर्दै भने, “यसले अरूलाई बचायो, यो परमेश्‍वरका ख्रीष्‍ट तथा उहाँका चुनिएका जन हो भने यसले आफैलाई बचाओस्‌।” सिपाहीहरूले पनि आएर उहाँलाई सिर्का दिँदै यसो भनेर गिल्‍ला गरे, “तँ यहूदीहरूका राजा होस्‌ भने आफूलाई बचा।” “यो यहूदीहरूको राजा हो” भन्‍ने दोष-पत्र पनि उहाँको मास्‍तिर थियो। क्रूसमा टाँगिएका अपराधीहरूमध्‍ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्‍यो, “के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।” तर त्‍यसलाई हकारेर अर्कोले जवाफ दियो, “तँ पनि त्‍यही दण्‍डमा परेको छस्, तापनि परमेश्‍वरको डर मान्‍दैनस्‌? हाम्रो दण्‍ड त न्‍यायोचित छ, किनकि हामीले त आफ्‍नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्‌।” तब त्‍यसले भन्‍यो, “हे येशू, तपाईं आफ्‍नो राज्‍यमा आउनुहुँदा मलाई सम्‍झनुहोस्‌।” उहाँले त्‍यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, आजै तिमी मसित स्‍वर्गलोकमा हुनेछौ।” प्राय: दिउँसोको बाह्र बजेको थियो, र तीन बजेसम्‍म सारा देशलाई अन्‍धकारले ढाक्‍यो। सूर्यको तेजै कम भयो, र मन्‍दिरको पर्दा माझमा च्‍यातिएर दुई भाग भयो। उच्‍च सोरले कराएर येशूले भन्‍नुभयो, “हे पिता, म मेरो आत्‍मा तपाईंको हातमा सुम्‍पन्‍छु।” यति भनेर उहाँले आफ्‍नो प्राण त्‍यागिदिनुभयो।