रोमी पुस्तक परिचय
पुस्तक परिचय
पावल (तिनको पहिलेको नाम शाऊल थियो) एक प्रेरित हुन् तर तिनी येशू ख्रीष्टका बाह्र जना चेलाहरू मध्येका थिएनन्। शायद येशू ख्रीष्ट संसारमा हुनुहुँदा पनि पावलको उहाँसँग एक पटक पनि भेट भएको थिएन। तिनी एकदमै भक्त र कट्टर यहूदी गुरु थिए (फिलिप्पी ३:४-६)। जब ख्रीष्टको सुसमाचार फैलिन लाग्यो, तब पावलले कठोरतासाथ विश्वासीहरूलाई सताउन लागे (प्रेरित २२:३-४; २६:९-११)। एक दिन त्यही काममा दमस्कस भन्ने सहरतिर जाँदैगर्दा (अहिले सिरिया भन्ने मध्यपूर्व देशको राजधानी), पावलले अचम्मलाग्दो किसिमले जीवित प्रभु येशू ख्रीष्टको दर्शन पाए (प्रेरित ९:३-९; २२:६-११; २६:१२-१८)। ख्रीष्टले त्यसैबेला देखि तिनलाई प्रेरित नियुक्त गर्नुभयो। अनि त्यही समयदेखि अन्यजाति अर्थात यहूदी मत नमान्नेहरूका बीचमा सुसमाचार प्रचार गर्नलाई येशूले पावललाई पठाउनुभयो। पावलको जीवन र कामको पूर्ण वर्णन प्रेरितको अध्याय नौ मा र अध्याय तेह्रदेखि अट्ठाईससम्ममा पाइन्छ।
पावलले तीन पटक प्रचारको यात्रा गरे र एफिसी, फिलिप्पी, थेसलोनिके, कोरिन्थ, टर्की र ग्रीसमा भएका धेरै अरू सहर-सहरमा ख्रीष्टियान मण्डलीहरू स्थापना गरे। यी यात्राहरूमा जाँदाजाँदै आफूले स्थापना गरेका यी नयाँ मण्डलीहरूलाई पावलले पत्र लेखे। पावलले अरू ख्रीष्टियान मण्डलीहरूलाई पनि पत्र लेखे, जस्तै कलस्सी र रोममा भएका मण्डलीहरू, जुन मण्डलीहरूको पावलले स्थापना गरेका थिएनन्। पावलले तिमोथी, तीतस र फिलेमोनलाई व्यक्तिगत चिट्ठीहरू पनि लेखे। ख्रीष्टका शिक्षा बुझ्नलाई र हामी ख्रीष्टियानहरू कस्तो चालमा चल्नुपर्ने हो सो सिक्नलाई यी पत्रहरू हामीलाई अति आवश्यक छन्। चार वटा सुसमाचार लेखिनुभन्दा पहिले यी धेरैजसो पत्रहरू लेखिएका थिए; त्यसकारण यी पत्रहरू नयाँ करारका सबभन्दा पहिले लेखिएका पुस्तकहरू हुन्।
रोमीहरूलाई पावलले लेखेको यो पत्र ग्रीसमा भएको कोरिन्थ भन्ने सहरबाट ईस्वी सम्बत् ५५ मा पठाइएको थियो। त्यतिबेला भूमध्यसागर वरपरका देशहरूमाथि रोमी साम्राज्यको अधिकार थियो, जसको राजधानी रोम थियो। आजकाल रोम सहरचाहिँ दक्षिण यूरोपको इटाली देशको राजधानी हो। रोममा भएको मण्डलीलाई कसले स्थापित गरेको थियो भन्ने कुरा अहिलेसम्म केही निश्चित थाहा भएको छैन। तर पावलले यो पत्र लेख्दा रोममा धेरै ख्रीष्टियानहरू थिए जसमध्ये कोही-कोही पहिले यहूदी भएका थिए र अरू कोही-कोही अन्यजाति थिए।
प्रचारको अर्को यात्रामा पावल रोममा र त्यहाँबाट स्पेनमा जाने विचार गर्दै थिए (रोमी १५:२३-२४)। तर पावलले यो योजना पूरा गर्न पाएनन्, किनभने यरूशलेम (इस्राएलको राजधानी) मा तिनी पक्राउ परे, र त्यसपछि कैदीको रूपमा मात्र रोममा पुगे। त्यहाँ पावल दुई वर्षसम्म कैदमा बसे। त्यसपछि पावललाई के-के भयो कसैलाई निश्चित थाहा छैन।
रोमीहरूलाई लेखेको पावलको यो पत्रको मूल विषय यही हो: सबै मानिसहरू पापी छन्, र मानिसका कामहरू वा परिश्रमद्वारा होइन, तर ख्रीष्टमा विश्वासद्वारा मात्र तिनीहरू परमेश्वरको दृष्टिमा धर्मी ठहराइएर उद्धार र अनन्त जीवन पाउन सक्छन्।
नयाँ करारका अरू सबै पुस्तकका लेखकहरू जस्तै, पावलले यो र तिनका अरू पत्रहरू पनि पवित्र आत्माको प्रेरणाद्वारा लेखे। यो पनि भन्न सकिन्छ कि परमेश्वरका पवित्र आत्माले नै बाइबलका सबै पुस्तकहरू लेख्नु भएको छ। यसकारण, जब हामी पावलका पत्रहरू पढ्छौं, हामीले सम्झनु पर्छ कि यी पत्रहरू (र अरू सबै बाइबलका पुस्तकहरू) परमेश्वरले नै लेखिपठाउनुभएका पत्रहरू हुन्। पावलले रोमीहरूलाई लेखेको यो पत्र रोमीहरूका निम्ति मात्र होइन तर हामीहरूका निम्ति पनि हो।
अहिले सेलेक्ट गरिएको:
रोमी पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012