YouVersion लोगो
खोज आइकन

२ राजा 11

11
यहूदाकी रानी अतल्‍याह
(२ इतिहास २२:१०—२३:१५)
1अहज्‍याह राजाकी आमा अतल्‍याहले आफ्‍नो छोरोको हत्‍या भएको कुरा सुन्‍नेबित्तिकै राजकीय परिवारका सबै जनालाई मार्न आज्ञा दिइन्। 2अहज्‍याहको छोरो योआश मात्र बाँचे। उनी अरूहरूका साथमा मारिन लाग्दा उनकी फुपू यहोशेबाले उनलाई बचाइन्। तिनी यहोराम राजाकी छोरी र अहज्‍याहकी बहिनी थिइन्। तिनले योआश र तिनकी धाईलाई मन्‍दिरको एउटा सुत्‍ने कोठामा लगेर अतल्‍याहबाट उनलाई लुकाएर राखिन्। त्‍यसरी उनी बाँचे। 3यहोशेबाले केटोलाई छ वर्षसम्‍म मन्‍दिरमा रेखदेख गरिन्। त्‍यस समय अतल्‍याहले रानी भई राज्‍य चलाइन्।
4तर सातौं वर्षमा यहोयादा पूजाहारीले राजकीय अङ्गरक्षक र दरबारका पहरादारका कप्‍तानहरूलाई बोलाएर परमप्रभुको मन्‍दिरमा ल्‍याए र त्‍यहाँ आफूले गर्न लागेको उपायसँग तिनीहरूलाई राजी गराएर किरिया खुवाए। अहज्‍याह राजाको छोरो योआशलाई देखाएर 5तिनीहरूलाई यस्‍तो आदेश दिए, “विश्रामको दिनमा जब तिमीहरू काममा आउँछौ, तिमीहरूमा एक तिहाइले महलमा पहरा दिनू, 6अर्को एक तिहाइले सूर भनिने मूल-ढोकामा पहरा दिनू र बाँकी एक तिहाइ मूल-ढोकामा रहेका पहरादारहरूको पछाडिपट्टि उभिएर बस्‍नू र पहरा दिनू। 7विश्रामको दिनमा काम सकेर फर्कने दुई दलचाहिँ राजाको रक्षाको निम्‍ति मन्‍दिरमा नै पहरा दिएर उभिनू। 8हातमा तरवार लिएर तिमीहरूले योआश राजाको रक्षा गर्नू र उनी जहाँ जान्‍छन्, त्‍यहाँ उनीसँग रहनू। तिम्रो छेउमा आउनेलाई मारिदिनू।”
9अधिकृतहरूले यहोयादाका आदेश पालन गरे र विश्रामको दिनमा काममा आउने र कामबाट जाने आफ्‍ना सबै सिपाहीहरूलाई उनीकहाँ ल्‍याए। 10उनले अधिकृतहरूलाई मन्‍दिरमा राखिएका दाऊद राजाका भाला र ढालहरू दिए 11अनि योआश राजाको रक्षा गर्न ती मानिसहरूलाई हातमा तरवार लिएर वेदी र मन्‍दिरको सामुन्‍ने राजाका चारैतिर खडा राखे। 12तब यहोयादाले योआशलाई ल्‍याए, उनको शिरमा मुकुट लाइदिए र राजाले मान्‍नुपर्ने नियमहरूको एउटा नकल दिए। त्‍यसपछि योआशलाई अभिषेक गरे र राजा घोषणा गरे। मानिसहरूले थपडी मारे र कराएर भने, “राजा दीर्घायु होऊन्।”
13पहरादार र मानिसहरूले सोर मच्‍चाएको अतल्‍याह रानीले सुनिन् र हतारिंदै मन्‍दिरमा गइन्। त्‍यहाँ मानिसहरूको भीड थियो। 14#२ राजा 23:3त्‍यहाँ दस्‍तुरअनुसार नयाँ राजा मन्‍दिरको प्रवेश ढोका स्‍तम्‍भनिर उभिरहेका तिनले देखिन्। अधिकृत र तुरही बजाउनेहरूले उनलाई घेरेका थिए र हर्षसाथ मानिसहरूले सोर मच्‍चाउँदै थिए र तुरही बजाउँदै थिए। अफसोसमा तिनले आफ्‍नो वस्‍त्र च्‍यातिन् र कराएर भनिन्, “विश्‍वासघात भयो, राजद्रोह भयो!”
15मन्‍दिरको आँगनमा अतल्‍याहको हत्‍या भएको यहोयादा चाहँदैनथे। उनले सेनाका अधिकृतहरूलाई आदेश दिए, “पहरेदारका पङ्क्तिका बीचबाट तिनलाई बाहिर लैजाओ र तिनलाई बचाउन खोज्‍नेलाई मार।” 16तिनीहरूले अतल्‍याहलाई पक्रे र राजमहलको घोडा पस्‍ने ढोकानिर लगेर मारे।
यहोयादाका सुधारहरू
(२ इतिहास २३:१६-२१)
17हामी परमप्रभुका प्रजा रहनेछौं भनेर योआश राजा र मानिसहरूलाई यहोयादा पूजाहारीले करार बाँध्‍न लगाए। राजा र प्रजाका बीचमा पनि उनले एउटा करार बाँधिदिए। 18त्‍यसपछि मानिसहरूले बालको मन्‍दिरमा गएर त्‍यसलाई भत्‍काइदिए। तिनीहरूले वेदी र मूर्तिहरू तोडे र बालको पूजाहारी मत्तानलाई वेदीको सामुन्‍ने मारे।
यहोयादाले मन्‍दिरमा पहरेदारहरू खटाए। 19त्‍यसपछि उनी अधिकृत र राजकीय अङ्गरक्षकहरूले राजालाई साथमा लिई मन्‍दिरबाट राजमहलमा लगे। मानिसहरू पछिपछि गए। योआश पहरा ढोकाबाट पसे र सिंहासनमा बसे। 20सारा प्रजा खुसीले रमाए। महलमा अतल्‍याहको हत्‍या भएकोले सहर शान्‍त थियो।
21सात वर्षको उमेरमा योआश यहूदाका राजा भए।

अहिले सेलेक्ट गरिएको:

२ राजा 11: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्