प्रेरित 9:1-19
प्रेरित 9:1-19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
शाऊल प्रभुका चेलाहरूका विरुद्धमा अझ पनि धम्की र हत्याको धुनमा प्रधान पूजाहारीकहाँ गए, र तिनले त्यस मार्गका पुरुष होस् वा स्त्री, जसलाई फेला पारे पनि तिनीहरूलाई बाँधेर यरूशलेममा ल्याउन पाऊँ भनी दमस्कसका सभाघरहरूको नाउँमा पुर्जी मागे। जब शाऊल यात्रा गर्दै दमस्कसको नजिक पुगे, अचानक स्वर्गबाट एउटा ज्योति तिनको वरिपरि चम्क्यो। तिनी भूइँमा लोटे, र तिनले यसो भन्ने सोर सुने, “शाऊल, शाऊल, तिमी किन मलाई सताउँछौ?” तिनले भने, “प्रभु, तपाईं को हुनुहुन्छ?” अनि उहाँले भन्नुभयो, “म येशू हुँ, जसलाई तिमी सताउँदैछौ। तर उठेर सहरमा जाऊ, र तिमीले जे गर्नुपर्छ सो तिमीलाई बताइनेछ।” तिनको साथमा जाने मानिसहरूले सोरचाहिँ सुने, तर कसैलाई नदेख्दा अवाक भई उभिरहे। तब शाऊल भूइँबाट उठे र आँखा खोल्दा तिनले केही पनि देखेनन्, र तिनीहरूले तिनका हात समाती डोर्याएर तिनलाई दमस्कसमा ल्याए। अनि तीन दिनसम्म तिनी नदेख्ने भए, र न त खाना खाए न पानी पिए। दमस्कसमा हननिया नाउँ भएका एक जना चेला थिए। तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, “ए हननिया।” तिनले भने, “प्रभु, हाजिर छु।” तब प्रभुले तिनलाई भन्नुभयो, “उठ, र ‘सीधा’ नामक गल्लीमा जाऊ, र त्यहाँ यहूदाको घरमा शाऊल नाउँ भएका टार्सस-निवासीलाई खोज, किनकि तिनी प्रार्थना गरिरहेका छन्। तिनले दर्शनमा हननिया नाउँ भएका एक जना मानिस भित्र आएर तिनले दृष्टि पाऊन् भनेर आफूमाथि उनका हात राखेका देखेका छन्।” तर हननियाले भने, “प्रभु, यी मानिसले यरूशलेममा तपाईंका सन्तानहरूलाई कत्ति धेरै खराबी गरेका छन्, सो मैले धेरै जनाबाट सुनेको छु। यहाँ पनि तपाईंको नाउँ लिने सबैलाई बाँध्ने अधिकार मुख्य पूजाहारीहरूबाट तिनले पाएका छन्।” तर प्रभुले तिनलाई भन्नुभयो, “जाऊ, किनकि अन्यजातिहरू, राजाहरू र इस्राएलका सन्तानका सामुन्ने मेरो नाउँ प्रचार गर्न तिनी छानिएका मेरा एक पात्र हुन्, किनकि मेरो नाउँको खातिर तिनले कति कष्ट भोग्नुपर्छ, सो म तिनलाई देखाउनेछु।” तब हननिया गएर त्यस घरभित्र पसे, र तिनीमाथि आफ्ना हात राखेर भने, “भाइ शाऊल, जुन प्रभु येशू तिमी आइरहेको बाटोमा तिमीकहाँ देखा पर्नुभएको थियो, उहाँले नै तिमीले दृष्टि पाऊ र तिमी पवित्र आत्माले भरिपूर्ण होऊ भनी मलाई पठाउनुभएको छ।” तुरुन्तै तिनका आँखाबाट पाप्राजस्ता केही खसे, र तिनले फेरि दृष्टि पाए। तब तिनी उठे र बप्तिस्मा लिए, अनि भोजन खाएर तिनले बल पाए।
प्रेरित 9:1-19 पवित्र बाइबल (NERV)
त्यसैबेला शावलले यरूशलेममा प्रभुका चेलाहरूलाई अझै डर देखाउँदै अनि तिनीहरूलाई मार्ने प्रयास गरिरहेको थियो। यसैले तिनी प्रधान पूजाहारीकहाँ गए। शावलले प्रधान पूजाहारीलाई दमीशकको शहरमा सभाघरहरूका यहूदीहरूलाई ख्रीष्टका मार्ग पहिल्याउनेहरू खोजी निकाल्ने अधिकार दिँदै चिट्ठीहरू लेखी माँगे। उसले यदि कुनै पुरुष वा स्त्री विश्वासीहरू भेट्टाए तिनीहरूलाई पक्रेर यरूशलेम फर्काई ल्याउनेछ। तब शावल दमीशक गए। जब ऊ शहरको नजीक पुगे, अचानक आकासबाट प्रज्वलित ज्योति उनको चारैतिर चम्कियो। शावल भूइँमा लडे। उनले एउटा आवाज उनैसँग बोलिरहेको सुने, “शावल, शावल! तिमी मलाई किन सताइरहेछौ?” शावलले भने, “तपाईं को हुनुहुन्छ प्रभु?” त्यो आवजले जवाफ दियो, “म येशू हुँ। जसलाई तिमी दुःख दिइरहेका छौ। उठ अनि शहर तर्फ जाऊ। त्यहाँ कसैले तिमीलाई के गर्नु पर्ने बताई दिनेछ।” शावलसँग यात्रा गरीरहेका मानिसहरू त्यहाँ ठिङ्गै उभिरहे। ती मानिसहरूले आवाज सुने तर कतै कोही देखनन्। शावल भूइँबाट उठे। उसको आँखा खोलियो तर केही देख्न सकेनन्। यसकारण शावलसँग आएका मानिसहरूले उनको हात पक्रेर तिनलाई दमीशक सम्म लगे। तीन दिन सम्म शावलले न देख्न सक्यो, न खायो न पियो। दमीशकमा येशूका एकजना चेला थिए। उनको नाउँ हननिया थियो। प्रभुले हननियासँग सपनामा भन्नुभयो, “हननिया!” हननियाले उत्तर दियो, “म यहाँ छु, प्रभु।” प्रभुले हननियालाई भन्नुभयो, “उठ अनि सोझो गल्ली भन्ने गल्लीतिर जाऊ। यहूदाको घर पत्ता लगाऊ। टार्सस भन्ने ठाउँका शावल नाउँ भएको मानिसलाई खोज। ऊ अहिले त्याहँ प्रार्थना गरिरहेछ। शावलले दर्शन देख्यो। आफ्नो सपनामा उसले हननिया भन्ने मानिस आफू भएतिर आयो र तिनका हातहरू आफू माथि राखिदिए जसद्वारा उसले फेरि देख्न सकून्।” तर हननियाले उत्तर दियो, “प्रभु धेरै जनाले मलाई यस मानिसको विषयमा भनिसेकेको छ। तिनीहरूले भने यस मानिसले यरूशलेममा तपाईंका पवित्र मानिसहरूलाई कतिको सताएको छ। अहिले ऊ दमीशकमा आइपुगेको छ। मुख्य पूजाहारीहरूले तपाईंमा विश्वास गर्ने मानिसहरू सबैलाई पक्रनु भनेर उसलाई अधिकार दिएकोछ।” तर प्रभुले हननियालाई भन्नुभयो, “जाऊ! मैले शावललाई मेरो विषयमा राजाहरूलाई, यहूदीहरूलाई र अन्य जातिहरूलाई बताउनको निम्ति एक पात्रको रूपमा चुनेको छु। म उसलाई सबै कुरा देखाउनेछु जसले गर्दा मेरो नाउँको लागी उसले कष्ट भोग्नु पर्छ।” यसकारण हननिया त्यहाँबाट यहूदाका घरतर्फ लाग्यो। उसले आफ्नो हात शावलमा राखे अनि भने, “शावल, मेरो भाइ, प्रभु येशू जो तिमी आउँदा बाटोमा देखा पर्नु भयो उहाँले मलाई तिम्रोमा पठाउनु भएको छ ताकि तिमीले फेरि देख्न सक र पवित्र आत्माद्वारा तिमी भरिपूर्ण होऊ।” तुरन्तै, माछाको कत्लाहरू जस्तो केही उसको आँखाबाट खस्यो। शावल फेरि देख्न सक्ने भए अनि उठेर बप्तिस्मा लिए। त्यसपछि उनले अलिकति भोजन गरेर पुन शक्ति प्राप्त गरे।
प्रेरित 9:1-19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर शाऊल अझसम्म पनि प्रभुका चेलाहरूका विरुद्ध हत्यापूर्ण धम्कीहरू दिइरहेका थिए। तिनी प्रधान पुजारीकहाँ गए, र दमस्कसमा भएका विश्वासी पुरुष र स्त्रीलाई बन्दी बनाई यरूशलेममा ल्याउनका निम्ति त्यहाँका सभाघरहरूका नाममा पत्रहरू मागे। आफ्नो यात्राको क्रममा उनी जब दमस्कसको नजिकै पुगे, तब अकस्मात् स्वर्गबाट एउटा प्रकाश उनको चारैतिर चम्क्यो। उनी भुइँमा पछारिए, र यसो भन्दै गरेको एउटा आवाज तिनले सुने, “शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ?” शाऊलले भने, “हे प्रभु, तपाईं को हुनुहुन्छ?” उहाँले जवाफ दिनुभयो, “म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ। अब तिमी उठ र दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने कुराहरू तिमीलाई बताइनेछ।” शाऊलसँगै यात्रा गरिरहेका मानिसहरू त्यहाँ अक्न न बक्क भएर उभिए। किनकि जो तिनीसँग बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्। शाऊल भुइँबाट उठे, जब तिनले आफ्ना आँखाहरू खोले, तिनले केही पनि देख्न सकेनन्। त्यसैले तिनका सङ्गीहरूले आफ्ना हातद्वारा तिनलाई डोर्याउँदै दमस्कसमा पुर्याए। तीन दिनसम्म तिनी दृष्टिविहीन भए, र केही खानपिन गरेनन्। हननिया नाम गरेका एक जना चेला दमस्कसमा थिए। तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, “हे हननिया!” तिनले जवाफ दिए, “हजुर, प्रभु!” प्रभुले तिनलाई भन्नुभयो, “तिमी सीधा नामको सडकमा यहूदाको घरमा जाऊ; र टार्सस निवासी शाऊल नामको व्यक्तिलाई त्यहाँ भेट। ऊ त्यस घरमा प्रार्थना गरिरहेको छ। उसले हननिया नाम गरेका व्यक्तिले उसको शिरमा आफ्ना हातहरू राखेर फेरि आँखा देख्ने तुल्याएको दर्शनमा देखेको छ।” तब हननियाले जवाफ दिए, “प्रभु, यस मानिसले यरूशलेममा तपाईंका पवित्र जनहरूलाई सताएको र तिनीहरूमाथि गरेको अत्याचारहरूका बारेमा मैले धेरैजनाबाट सुनेको छु, र यहाँ पनि हजुरका नाम लिनेहरूलाई बन्दी बनाउन मुख्य पुजारीहरूबाट अधिकार लिएर त्यो मानिस आएको हो।” तर प्रभुले हननियालाई भन्नुभयो, “तिमी जाऊ! किनकि इस्राएलका बासिन्दाहरू, गैरयहूदीहरू र तिनीहरूका राजाहरूमा मेरो नाम घोषणा गर्न मैले यस मानिसलाई रोजेको छु। मेरो नामका निम्ति उसले कतिसम्म दुःख भोग्नुपर्छ म उसलाई देखाउनेछु।” त्यसपछि हननिया त्यस घरभित्र गए। शाऊलको शिरमा आफ्ना हातहरू राखेर उनले यसो भने, “भाइ शाऊल, तिमी यस सहरमा आउँदा तिमीलाई बाटोमा दर्शन दिनुहुने प्रभु येशूले तिमीले फेरि देख्न सक, र तिमी पवित्र आत्माले भरपूर होऊ भनी मलाई यहाँ पठाउनुभएको छ।” तुरुन्तै शाऊलका आँखाहरूबाट पाप्राहरूजस्ता केही कुरा खसे; र तिनी फेरि देख्न सक्ने भए। तब तिनी उठे, र बप्तिस्मा लिए। अनि केही खानेकुरा खाएपछि तिनले फेरि शक्ति पाए।
प्रेरित 9:1-19 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
त्यति बेलासम्म पनि शाऊल प्रभु येशूका चेलाहरूलाई मार्ने धम्की दिँदै हिँडिरहेका थिए। तिनले प्रधान पूजाहारीकहाँ गएर “दमस्कसको सभाघरका शासकहरूलाई मेरो परिचय दिँदै पत्र लेखिदिनुहोस्,” भनेर अनुरोध गरे। “दमस्कस गएर त्यो मुक्ति पाइन्छ भन्ने बाटोमा लागेका पुरुष र स्त्रीसमेत सबैलाई खोजी-खोजी पक्रेर यरूशलेममा ल्याउन पाऊँ,” भनी तिनले अधिकार मागे। शाऊल दमस्कस सहर जाँदै थिए। जाँदाजाँदै सहरको नजिकै पुग्दा एक्कासि आकाशबाट चहकिलो उज्यालो उनको वरिपरि चम्क्यो। शाऊल भूइँमा पछारिए र अचानक उनले यस्तो आवाज सुने, “शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ?” शाऊलले सोधे, “हे प्रभु, तपाईं को हुनुहुन्छ?” “म येशू हुँ, जसलाई तिमी सताउँदै छौ। तर अब उठेर सहरमा जाऊ, तिमीले गर्नुपर्ने काम त्यहाँ तिमीलाई बताइनेछ।” शाऊलसँगै जाने मानिसहरू लाटाजस्तै अक्क न बक्क भई उभिरहेका थिए। तिनीहरूले त्यो आवाज त सुने, तर कसैलाई देखेनन्। शाऊल भूइँबाट उठे। तर हेर्न खोज्दा त केही पनि देख्न सकेनन्। त्यसो हुँदा तिनका साथीहरूले तिनलाई डोर्याएर दमस्कसमा ल्याए। त्यहाँ तिनले तीन दिनसम्म आँखा पनि देखेनन्, खाना पनि खाएनन् र पिउन पनि पिएनन्। अब दमस्कसमा हननिया भन्ने प्रभु येशूका एक जना चेला थिए। तिनलाई एउटा दर्शन दिइयो, दर्शनमा प्रभुले यसरी बोलाउनुभयो, “हे हननिया!” “आज्ञा होस् प्रभु!” हननियाले भने। प्रभुले भन्नुभयो, “उठेर सीधा भन्ने गल्लीमा जा र त्यहाँ यहूदाको घरमा टार्सस सहरबाट आएको शाऊल भन्ने मानिसको खोजी गर्। त्यहाँ उसले प्रार्थना गरिरहेको छ। उसले दर्शनमा आफ्नो आँखा खोलियोस् भनेर हननिया भन्ने मानिसले आफूमाथि हात राखिरहेको देखेको छ।” हननियाले जवाफ दिए, “हे प्रभु, ती मानिसले यरूशलेममा भएका तपाईंका पवित्र जनहरूलाई ज्यादै सताएको कुरा मैले धेरै जनाबाट सुनेको छु। तपाईंको नाउँ लिनेहरूलाई पक्रने अधिकार मुख्य पूजाहारीहरूबाट पाएर तिनी यहाँ आएका छन्।” प्रभुले भन्नुभयो, “तँ जानुपर्छ किनभने अरू जातिका मानिस र तिनीहरूका राजाहरू र इस्राएलीहरूका बीचमा मेरो नाउँ प्रचार गर्न मैले त्यसलाई नै चुनेको छु। त्यसले मेरो लागि कतिको दु:ख सहनुपर्नेछ, त्यो म त्यसलाई देखाउनेछु।” प्रभुले भन्नुभएको सुनेर हननिया गए। यहूदाको घरमा पसेर शाऊलमाथि आफ्ना हात राख्तै भने, “हे शाऊल भाइ, तिमीले यहाँ आउँदा बाटोमा देखेका प्रभु येशूले नै मलाई पठाउनुभएको हो। तिमीले फेरि देख्न सक र पवित्र आत्माले भरपूर होऊ भनेर उहाँले मलाई पठाउनुभएको हो।” हननियाले यो कुरा भन्नेबित्तिकै शाऊलका आँखाबाट केही खसेजस्तै भयो र तिनले देख्न सक्ने भए अनि तिनले उठेर बप्तिस्मा लिए र खाना खाएपछि तिनमा फेरि तागत आयो।