YouVersion लोगो
खोज आइकन

रूथ 4

4
बोअज र रूथको विवाह
1अब बोअज सहरको मूल ढोकामा गएर बसेका थिए। अनि केही समयपछि तिनले कुरा गरेका ती नजिकका मोल तिरेर छुटकारा दिने नातेदार त्‍यहीँबाट भएर आए। बोअजले तिनको नाउँ काढ़ेर तिनलाई बोलाई भने, “यता आएर बस्‍नुहोस्‌।” तिनी आएर बसे।
2तब बोअजले सहरका दश जना धर्म-गुरुहरूलाई रोकेर बस्‍ने बिन्‍ती गरे। अनि तिनीहरू त्‍यहाँ बसे। 3तब बोअजले ती नजिकका नातेदारलाई भने, “हाम्रा दाजु एलीमेलेकको एक टुक्रा जमिनको विषयमा तपाईंलाई यादै होला। मोआबीहरूको देशबाट नाओमी फर्केर आएकी छिन्, र त्‍यो बेच्‍न तिनी चाहन्‍छिन्‌। 4यी मेरा जातिका धर्म-गुरुहरूका समक्षमा तपाईंले त्‍यो लिनुहोस्‌ भनी तपाईंसित यो कुरा उठाउने मैले विचार गरेको छु। नजिकको नातेदारको कर्तव्‍य तपाईं गर्नुहुन्‍छ भने गर्नुहोस्, तर गर्नुहुन्‍न भने मलाई भन्‍नुहोस्, र मलाई थाहा लाग्‍नेछ। किनभने तपाईंपछिको नजिकको नातेदार म हुँ।”
तिनले भने, “नजिकको नातेदारको काम म गर्नेछु।”
5तब बोअजले भने, “नाओमी र मोआबी रूथबाट त्‍यो जमिन लिएको दिन मरेका मानिसको पैतृक-सम्‍पत्तिसँग तिनको नाउँ कायम राख्‍नलाई ती मरेका मानिसकी पत्‍नी पनि तपाईंले प्राप्‍त गर्नुहुनेछ।”
6यो सुनेर ती नजिकको नातेदारले भने, “म आफै यो काम गर्न सक्‍दिनँ, किनभने मेरो आफ्‍नै पैतृक-सम्‍पत्ति गुमाउने मलाई डर छ। यसर्थ मैले गर्नुपर्ने नजिकको नातेदारको काम तपाईंले गर्नुहोला। म यो काम गर्न सक्‍दिनँ।”
7प्राचीन समयमा जग्‍गाजमिन मोल तिरेर लिँदा वा सट्टापट्टा गर्दा, दिने मानिसले आफ्‍नो जुत्ता फुकालेर लिने मानिसलाई दिने चलन थियो। इस्राएलमा पक्‍का गर्ने रीति यस्‍तै थियो। #व्‍य २५:९
8यसैले ती नजिकको नातेदारले बोअजलाई भने, “तपाईंले आफ्‍नै निम्‍ति त्‍यो किन्‍नुहोस्‌।” अनि तिनले आफ्‍नो जुत्ता फुकाले।
9तब बोअजले ती धर्म-गुरुहरू र अरू सबै मानिसहरूलाई भने, “मैले आजको दिन एलीमेलेक अनि महलोन र किल्‍योनका जे-जति छन्‌ सो सबै नाओमीको हातबाट प्राप्‍त गरेको कुरामा तपाईंहरू साक्षी हुनुहुन्‍छ। 10यसबाहेक महलोनकी पत्‍नी मोआबी रूथलाई पनि ती मरिसकेका मानिसको पैतृक-सम्‍पत्तिसँग तिनको नाउँ कायम राख्‍नलाई तिनका नातेदारहरूका बीचबाट र सहरको खाताबाट तिनको नाउँ नमेटिओस्‌ भनेर मैले आफ्‍नी पत्‍नी हुनलाई प्राप्‍त गरेको छु। तपाईंहरू आजको दिन साक्षी हुनुहुन्‍छ।” #व्‍य २५:५-६
11तब धर्म-गुरुहरू र मूल ढोकामा हुने सबैले भने, “हामी साक्षी छौं। तपाईंको घरमा आउने यी स्‍त्रीलाई परमप्रभुले इस्राएलको घराना निर्माण गर्ने राहेल र लेआजस्‍तै तुल्‍याऊन्‌। एप्रातामा तपाईंको कदर होस्, र बेथलेहेममा तपाईंको नाउँ प्रसिद्ध रहोस्‌। #उत २९:३१ 12अनि परमप्रभुले तपाईंलाई यस युवतीबाट दिने सन्‍तानको घराना तामारले यहूदाबाट जन्‍माएका छोरा फारेसको घरानाजस्‍तै होस्‌।” #उत ३८:२७-३०
दाऊदको वंशावली
13यसरी बोअजले रूथलाई लगे, र तिनलाई आफ्‍नी पत्‍नी तुल्‍याए। जब उनीहरूको सहवास भयो तब परमप्रभुको कृपाले तिनी गर्भवती भइन्, र तिनले एउटा छोरा जन्‍माइन्‌। 14तब स्‍त्रीहरूले नाओमीलाई भने, “परमप्रभु धन्‍यका हुनुहुन्‍छ। किनभने आज उहाँले तपाईंलाई एउटा नजिकको नातेदारविना छोड्‌नुभएन। यसको नाउँ इस्राएलमा प्रसिद्ध रहोस्‌। 15यो बालक तपाईंलाई नयाँ जीवन दिने र तपाईंको बुढ़ेसकालमा तपाईंको पालनपोषण गर्ने हुनेछ। किनभने सात भाइ छोराभन्‍दा पनि असल भएकी, तपाईंलाई प्रेम गर्ने बुहारीले यो बालक जन्‍माएकी हुन्‌।”
16नाओमीले त्‍यस बालकलाई लिएर आफ्‍नो काखमा राखिन्‌ र तिनी त्‍यसकी धाई पनि भइन्‌। 17तिनका छिमेकीहरूले भने, “नाओमीको एक जना छोरो भयो।” अनि उनीहरूले त्‍यसको नाउँ ओबेद राखे। तिनी नै यिशैका बुबा र दाऊदका बाजे थिए।
18फारेसको वंशावली यही हो:
फारेस हेस्रोनका पिता भए।
19हेस्रोन आरामका पिता भए।
आराम अम्‍मीनादाबका पिता भए।
20अम्‍मीनादाब नहशोनका पिता भए।
नहशोन सल्‍मोनका पिता भए।
21सल्‍मोन बोअजका पिता भए।
बोअज ओबेदका पिता भए।
22ओबेद यिशैका पिता भए।
यिशै दाऊदका पिता भए।

अहिले सेलेक्ट गरिएको:

रूथ 4: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्