पर्सिपल्टको कुरो हो। गालील क्षेत्रको काना सहरमा कुनै एउटा घरमा विवाह थियो। येशूकी आमा पनि त्यस विवाहमा गएकी थिइन्। येशू र उहाँका चेलाहरू पनि त्यस विवाहमा निम्त्याइएका थिए। विवाहमा दिने अङ्गुरको मद्य सकिएकोले येशूकी आमाले उहाँलाई भनिन्, “अङ्गुरको मद्य त सकिएछ!” यो सुनेर येशूले भन्नुभयो, “आमा, मैले के गर्नुपर्ने हो, तपाईंले मलाई भन्नुपर्दैन किनभने मेरो काम गर्ने बेला अझै आएको छैन।” त्यसपछि येशूकी आमाले नोकरहरूलाई भन्नुभयो, “येशूले जे भन्छन्, त्यही गर।” त्यहाँ नजिकै ढुङ्गा कुँदेर बनाइएका छ वटा घ्याम्पाहरू थिए। तिनीहरूमा झण्डै एक-एक सय लिटर पानी जान्थ्यो। यस्ता घ्याम्पाहरूचाहिँ यहूदीहरूले आफूलाई चोख्याउने काममा प्रयोग गर्थे। येशूले नोकरहरूलाई भन्नुभयो, “यी सबै घ्याम्पाहरू पानीले भर।” उनीहरूले ती सबै घ्याम्पाको मुखसम्मै पानी भरिदिए। त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “यो अलिकति लगेर भोजको नाइकेलाई चाख्न देओ।” उनीहरूले अलिकति लगेर भोजको नाइकेलाई चाख्न दिए। नाइकेले पानी चाख्दा त त्यो अङ्गुरको मद्य बनिसकेको थियो। तर त्यो मद्य केबाट बनिएको थियो, त्यो कुरा उनले थाहा पाएका थिएनन्। त्यो त ल्याउने नोकरहरूलाई मात्रै थाहा थियो। भोजको नाइकेले दुलहाकहाँ आएर भने, “अरूले त पहिले राम्रो खालको मद्य पिउन दिन्छन् अनि पाहुनाहरूले धेरै मद्य पिइसकेपछि मात्रै कमसल खालको दिन्छन्, तर हजुरले त अहिलेसम्म सबैभन्दा राम्रोचाहिँ जोगाएर राख्नुभएको रहेछ।” यसरी गालीलको काना सहरमा अचम्मको चिन्हद्वारा येशूले आफ्नो महिमा पहिलोपल्ट प्रकट गर्नुभयो र उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे।
यूहन्ना 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 2:1-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू