१ शमूएल 18
18
1शाऊल र दाऊदको बातचित सकियो। त्यस दिनपछि शाऊलको छोरा जोनाथन दाऊदसँग आत्मामा एक भए र तिनले दाऊदलाई आफैंलाई झैँ प्रेम गर्न लागे। 2त्यस दिनदेखि शाऊलले दाऊदलाई आफ्नोसाथमा राखे र घर फर्कन दिएनन्। 3दाऊदलाई गहिरो प्रेम गर्न लागेकोले जोनाथनले तिनीसित सदासर्वदा मित्रता राख्ने किरिया खाए। 4आफूले लगाएको लबेदा खोलेर तिनले दाऊदलाई दिए साथै आफ्ना तरवार, धनु र पेटी पनि तिनलाई दिए। 5शाऊलले गर्न पठाएका हरेक विशेष काममा दाऊद सफल भए र शाऊलले तिनलाई आफ्ना सेनामा अधिकृत नियुक्त गरे। त्यसो भएपछि शाऊलका सारा सैनिक वर्ग र अधिकृतहरू खुसी भए।
दाऊदप्रति शाऊलको ईर्ष्या
6जब दाऊद गोल्यतलाई मारेर फर्किरहेका थिए अनि सिपाहीहरू घर फर्किरहेका थिए, तब सबै सहरहरूबाट स्त्रीहरू शाऊल राजालाई भेट्न निस्किआए। तिनीहरू आनन्दले गाउँदै, नाच्दै र वीणा, खैँजडी बजाउँदै थिए। 7#१ शमूएल 21:11; 29:5प्रशंसा गर्दै तिनीहरूले यसरी गाउँदै थिए, “शाऊलले हजार-हजारलाई मारे; तर दाऊदले लाख-लाखलाई मारे।” 8त्यो शाऊललाई मन परेन र तिनी औधी रिसाए। तिनले भने, “दाऊदको लागि तिनीहरूले लाख-लाख मार्यो भन्ने दाबी गर्दै छन्; तर मलाई चाहिँ हजार-हजार मात्र। अर्को पालि त तिनीहरूले उनलाई राजा पनि बनाउलान् नि!” 9र त्यस दिनदेखि तिनले दाऊदसँग ईर्ष्या र शङ्का गर्न लागे।
10भोलिपल्ट परमेश्वरतर्फको एउटा दुष्टात्माले शाऊललाई पक्र्यो र तिनी घरैमा पागलजस्तो चिच्च्याउन लागे। दाऊद हरेक दिनझैँ वीणा बजाइरहेका थिए। शाऊलले हातमा भाला लिएका थिए। 11“म त्यसलाई भित्तैमा टाँसिदिनेछु,” भनी शाऊलले मनमा सोचेर दुईपल्ट दाऊदलाई भालाले हाने र दुवैपल्ट तिनी छलिएर बाँचे।
12शाऊल दाऊदसित डराउँथे किनभने परमप्रभु उनीसित हुनुहुन्थ्यो; तर शाऊललाई चाहिँ त्याग्नुभएको थियो। 13यसकारण शाऊलले दाऊदलाई दरबारबाट निकालेर हजार सैनिकहरूमाथि कप्तान नियुक्त गरिपठाए। दाऊदले आफ्ना सैनिकहरूलाई लडाइँमा अगुवाइ गरे 14र आफ्ना हरेक काममा सफल भए किनभने परमप्रभु तिनीसित हुनुहुन्थ्यो। 15शाऊलले दाऊदको सफलता देखे र तिनीसित अझ धेरै डराउन थाले। 16तर दाऊद सफल अगुवा भएको कारणले इस्राएल र यहूदाका हरेक व्यक्तिले तिनलाई प्रेम गर्थे।
दाऊदले शाऊलकी छोरीलाई विवाह गर्छन्
17तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छे। म त्यसलाई तिम्री स्वास्नी हुन दिनेछु; तर शर्त यो छ कि साहस र भक्तिसाथ तिमीले मेरो सेवा गर्नुपर्नेछ र परमप्रभुका लडाइँहरू लड्नुपर्नेछ।” यस्तो भएपछि पलिश्तीहरूले दाऊदलाई मार्नेछन् र म आफैंले त्यसलाई मार्नुपर्दैन भनी शाऊलले सोचेका थिए।
18दाऊदले उत्तर दिए, “म को हुँ र मेरो परिवार के हो कि म राजाका ज्वाइँ हुन सक्छु?” 19तर मेराबलाई दाऊदसित पठाइदिने बेलामा त त्यसलाई एक जना महोलामा बस्ने अद्रीएल नाम गरेको मानिसलाई पो दिइहाले।
20तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्न थाली। त्यो सुनेर शाऊल खुसी भए। 21तिनले आफ्नो मनमा सोचे, “म मीकल दाऊदलाई दिनेछु। दाऊदलाई पासोमा पार्न म मीकललाई काममा ल्याउनेछु र त्यो पलिश्तीहरूद्वारा मारिनेछ।” यसकारण दोस्रोपल्ट शाऊलले दाऊदलाई भने, “तिमी मेरो जुवाइँ हुनेछौ।” 22तिनले आफ्ना भारदारहरूलाई दाऊदसित कुरा गरेर यो कुरा सुटुक्क भन्ने आज्ञा दिए, “राजा तिमीसित प्रसन्न छन् र उनका सबै भारदारहरूले तिमीलाई मन पराउँछन्। तिमीले राजाकी छोरीसित विवाह गर्ने यो असल समय हो।”
23त्यसरी तिनीहरूले दाऊदलाई भने र तिनले यस्तो उत्तर दिए, “राजाका ज्वाइँ हुन ठूलो इज्जतको कुरा हो। मजस्तो दरिद्र र क्षुद्रको लागि त्यो अति महान् र हुनै नसक्ने कुरा हो।”
24दाऊदले के भनेका थिए, त्यो कुरा भारदारहरूले शाऊललाई सुनाए। 25शाऊलले तिनीहरूलाई दाऊदलाई (यसरी भन्न लाए, “बेहुलीका दामका मूल्यका रूपमा राजाले तिमीसित आफ्ना शत्रुहरूसित बदला लिन एक सय पलिश्तीहरूका खलडी मात्र चाहन्छन्।” यसरी शाऊलले दाऊदलाई पलिश्तीहरूका हातबाट मार्न लाउने उपाय गरेका थिए।) 26शाऊलका भारदारहरूले राजाले भनेका कुरा दाऊदलाई सुनाए, उनी राजाका ज्वाइँ हुने विचारले रमाए। विवाह हुनुअघि 27दाऊद र तिनका मानिसहरूले गएर दुई सय पलिश्तीहरूलाई मारेर तिनका खलडीहरू राजाकहाँ पुर्याएर तिनका सामुन्ने गन्ती गरिदिए र राजाका ज्वाइँ हुने अनुमति मागे। यसरी शाऊलले आफ्नी छोरी मीकलको विवाह दाऊदसित गरिदिए।
28परमप्रभु दाऊदसित हुनुहुन्छ र मेरी छोरी मीकलले पनि दाऊदलाई प्रेम गर्दिरहिछ भनी शाऊलले सफासित बुझे। 29यसकारण तिनी दाऊदसित अझ धेरै डराउन लागे र आफ्नो जीवनभरि दाऊदसित दुश्मनी गरे।
30पलिश्ती सेनाहरू आएर लडाइँ गर्थे; तर हरेक लडाइँमा दाऊदले शाऊलका अरू अधिकृतहरूभन्दा बढी सफलता पाउँथे। त्यसो हुँदा दाऊद खुबै प्रसिद्ध भए।
अहिले सेलेक्ट गरिएको:
१ शमूएल 18: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.