त्यति बेलासम्म पनि शाऊल प्रभु येशूका चेलाहरूलाई मार्ने धम्की दिँदै हिँडिरहेका थिए। तिनले प्रधान पूजाहारीकहाँ गएर “दमस्कसको सभाघरका शासकहरूलाई मेरो परिचय दिँदै पत्र लेखिदिनुहोस्,” भनेर अनुरोध गरे। “दमस्कस गएर त्यो मुक्ति पाइन्छ भन्ने बाटोमा लागेका पुरुष र स्त्रीसमेत सबैलाई खोजी-खोजी पक्रेर यरूशलेममा ल्याउन पाऊँ,” भनी तिनले अधिकार मागे। शाऊल दमस्कस सहर जाँदै थिए। जाँदाजाँदै सहरको नजिकै पुग्दा एक्कासि आकाशबाट चहकिलो उज्यालो उनको वरिपरि चम्क्यो। शाऊल भूइँमा पछारिए र अचानक उनले यस्तो आवाज सुने, “शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ?” शाऊलले सोधे, “हे प्रभु, तपाईं को हुनुहुन्छ?” “म येशू हुँ, जसलाई तिमी सताउँदै छौ। तर अब उठेर सहरमा जाऊ, तिमीले गर्नुपर्ने काम त्यहाँ तिमीलाई बताइनेछ।” शाऊलसँगै जाने मानिसहरू लाटाजस्तै अक्क न बक्क भई उभिरहेका थिए। तिनीहरूले त्यो आवाज त सुने, तर कसैलाई देखेनन्। शाऊल भूइँबाट उठे। तर हेर्न खोज्दा त केही पनि देख्न सकेनन्। त्यसो हुँदा तिनका साथीहरूले तिनलाई डोर्याएर दमस्कसमा ल्याए। त्यहाँ तिनले तीन दिनसम्म आँखा पनि देखेनन्, खाना पनि खाएनन् र पिउन पनि पिएनन्। अब दमस्कसमा हननिया भन्ने प्रभु येशूका एक जना चेला थिए। तिनलाई एउटा दर्शन दिइयो, दर्शनमा प्रभुले यसरी बोलाउनुभयो, “हे हननिया!” “आज्ञा होस् प्रभु!” हननियाले भने। प्रभुले भन्नुभयो, “उठेर सीधा भन्ने गल्लीमा जा र त्यहाँ यहूदाको घरमा टार्सस सहरबाट आएको शाऊल भन्ने मानिसको खोजी गर्। त्यहाँ उसले प्रार्थना गरिरहेको छ। उसले दर्शनमा आफ्नो आँखा खोलियोस् भनेर हननिया भन्ने मानिसले आफूमाथि हात राखिरहेको देखेको छ।” हननियाले जवाफ दिए, “हे प्रभु, ती मानिसले यरूशलेममा भएका तपाईंका पवित्र जनहरूलाई ज्यादै सताएको कुरा मैले धेरै जनाबाट सुनेको छु। तपाईंको नाउँ लिनेहरूलाई पक्रने अधिकार मुख्य पूजाहारीहरूबाट पाएर तिनी यहाँ आएका छन्।” प्रभुले भन्नुभयो, “तँ जानुपर्छ किनभने अरू जातिका मानिस र तिनीहरूका राजाहरू र इस्राएलीहरूका बीचमा मेरो नाउँ प्रचार गर्न मैले त्यसलाई नै चुनेको छु। त्यसले मेरो लागि कतिको दु:ख सहनुपर्नेछ, त्यो म त्यसलाई देखाउनेछु।” प्रभुले भन्नुभएको सुनेर हननिया गए। यहूदाको घरमा पसेर शाऊलमाथि आफ्ना हात राख्तै भने, “हे शाऊल भाइ, तिमीले यहाँ आउँदा बाटोमा देखेका प्रभु येशूले नै मलाई पठाउनुभएको हो। तिमीले फेरि देख्न सक र पवित्र आत्माले भरपूर होऊ भनेर उहाँले मलाई पठाउनुभएको हो।” हननियाले यो कुरा भन्नेबित्तिकै शाऊलका आँखाबाट केही खसेजस्तै भयो र तिनले देख्न सक्ने भए अनि तिनले उठेर बप्तिस्मा लिए र खाना खाएपछि तिनमा फेरि तागत आयो।
प्रेरित 9 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 9:1-19
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू