YouVersion लोगो
खोज आइकन

यर्मिया 39

39
यरूशलेमको पतन
1सिदकियाह यहूदाका राजा भएको नवौँ वर्षको दशौँ महिनामा बेबिलोनका राजा नबूकदनेसर आफ्‍ना सबै सेना लिएर आए र यरूशलेममाथि आक्रमण गरे। 2सिदकियाहको राज्‍यकालको एघारौं वर्षको चौथो महिनाको नवौं दिनमा सहरका पर्खालहरू तोडिए।
3(तब बेबिलोनका राजाका ठूल्‍ठूला भारदारहरू सबै आए र बीचको मूल-ढोकानिर आ-आफ्‍नो ठाउँमा बसे। तीमध्‍ये नेर्गल-सरेसर, सम्‍गर, सर्सेकिम र अर्को एक जना नेर्गल-सरेसर थिए।)
4जब सिदकियाह राजा र तिनका सबै सेनाले के भइरहेछ भन्‍ने देखे, तिनीहरूले राती नै सहरबाट भाग्‍ने चेष्‍टा गरे। तिनीहरू राजाको बगैँचाबाट भएर दुई पर्खालबीच भएको फाटकबाट छिरी यर्दनको बेसीतर्फ लागे। 5तर बेबिलोनी सेनाले तिनीहरूलाई खेदे र यरीहोको मैदाननिर सिदकियाहलाई फेला पारे। त्‍यसपछि तिनीहरूले तिनलाई नबूकदनेसर राजाकहाँ पुर्‍याए। नबूकदनेसर हामान देशको रिबला भन्‍ने सहरमा थिए र त्‍यहाँ तिनले सिदकियाहमाथि आफ्‍नो फैसला सुनाए। 6रिबलामा सिदकियाहले हेर्दाहेर्दै उनका छोराहरूलाई नबूकदनेसरले मारे र यहूदाका भारदारहरूलाई पनि मारे। 7त्‍यसपछि तिनले सिदकियाहका आँखा निकाल्‍न लाए र बेबिलोनमा लैजान काँसाको साङ्लाले बाँध्‍न लाए। 8त्‍यही बेला बेबिलोनीहरूले राजमहल र मानिसहरूका घरहरू आगाले जलाइदिए र यरूशलेमका पर्खालहरू भत्‍काइदिए। 9अन्‍तमा बेबिलोनका सेनापति नबूजरदानले सहरमा छोडिएका बाँकी मानिसहरू र भागेर तिनीहरूकहाँ आएका मानिसहरूलाई कैद गरी बेबिलोनमा लगे। 10तर आफूसित केही पनि नभएका गरीब मानिसहरूलाई नबूजरदानले खेत र दाखबारीहरू दिएर यहूदा देशमा छोडिराखे।
यर्मियाको छुटकारा
11तर नबूकदनेसर राजाले सेनापति नबूजरदानलाई यस्‍तो उर्दी जारी गर्न लाए, 12“गएर यर्मियालाई ल्‍याऊ र राम्ररी उसको हेरचाह गर। उसलाई कुनै हानि नगर्नू र उसले भनेअनुसार सबै कुरा गरिदिनू।” 13यसकारण नबूजरदानले उच्‍च अधिकारी नबुशजबान, नेर्गल-सरेसर र बेबिलोनका राजाका अरू भारदारहरूसित मिलेर 14मलाई राजमहलको चोकबाट निकाली ल्‍याए। अनि मलाई अहीकामका छोरा शापानका नाति गदल्‍याहको जिम्‍मामा दिए। मलाई कुशलसाथ घर पुर्‍याउने काम नदल्‍याहलाई दिइयो। यसरी म त्‍यहाँ आफ्‍ना मानिससित रहें।
एबेद-मेलेकको आशा
15-16राजमहलको चोकमा थुनिएकै बेलामा परमप्रभुले कूशी एबेद-मेलेकलाई यसो भन्‍न मलाई आदेश गर्नुभयो, “सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्‍वर भन्‍नुहुन्‍छ कि मैले भनेअनुसार म यस सहरमा विनाश ल्‍याउनेछु, फलिफाप होइन। त्‍यसो हुँदा त्‍यो तेरै आँखाले देख्‍नेछस्। 17तर म परमप्रभुले तेरो रक्षा गर्नेछु र जुन मानिसहरूको तँ डर मान्‍छस्, तिनीहरूका हातमा तँ पर्नेछैनस्। 18तँलाई म सुरक्षित राख्‍नेछु र तँ मारिनेछैनस्। आफ्‍नो प्राण जोगाएर उम्‍कनेछस् किनभने तैँले आफ्‍नो भरोसा ममाथि राखेको छस्। म परमप्रभु बोलेको छु।”

अहिले सेलेक्ट गरिएको:

यर्मिया 39: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्