१ राजा 6
6
सोलोमनले मन्दिर बनाउँछन्
1इस्राएलीहरूले मिश्रदेश छाडेको चार सय असी वर्षपछि आफ्ना शासनकालको चौथो वर्षको जीभ भनिने दोस्रो महिनामा सोलोमनले मन्दिर बनाउने काम सुरु गरे। 2मन्दिर भित्रको लमाइ २७ मिटर, चौडाइ ९ मिटर र उचाइ १३.५ मिटर थियो। 3मन्दिरको ढोका अगाडिको प्रवेश कोठाको लम्बाइ मन्दिरको चौडाइ बराबर ९ मिटर थियो। प्रवेश कोठाको चौडाइचाहिँ ४.५ मिटर थियो। 4मन्दिरका भित्ताहरूमा अग्ला-अग्ला ठाउँमा झ्यालहरू थिए। ती झ्यालहरू बाहिरी भित्तापट्टि साँगुरिएर गएका थिए। 5बाहिरी भित्ताका दुई बगाल र पछिल्लोपट्टि, एउटा तीनतले घर जोडेर बनिएको थियो। हरेक तला २.२ मिटर अग्लो थियो। 6तल्लो तलाको हरेक कोठा २.२ मिटर चौडा बीच तलाका कोठाहरूको २.७ मिटर चौडा र माथिल्लो तलाका कोठाहरू ३.१ मिटर चौडा थिए। मन्दिरका भित्ताहरू माथिल्ला तलामा तल्लो तलाको भन्दा कम चौडा थिए र त्यसो हुँदा कोठा थाम्ने दलिनहरू कोठाका भित्ताका भरमा राखिएका थिए।
7मन्दिर बनाउँदा मार्तोल वा घन, बञ्चरो वा अरू कुनै फलामका हातहतियार चलाएको आवाज नसुनिओस् भनेर मन्दिर बनाउनलाई लगाइएका ढुङ्गाहरू ढुङ्गा खानिमा तयार गरिएका थिए।
8जोडेर बनेको भवनको भूइँ-तलाको प्रवेश ढोका मन्दिरको दक्षिण छेउपट्टि पर्थ्यो। त्यहाँबाट दोस्रो र तेस्रो तलासम्म भर्याङ लागेका थिए। 9यसरी सोलोमन राजाले मन्दिर बनाइसके। देवदारुका दलिन र फल्याक लाएर छाना हालेका थिए। 10जोडिएर बनेको तीनतले भवन, जसको हरेक तला २.२ मिटर अग्लो थियो, मन्दिरको बाहिरी भित्तासित जोडेर देवदारुका बनाएका थिए।
11परमप्रभुले सोलोमनलाई भन्नुभयो, 12“तैँले मेरा सबै आज्ञा र नियमहरू पालन गरिस् भने मैले तेरो पिता दाऊदसित गरेको प्रतिज्ञा तँसित पूरा गर्नेछु। 13म मेरो प्रजा इस्राएलका माझमा बास गर्नेछु र म कहिल्यै तिनीहरूलाई त्याग्नेछैनँ।”
14सोलोमनले यसरी मन्दिर बनाएर सिध्याए।
मन्दिरभित्रका सर-सामानहरू
(२ इतिहास ३:८-१४)
15मन्दिरको भित्री भित्ताहरू भूइँदेखि छानासम्म देवदारुका फल्याकले ढाकेका थिए र भूइँमा सल्लाका फल्याक ओछ्याइएको थियो। 16#प्रस्थान 26:33,34मन्दिरको पछिल्लो भागमा एउटा भित्री कोठा बनेको थियो। त्यसलाई महा-पवित्रस्थान भनिन्थ्यो। त्यो नौ मिटर लामो थियो र देवदारुका फल्याकले भूइँदेखि छानासम्म ढाकी अलग्गै छुट्ट्याइएको थियो। 17महा-पवित्रस्थानको अगाडिको कोठा अठार मिटर लामो थियो। 18मन्दिरको भित्रपट्टि सम्पूर्ण देवदारुको फल्याकले ढाकेको थियो र ढुङ्गाका भित्ताहरू देखिंदैनथ्यो र देवदारुका फल्याकहरूमा फूल र लौकाका चित्र खोपेर सिँगारिएको थियो।
19मन्दिरको पछिल्लो भागमा भएको भित्री कोठा परमप्रभुको करारको सन्दुक राख्न बनेको थियो। 20यो भित्री कोठाको उचाइ, लम्बाइ र चौडाइ नौ-नौ मिटर थियो र सम्पूर्ण कोठा निखुर सुनले मोरिएको थियो। वेदीचाहिँ देवदारुका फल्याकले मोहोरिएको थियो। 21मन्दिरका भित्री भाग निखुर सुनले मोहोरेका थिए र भित्री कोठामा पस्ने ढोकामा सुनका साङ्ला लगाएका थिए। भित्री कोठा सुनले मोहोरेका थिए। 22#प्रस्थान 30:1-3मन्दिरको भित्री भाग सम्पूर्ण सुनले मोहोरेका थिए र महा-पवित्रस्थानको वेदी पनि सुनले मोहोरिएको थियो।
23 #
प्रस्थान 25:18-20
जैतुनका काठको दुई वटा पखेटा भएका स्वर्गदूतहरू बनाएर महा-पवित्रस्थानमा राखिएको थियो। हरेक स्वर्गदूत ४.४ मिटर अग्लो थियो। 24-26दुवै एउटै आकार र नापका थिए। प्रत्येकमा दुई पखेटा र प्रत्येक पखेटा २.२ मिटर लामा थिए, त्यसरी एउटा पखेटाको टुप्पादेखि अर्को पखेटाका टुप्पासम्म ४.४ मिटरको अन्तर पर्थ्यो। 27तिनीहरूलाई महा-पवित्रस्थानको छेउ-छाउमा राखिएको थियो र कोठाको बीच भागमा तिनीहरूका एकएक वटा पखेटाको टुप्पा परस्परमा छुन्थे र एउटाका पखेटाका टुप्पाले एकापट्टिको भित्ता र एक-अर्काका पखेटाका टुप्पाले अर्कोपट्टिको भित्ता छुन्थ्यो। 28ती दुई स्वर्गदूतहरू सुनले मोहोरेका थिए।
29मूल कोठा र भित्री कोठाका भित्ताहरूमा स्वर्गदूत, खजुरका बोट र फूलहरूका चित्र खोपेर सिँगारिएको थियो। 30भूइँका भाग पनि सुनले ढाकेका थिए।
31महा-पवित्रस्थानको प्रवेशद्वारमा जैतुनका काठले बनेका एक जोड ढोका आमने-सामने राखिएका थिए। ढोकाको माथिल्लो चौखट चुच्चो पारेको अर्द्ध-गोलाकारको रूपमा थियो। 32स्वर्गदूत, खजूरका बोट र फूलहरूका चित्र खोपेर ती ढोकाहरू सिँगारिएका थिए। ढोका, स्वर्गदूत र खजूरका बोटहरू सुनले मोहोरेका थिए। 33मूल कोठाको ढोकाको निम्ति जैतुनका काठको एउटा चारकुने चौखट राखिएको थियो। 34सल्लाका काठका दुई वटा ढोकाहरू थिए। 35ती ढोकाहरूमा स्वर्गदूत, खजूरका रूख र फूलहरू खोपेर सिँगारिएका थिए र समान प्रकारले सुनले मोहोरेका थिए।
36मन्दिरको सामुन्नेमा एउटा भित्री चोक बनाइएको थियो। चोकका चारैपट्टि हरेक तीन लहर ढुङ्गाका देवलसित एक लहर देवदारुका बीमहरू दिएर पर्खालले घेरेका थिए।
37सोलोमन राजाको शासनकालको चौथो वर्षको जीभ भनिने दोस्रो महिनामा मन्दिरको जग बसालिएको थियो। 38सोलोमनको शासनकालको एघारौं वर्षको आठौँ महिना अर्थात् बूल भनिने महिनामा त्यसको नक्शाअनुसार मन्दिर पूर्णरूपले बनिसिद्धियो। मन्दिर बनाउन सोलोमनलाई सात वर्ष लाग्यो।
अहिले सेलेक्ट गरिएको:
१ राजा 6: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.