भजनसंग्रह 77
77
सङ्कष्टको बेलामा सान्त्वना
सङ्गीत-निर्देशकको निम्ति यदूतूनको लागि आसापको भजन
1मैले सहायताको निम्ति परमेश्वरमा पुकारा गरें। उहाँले मलाई सुनून् भनेर मैले परमेश्वरलाई पुकारें।
2मेरो दु:खको घड़ीमा मैले परमप्रभुलाई खोजें, राती नथाकी मेरो हात पसारें, अनि मेरो प्राणले सान्त्वना ग्रहण गर्न चाहेन।
3हे परमेश्वर, मैले तपाईंलाई सम्झें, र अफसोस गरें, मैले चिन्ता गरें, र मेरो आत्मा शिथिल भयो। सेला
4तपाईंले मेरा आँखा लाग्न दिनुभएन, म यति दु:खित भएँ, कि बोल्न पनि सकिनँ।
5बितेका दिनहरू, धेरै पुराना वर्षहरूको मैले सम्झना गरें।
6राती मैले आफ्ना गीतहरू सम्झें, म ध्यानमा बसें, र मेरो आत्माले यो सोध्यो:
7के परमेश्वरले सदाको निम्ति इन्कार गर्नुहुन्छ,
र उहाँले फेरि कहिल्यै निगाह राख्नुहुन्न?
8के उहाँको अचूक प्रेम सदाको लागि मेटिएको छ? के उहाँका प्रतिज्ञाहरू सदाको निम्ति समाप्त भएका छन्?
9के परमेश्वरले दया गर्न बिर्सनुभएको छ? के रिसाएर उहाँले आफ्नो कृपा-दृष्टि बन्द गर्नुभएको छ?
10अनि मैले सोचें, “यस कुरामा म अपिल गर्छु:
सर्वोच्चको दाहिने बाहुलीका वर्षहरू।”
11परमप्रभुका कार्यहरूको म स्मरण गर्नेछु, निश्चय नै तादिका तपाईंका आश्चर्यकर्महरू म सम्झनेछु।
12म तपाईंका सबै कामहरूमाथि मनन गर्नेछु,
र तपाईंका सबै शक्तिशाली कार्यहरूमाथि चिन्तन गर्नेछु।
13हे परमेश्वर, तपाईंका मार्ग पवित्र छन्, हाम्रा परमेश्वरझैँ महान् देव अरू को छ?
14तपाईं आश्चर्य कामहरू गर्ने परमेश्वर हुनुहुन्छ, तपाईं आफ्नो सामर्थ्य मानिसहरूका बीचमा प्रकट गर्नुहुन्छ।
15तपाईंले आफ्नो बाहुलीको शक्तिले आफ्ना मानिसहरूलाई उद्धार गर्नुभयो, याकूब र योसेफका सन्तानहरूलाई। सेला
16हे परमेश्वर, समुद्रको पानीले तपाईंलाई देख्यो, जब पानीले तपाईंलाई देख्यो, त्यो मड़ारियो। अथाह सागर कम्पायमान भयो।
17बादलहरूले पानी खन्याए, आकाशमा भयङ्कर रूपले गर्जन लाग्यो, तपाईंका बाणहरू चारैतिर चम्कन लागे।
18तपाईंको गर्जन आँधीबेहरीमा सुनियो, तपाईंको बिजुलीले संसारलाई आलोकित पारिदियो, पृथ्वी कम्पित भएर हल्लियो।
19तपाईंको बाटो समुद्र भएर गयो,
र तपाईंको पथ महासमुद्रको बीचमा थियो, यद्यपि तपाईंका पाइलाहरू देखिएनन्।
20मोशा र हारूनका हातद्वारा तपाईंले आफ्नो प्रजालाई भेड़ाको एउटा बगाललाई जस्तै डोर्याउनुभयो।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 77: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012