तर शाऊल अझसम्म पनि प्रभुका चेलाहरूका विरुद्ध हत्यापूर्ण धम्कीहरू दिइरहेका थिए। तिनी प्रधान पुजारीकहाँ गए, र दमस्कसमा भएका विश्वासी पुरुष र स्त्रीलाई बन्दी बनाई यरूशलेममा ल्याउनका निम्ति त्यहाँका सभाघरहरूका नाममा पत्रहरू मागे। आफ्नो यात्राको क्रममा उनी जब दमस्कसको नजिकै पुगे, तब अकस्मात् स्वर्गबाट एउटा प्रकाश उनको चारैतिर चम्क्यो। उनी भुइँमा पछारिए, र यसो भन्दै गरेको एउटा आवाज तिनले सुने, “शाऊल, शाऊल, तिमी मलाई किन सताउँछौ?”
शाऊलले भने, “हे प्रभु, तपाईं को हुनुहुन्छ?”
उहाँले जवाफ दिनुभयो, “म येशू हुँ, जसलाई तिमी सताइरहेका छौ। अब तिमी उठ र दमस्कसमा जाऊ, र तिमीले गर्नुपर्ने कुराहरू तिमीलाई बताइनेछ।”
शाऊलसँगै यात्रा गरिरहेका मानिसहरू त्यहाँ अक्न न बक्क भएर उभिए। किनकि जो तिनीसँग बोलिरहनुभएको थियो, उहाँको आवाज तिनीहरूले बुझेनन्। शाऊल भुइँबाट उठे, जब तिनले आफ्ना आँखाहरू खोले, तिनले केही पनि देख्न सकेनन्। त्यसैले तिनका सङ्गीहरूले आफ्ना हातद्वारा तिनलाई डोर्याउँदै दमस्कसमा पुर्याए। तीन दिनसम्म तिनी दृष्टिविहीन भए, र केही खानपिन गरेनन्।
हननिया नाम गरेका एक जना चेला दमस्कसमा थिए। तिनलाई प्रभुले दर्शनमा भन्नुभयो, “हे हननिया!”
तिनले जवाफ दिए, “हजुर, प्रभु!”
प्रभुले तिनलाई भन्नुभयो, “तिमी सीधा नामको सडकमा यहूदाको घरमा जाऊ; र टार्सस निवासी शाऊल नामको व्यक्तिलाई त्यहाँ भेट। ऊ त्यस घरमा प्रार्थना गरिरहेको छ। उसले हननिया नाम गरेका व्यक्तिले उसको शिरमा आफ्ना हातहरू राखेर फेरि आँखा देख्ने तुल्याएको दर्शनमा देखेको छ।”
तब हननियाले जवाफ दिए, “प्रभु, यस मानिसले यरूशलेममा तपाईंका पवित्र जनहरूलाई सताएको र तिनीहरूमाथि गरेको अत्याचारहरूका बारेमा मैले धेरैजनाबाट सुनेको छु, र यहाँ पनि हजुरका नाम लिनेहरूलाई बन्दी बनाउन मुख्य पुजारीहरूबाट अधिकार लिएर त्यो मानिस आएको हो।”
तर प्रभुले हननियालाई भन्नुभयो, “तिमी जाऊ! किनकि इस्राएलका बासिन्दाहरू, गैरयहूदीहरू र तिनीहरूका राजाहरूमा मेरो नाम घोषणा गर्न मैले यस मानिसलाई रोजेको छु। मेरो नामका निम्ति उसले कतिसम्म दुःख भोग्नुपर्छ म उसलाई देखाउनेछु।”
त्यसपछि हननिया त्यस घरभित्र गए। शाऊलको शिरमा आफ्ना हातहरू राखेर उनले यसो भने, “भाइ शाऊल, तिमी यस सहरमा आउँदा तिमीलाई बाटोमा दर्शन दिनुहुने प्रभु येशूले तिमीले फेरि देख्न सक, र तिमी पवित्र आत्माले भरपूर होऊ भनी मलाई यहाँ पठाउनुभएको छ।” तुरुन्तै शाऊलका आँखाहरूबाट पाप्राहरूजस्ता केही कुरा खसे; र तिनी फेरि देख्न सक्ने भए। तब तिनी उठे, र बप्तिस्मा लिए। अनि केही खानेकुरा खाएपछि तिनले फेरि शक्ति पाए।