परमप्रभुले नोआलाई भन्नुभयो, “आफ्ना जहान सबै सँगै लिएर भित्र जा। संसारभरिमा ठीक काम गर्ने तँलाई मात्र मैले पाएँ। विधिअनुसार जुन पशुहरू शुद्ध छन्, तिनका सात-सात जोडी तर अशुद्ध पशुहरूका चाहिँ एक-एक जोडी मात्र आफूसँग लिनू। पंक्षीहरू पनि हरथरी सात-सात जोडी लिनू। त्यसो गर्नुपर्छ किनभने हरथरीका पशु-पंक्षी बचाएर राख्नुपर्छ र तिनीहरू फेरि पृथ्वीमा बढ्दै जानेछन्। अबको सात दिनपछि म वर्षा ल्याउनेछु, पानी चालीस दिन र चालीस रातसम्म पर्नेछ र मैले बनाएका सबै जिउँदा प्राणीहरू नाश हुनेछन्।” परमेश्वरले आज्ञा गर्नुभएअनुसार सबै कुरा नोआले गरे। नोआको उमेर ६०० वर्षको हुँदा पृथ्वीमा जलप्रलय भएको थियो। नोआ, उनकी स्वास्नी, उनका छोराहरू र बुहारी, जलप्रलयको भलदेखि बाँच्न नाउभित्रै गए। परमेश्वरले आज्ञा गर्नुभएझैँ शुद्ध वा अशुद्ध हरथरीका पशु-पंक्षी, जोडी-जोडी, भाले-पोथी गरी नोआसित नाउमा पसे। सात दिनपछि पानीको भल आयो। नोआ ६०० वर्षको हुँदा दोस्रो महिनाको सत्रौँ दिनमा पृथ्वीमुनिका अगाध पानीका मूलहरू फुटे, आकाशका पानीका ढोकाहरू सबै खुले र दिनरात चालीस दिनसम्म पानी परिरह्यो। त्यही दिन नोआ र उनकी स्वास्नी आफ्ना तीन जना छोराहरू शेम, हाम र येपेत र तिनका स्वास्नीहरूसँगै लिएर नाउमा पसे। तिनीहरूसँग हरथरीका ठूला-साना घरेलु र बन-पशुहरू र हरथरीका पंक्षीहरू पनि नाउमा गए। परमेश्वरले आज्ञा गर्नुभएअनुसार हरप्रकारका जिउँदा प्राणीहरू जोडी-जोडी, भाले-पोथी गरी, नोआसित नाउमा गए। त्यसपछि परमप्रभुले ढोका बन्द गरिदिनुभयो। जलप्रलय ४० दिनसम्म भइरह्यो। पानी बढेर यति गहिरो भयो कि नाउ उचालिएर तैरन लाग्यो। पानी अझै गहिरो भयो र नाउ माथि-माथि बग्न थाल्यो। पानी यति गहिरो भयो कि अग्लाभन्दा अग्ला पहाडहरू पानीमा डुबे। पानी अझै बढ्दै गयो र पर्वतहरूमाथि सात मिटर अग्लोसम्म पुग्यो। पृथ्वीमा भएका जम्मै जिउँदा प्राणीहरू सबै चरा-चुरुङ्गी, पशु र नर-नारीहरू मरे। पृथ्वीमा भएका सास फेर्ने प्राणीहरू सबै मरे। पृथ्वीमा भएका सबै जिउँदा प्राणीहरू मानिस, पशु र पंक्षीहरूलाई परमप्रभुले नाश पार्नुभयो। नोआ र उनीसित नाउमा हुनेहरू मात्र जिउँदा छोडिए। पानी १५० दिनसम्म घटेन।
उत्पत्ति 7 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: उत्पत्ति 7:1-24
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू