इजकिएल 11
11
यरूशलेममाथि दण्ड
1परमेश्वरको आत्माले मलाई उचाल्नुभयो र मन्दिरको पूर्वपट्टिको मूल-ढोकामा पुर्याउनुभयो। त्यहाँ मूल-ढोकाछेउ मैले पच्चीस जना मानिसहरूलाई देखें। तीमध्ये प्रजाका दुई अगुवाहरू अज्जूरका छोरा याजन्याह र बनायाहका छोरा पलत्याह पनि थिए।
2परमेश्वरले मलाई भन्नुभयो, “ए मरणशील मानिस, यस सहरभित्र यी मानिसहरूले दुष्ट उपाय रच्छन् र खराब सल्लाह दिन्छन्। 3तिनीहरू यसो भन्छन्, ‘फेरि चाँडै हामी घरहरू बनाउन थाल्नेछौं। यो सहर एउटा पकाउने भाँडोझैँ छ र हामीचाहिँ त्यसमा पकाइने मासुझैँ छौं।’ 4यसकारण ए मरणशील मानिस, तिनीहरूका विरुद्धमा अगमवाणी गर्।”
5परमप्रभुको आत्मा ममा उत्रनुभयो र मानिसहरूलाई यो सन्देश दिन मलाई भन्नुभयो, “परमप्रभु भन्नुहुन्छ, हे इस्राएलका मानिसहरू हो, तिमीहरू के भन्दै छौ अनि के उपाय रच्दै छौ, सो म जान्दछु। 6तिमीहरूले यस सहरमा यति धेरै हत्या गरेका छौ कि गल्लीहरू लाशै-लाशले भरिएका छन्।
7“यसकारण म सार्वभौम परमप्रभु तिमीहरूलाई यसो भन्दछु, ‘यो सहर साँच्चै एउटा पकाउने भाँडो हो तर मासुचाहिँ के हो? तिमीहरूले मारेर फ्याँकेका लाशहरू नै मासु हो! तिमीहरू यहाँ रहनेछैनौ। म तिमीहरूलाई यस सहरबाट बाहिर खेदिदिनेछु! 8के तिमीहरू तरवारसित डराउँछौ? म तिमीहरूको विरुद्ध तरवार ल्याउनेछु। 9म तिमीहरूलाई सहरबाट लगेर विदेशीहरूका हातमा सुम्पिदिनेछु। मैले तिमीहरूलाई मृत्यु-दण्ड दिइसकेको छु। 10तिमीहरू इस्राएलको सिमानाभित्र लडाइँमा मारिनेछौ। तब म परमप्रभु हुँ भनी सबैले जान्नेछन्। 11भाँडाले त्यसभित्रको मासुलाई जोगाएझैँ यस सहरले त तिमीहरूलाई जोगाउनेछैन। इस्राएलको सिमानाभित्र म तिमीहरूलाई दण्ड दिनेछु। 12तिमीहरूले जान्नेछौ कि म नै परमप्रभु हुँ किनभने तिमीहरूले मेरा नियमहरू र आज्ञाहरू पालन गरेका छैनौ तर आफ्नो छिमेकी राष्ट्रहरूका नियम-विधिहरू पालन गरेका छौ।”
13मैले यो अगमवाणी गर्दैगर्दा बनायाहका छोरा पलत्याह मरे। म भूइँमा घोप्टो परें र चिच्च्याएर भनें, “सार्वभौम परमप्रभु के साँच्चै तपाईंले इस्राएलमा बाँकी रहेकाहरू सबैलाई मार्नुहुन्छ?”
देशनिकाला भएकाहरूलाई परमेश्वरको प्रतिज्ञा
14परमप्रभु मसित यसरी बोल्नुभयो, 15“ए मरणशील मानिस”, “यरूशलेमका बासिन्दाहरूले देश निकाला भएकाहरू अर्थात् तँ र तेरा इस्राएली बन्धुहरूबारे कुरा गर्दै छन्। तिनीहरू भन्छन्, ‘यी देशनिकाला भएकाहरू परमप्रभुदेखि टाढा छन् र उहाँले यस देशको अधिकार हामीलाई दिनुभएको छ।’
16“अब तेरा इस्राएली बन्धुहरूलाई म के भन्दै छु, त्यो सुन्। तिनीहरूलाई टाढा देशहरूमा छरपष्ट पारेर अरू जातिहरूका माझमा बसोबास गर्न पठाउने म नै हुँ। तापनि केही समयको लागि तिनीहरू बसोबास गरेका देशहरूमा म तिनीहरूको साथमा हुनेछु।
17“यसकारण तिनीहरूलाई म सार्वभौम परमप्रभु जे भन्दै छु त्यो सुना। मैले तिनीहरूलाई छरपष्ट पारिराखेका देशहरूबाट फेरि एकसाथ जम्मा गर्नेछु र तिनीहरूका हातमा यस इस्राएल देश फर्काइदिनेछु। 18जब तिनीहरू फर्की आउनेछन्, तब तिनीहरूले यहाँ भेट्टाउने सबै अशुद्ध र घिनलाग्दा मूर्तिहरू हटाउनेछन्। 19#इजकिएल 36:26-28म तिनीहरूलाई एउटै हृदय र नयाँ आत्मा दिनेछु। म तिनीहरूका ढुङ्गाको कठोर हृदय हटाउनेछु र आज्ञाकारी हृदय दिनेछु। 20त्यसपछि तिनीहरूले मेरा नियमविधिहरू मान्नेछन् र होशियारीसाथ मेरा आज्ञाहरू पालन गर्नेछन्। तिनीहरू मेरा प्रजा हुनेछन् र म तिनीहरूका परमेश्वर हुनेछु। 21तर अशुद्ध र घिनलाग्दा मूर्तिहरू पुज्न रुचाउनेहरूलाई म दण्ड दिनेछु। तिनीहरूले गरेका कामको निम्ति म तिनीहरूलाई दण्ड दिनेछु।” सार्वभौम परमप्रभुले बोल्नुभएको छ।
परमेश्वरको महिमा यरूशलेमबाट हटेको
22 #
इजकिएल 43:2-5
ती जीवित प्राणीहरू उड्न थाले र पाङ्ग्राहरू पनि तिनकै साथमा गए। तिनीहरूमाथि इस्राएलका परमेश्वरको महिमा थियो। 23परमप्रभुको महिमा सहरबाट हटेर गयो र त्यसको पूर्वपट्टिको पहाडमाथि अडियो। 24दर्शनमा परमेश्वरको आत्माले मलाई उचाल्नुभयो र बेबिलोनियाको कैदमा बसेका देशनिकाला भएकाहरूको बीचमा ल्याइपुर्याउनुभयो। तब मैले देखेको दर्शन हटेर गयो। 25अनि परमप्रभुले मलाई देखाउनुभएको सबै कुरा मैले कैदी-बन्धुहरूलाई सुनाएँ।
अहिले सेलेक्ट गरिएको:
इजकिएल 11: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
![None](/_next/image?url=https%3A%2F%2Fimageproxy.youversionapistaging.com%2F58%2Fhttps%3A%2F%2Fweb-assets.youversion.com%2Fapp-icons%2Fne.png&w=128&q=75)
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.