भजनसंग्रह 66
66
प्रार्थनाको गीत र धन्यवाद-ज्ञापन
सङ्गीत-निर्देशकको निम्ति एउटा भजन
1हे सारा पृथ्वी, आनन्दसाथ परमेश्वरको जयजय गर।
2उहाँका नाउँको महिमाको स्तुति गाओ, उहाँको प्रशंसालाई महिमित तुल्याओ।
3परमेश्वरलाई भन, “तपाईंका कार्यहरू कस्ता भयानक छन्! तपाईंका शक्तिको महत्त्व यति महान् छ कि तपाईंका शत्रुहरू तपाईंको सामुन्ने खुम्चिन्छन्।
4सारा पृथ्वी तपाईंको अगि झुक्तछ, तिनीहरूले तपाईंको प्रशंसाका भजन गाउँछन्, तिनीहरूले तपाईंका नाउँको भजन गाउँछन्।” सेला
5आओ, परमेश्वरका कार्य हेर, मानिसका पक्षमा उहाँका कामहरू कति भयानक छन्!
6उहाँले समुद्रलाई सुक्खा जमिन तुल्याउनुभयो,#प्रस १४:२१; यहो ३:१४-१७ तिनीहरूले पैदलै नदी तरे— आओ, हामी उहाँमा आनन्दित होऔं।
7उहाँले आफ्नो शक्तिद्वारा सदा शासन गर्नुहुन्छ, उहाँका आँखाले जाति-जातिलाई हेर्नुहुन्छ— उहाँको विरुद्ध विद्रोहीहरू नउठून्। सेला
8हे मानिसहरू हो, हाम्रा परमेश्वरको स्तुति गर।
उहाँका स्तुतिको आवाज सुनिओस्।
9उहाँले हाम्रा जीवनलाई सुरक्षित राख्नुभएको छ,
र हाम्रा खुट्टालाई चिप्लन दिनुभएको छैन।
10किनकि हे परमेश्वर, तपाईंले हाम्रो जाँच गर्नुभएको छ, तपाईंले हामीलाई चाँदीलाई झैँ परिष्कृत गर्नुभएको छ।
11तपाईंले हामीलाई कैदमा ल्याउनुभयो,
र हाम्रा ढाड़मा बोझ लाद्नुभयो।
12तपाईंले मानिसहरूलाई हाम्रा शिरमा चढ्न दिनुभयो, हामी आगो र पानीबाट भएर गयौं, तर तपाईंले हामीलाई प्रशस्तताको ठाउँमा ल्याउनुभयो।
13म तपाईंको मन्दिरमा होमबलिसहित आउनेछु,
र तपाईंसित गरेका भाकल पूरा गर्नेछु—
14म कष्टमा भएको समयमा, मेरा ओठले प्रतिज्ञा गरेका तथा मेरो मुखले उच्चारण गरेका भाकल।
15म तपाईंलाई मोटा पशुहरू बलिदान चढ़ाउनेछु,
र भेड़ाहरूको बलि। म साँढ़े र बोकाहरू चढ़ाउनेछु। सेला
16परमेश्वरसित डराउनेहरू सबै आओ र सुन, उहाँले मेरो निम्ति के गर्नुभयो मलाई भन्न देओ।
17मैले मेरो मुखले उहाँलाई पुकारें,
र मेरो जिब्रोबाट उहाँको स्तुति भयो।
18यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए, परमेश्वरले सुन्नुहुनेथिएन।
19तर साँच्ची नै परमेश्वरले सुन्नुभएको छ, उहाँले मेरो प्रार्थनाका शब्दहरूमाथि ध्यान दिनुभएको छ।
20परमेश्वरलाई महिमा होस्, जसले मेरो प्रार्थना अस्वीकार गर्नुभएको छैन, न त मबाट उहाँको प्रेम हटाउनुभएको छ।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 66: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012